असार १५ : रोपाइँ महोत्सव

१५ असार २०७७, सोमबार मा प्रकाशित

नेपाल कृषि प्रधान देश हो । यहाँका अधिकांश मानिस कृषि पेशामा आश्रित छन् । पेशाले जो जे भए पनि अन्न सबैका लागि अपरिहार्य छ । अन्न मध्ये पनि मुख्य खाद्यान्न बाली धान हो । यस्तो बाली लगाउने समयको विशेष महत्व रहेको छ । यही महत्वपूर्व समय हो– असार । ग्रीष्मको कठोर प्रचण्ड गर्मीपछि शीतल बनाई प्रकृति हरियाली बनाइ दिने वर्षात्को महत्व झल्काउने पर्व र अवसर विशेष हो– असार १५ ।

न बाहिर बोक्रो न भित्र खोक्रो कसार
पूर्वको ढोका उघारी हेर्दा लागेछ असार,
छुपुमा छुपु धान है रोप्नु हातमा बीऊ रहुञ्जेल
मीठो है खानु मीठो लाउनु यो जीवन छहुञ्जेल,

जस्ता असारे भाकाका गीत गुञ्जने महिना हो–असार । गीतका समय र अवसरमा गाइने लय र भाकाहरु हुन्छन् । तिनलाई यस्तै समय र सन्दर्भमा गाइन्छ । त्यस्तै वर्षात्को बेला रोपाइँको बेला रोपाहार र हलीले गाउने गीत हो– असारे गीत । मनभित्रका पीर, पीडा, वेदना पोखिन्छन् यस्ता गीतमा । त्यस्तै मायाप्रितिका भावना लयमा ढालेर अभिव्यक्त हुन्छन् ।

असारे मासको दबदबे हिलो छुनलाई घिन लाग्यो
मायालु ज्यानलाई फरिया किन्दा छ विसा ऋण लाग्यो ।
रुझ्दै र भिझ्दै बीऊ काड्छौं हातका मर्मले
झ्यालमा बस्ने रहर थियो दिएन कर्मले ।

गीत गाएर कर्म (परिश्रम) गर्नु रमाइलो