भैँसी र बकुल्लो जस्तै हामी मानिसहरु !

१२ असार २०७७, शुक्रबार मा प्रकाशित

(बाल कथा)

भुवन तामाङ,

नेपालको तराईको कुनै गाउँमा हजुरबा र नाती भैँसी चराइरहेका हुन्छन् । यतिकैमा नाती हजुरबालाई सोध्छन्, ‘हजुरबा हजुरबा ! हाम्रो भैँसीमाथि जहिल्यै पनि किन त्यो बकुल्लो आएर बसेको ?’ नातीको प्रश्नले हजुरबा एकछिन् रनभुल्लमा पर्छन् । ए है मेरो नातीले यो के प्रश्न सोधेको भनेर ।

निकैबेरसम्म पनि हजुरबाबाट उत्तर नपाएपछि नाती पुनः सोध्छन्, ‘हजुरबा हजुरबा ! हाम्रो भैँसीमाथि जहिल्यै पनि किन त्यो बकुल्लो आएर बसेको ?’ नातीको प्रश्नले हजुरबाको दिमाग नै रन्थनिन्छ तर उनको दिमागमा उत्तर क्लिक हुन्छ र नातीलाई भन्छन्, ‘हेर नाती ! मलाई तिम्रो प्रश्नको उत्तर आयो ।’ नाती उत्साही हुँदै कर गर्छन्, ‘अनि भन्नु न त त्यो बकुल्लो हाम्रो भैँसीको ढाडमाथि किन बसेको ?’ तर हजुरबाले तुरुन्तै उत्तर दिदैनन् किनकि यस दृष्टान्तको माध्यमबाट नातीलाई नातीको जीवनभरका लागि कामलाग्ने सन्देश दिन चाहन्छन् ।

नातीले निकै कर गरेपछि हजुरबा नातीको हात समाउँदै भन्छन्, ‘हेर नाती ! त्यो बकुल्लो भैँसीको ढाडमा बस्नुको ठूलो कारण छ । अनि भैँसीले बकुल्लोलाई बिना कुनै अवरोध आफ्नो ढाडमा बस्न दिनुको पनि ठूलो कारण छ । यसबाट तिमीले एउटा राम्रो जीवन सन्देश पाउन सक्छौ । तिम्रो जिन्दगीभरीलाई चाहिने अचुक मार्गदर्शन पाउन सक्छौ । त्यसैले तिमी स्वयम्ले यो कुरा पत्ता लगाएर भन्न सक्नु पर्छ कि, किन त्यो बकुल्लो जहिल्यै पनि भैँसीको ढाडमा आएर बस्छ । यसमा के रहस्य लुकेको छ ? तिमीले अवलोकन गरेर पत्ता लगाउनु पर्छ र बरु उल्टै तिमीले नै मलाई बताउन सक्नुपर्छ ।’

हजुरबाको सल्लाह सुनेर नाती बालसुलभ स्वभाव प्रकट गर्दै भन्छन्, ‘ह्या हजुरबा पनि के के भन्नु हुन्छ । म त मान्दिन हजुरको कुरा । अवलोकन गर्न मलाई त अल्छि लाग्छ । तपाई नै भन्नु न चाँडोगरि, हाम्रो भैँसीमाथि जहिल्यै पनि त्यो बकुल्लो आएर किन बसेको ?’

हजुरबा जुक्ती निकाल्दै भन्छन्, ‘नाती ! तिमीले अवलोकन गरेर पत्ता लगायौ भने म तिमीलाई एउटा राम्रो पुरस्कार दिन्छु ।’ उत्साहित हुँदै नाती सोध्छन्, ‘के दिनु हुन्छ त पुरस्कार ?’ हजुरबाट भन्छन्, ‘त्यो त म अहिले भन्दिन ।’ नाती भन्छन्, ‘ए हजुबा निकै बाठो हुनुहुँदो रैछ । सप्र्राइज दिन खोज्नु भाको होला ।’ बीचैमा हजुरबा सोध्छन्, ‘के पो भन्यौ नाती तिमीले ?’ नाती भन्छन्, ‘हजुरबाले मलाई राम्रो पुरस्कार दिनुहोस् भनेको ।’ हजुरबा भन्छन्, ‘अनि दिन्छु भनेकै छु त ।’

नाती ध्यानसँग बकुल्लो र भैँसीको अवलोकन गर्न थाल्छन् । अवलोकन गर्दा नातीले के देखे भने, झिँगाहरु आएर भैँसीको ढाडमा टोकेर भैँसीलाई दुःख दिँदा रहेछन् । भैँसी ढाडको छाला चलाएर झिँगा धपाउन खोज्दो रहेछ तर झिँगाहरु टेर्दैन रहेछन् । ती झिँगाहरुलाई बकुल्लोले पखेटाले हम्काएर लखेट्दो रहेछ । भैँसीलाई सञ्चो महसुस् हुँदो रहेछ तर भैँसीको ढाडको झिँगा धपाएर बकुल्लोले चाहिँ के पायो त ? नातीको दिमागमा प्रश्न तेर्सिन्छ ।

निकै ध्यान दिएर हेर्न थाल्छन् नाती । बकुल्लो बेला बेला भुँइमा ओर्लिन्छ । भैँसीले घाँस खाइरहेको ठाउँमा भैँसीको थुतुनो नेर गएर बकुल्लो के के खान्छ । बकुल्लो पुनः भैँसीको ढाडमा चढ्छ र झिँगाहरु धपाउँछ । अनि पुनः भैँसीले घाँस खाइरहेको ठाउँमा ओर्लिएर चुच्चाले टिपेर के के खान्छ ।

यत्तिकैमा हजुरबा सोध्छन्, ‘नाती ! तिम्रो अवलोकनले के कुरा पत्ता लगायो त ?’ नाती निकै खुशी हुँदै भन्छन्, ‘ बकुल्लो जहिल्यै भैँसीको ढाडमा किन बस्छ भनेर मैले सबै कुरा पत्ता लगाएँ हजुरबा ।’ हजुरबाट सोध्छन्, ‘ल छिटो भन त नाती ! तिमीले के कुरा देख्यौ ?’ नाती भन्न थाल्छन्, ‘भैँसीको ढाडमा टोकेर भैँसीलाई दुःख दिने झिँगाहरुलाई बकुल्लोले धपाइदिँदो रहेछ । अनि भैँसीले चाहिँ घाँस र झार उधिनेर माटो र हिलोबाट बकुल्लोका लागि मीठा मीठा खानेकुरा निकालि दिँदो रैछ । त्यै भएर बकुल्लो भैँसीको ढाडमा आएर बस्दो रैछ र भैँसीले पनि बकुल्लोलाई बिना अवरोध ढाडमा बस्न दिँदो रहेछ ।’

बीचैमा हजुरबा सोध्छन्, ‘यसको सन्देश के हो त नाती ?’ नाती आत्मविश्वासका साथ भन्छन्, ‘जीवहरु या प्रणीहरु चाहे साना या ठूला नै किन नहुन्, एकअर्कामा निर्भर हुँदा रहेछन् । एकलाई अर्कोको सहयोग आवश्यक पर्दो रहेछ । एकअर्काको सहयोगले सबैको जीवन सुरक्षित हुँदो रहेछ होइन त हजुरबा ! मेरो अवलोकन कस्ता लाग्यो ? मैले ठीक कुरा पत्ता लगाएँ कि लगाइन ?’ हजुरबाट खुशी हुँदै, भन्छन्, ‘स्याब्बास मेरो नाती ।’ नाती ‘खोई मेरो पुरस्कार हजुरबा ?’ भनेर सोधिहाल्छन् । हजुरबाट भन्छन्, ‘घर पुगेर दिइ हाल्छु नि । अब मेरो कुरा पनि सुन ।’

हजुरबाट विस्तारमा भन्न थाल्छन्, ‘यस दृष्टान्तलाई वैश्वीक स्तरमा हेर्नु उचित हुन्छ । किनकि आजको दिनमा विश्वका राष्ट्रहरुकाबीच तनाव छ । एकदेशले अर्का देशलाई कसरी तल पार्ने भन्ने दाउपेच गरिरहेका छन् ।’ नाती बीचैमा सोध्छन्, ‘भैँसी र बकुल्लोको कुरा देशहरुसँग कसरी सम्बन्धित हुन्छन् र हजुरबा ?’

हजुरबा गम्भीर हुँदै भन्छन्, ‘कोरोना भाइरस संक्रमणको घटनालाई लिएर अमेरीका र चीनबीच मनमुटाव पैदा भएको छ । सीमानाको विषयलाई लिएर भारत र चीनबीच टकराव भएको छ । सीमानाकै विषयलाई लिएर नेपाल र भारतबीच पनि मतभेद बढेको छ । विश्वका धेरैदेशहरुबीच कैयन विषयलाई लिएर सम्बन्ध बिग्रिएका छन् तर उनीहरुलाई थाहा छैन कि एकअर्कालाई एकअर्काको असाध्यै खाँचो पर्दछ । आपसी मेलमिलाप र सहयोगले नै शान्ती प्राप्त हुन्छ र सबैदेशको विकास र समृद्धि सम्भव हुन्छ ।’

यत्तिकैमा हजुरबालाई च्याप्प समाउँदै नाती चाहिँ भन्छन्, ‘अँ हो त नि हजुरबा ? एकअर्कालाई एकअर्काको असाध्यै खाँचो पर्दछ । आपसी मेलमिलाप र सहयोगले नै विश्वशान्ती प्राप्त हुन्छ र सबै देशको विकास र समृद्धि सम्भव हुन्छ । हाम्रो हजुरबा कति बाठो ?’ हजुरबा पनि भन्छन््, ‘मेरो नाती चाहिँ धेरै बाठो ।’

यस बाल कथाले मानवका लागि जीवन सन्देश त दिन्छ नै र पात्र नातीको सुझबुझले चाहिँ एक उच्चस्तरको विश्व मिलमिलापको सन्देश दिन्छ । जुन हाम्रो विश्वको सुदूर भबिष्यसम्मका लागि अति आवश्यक छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here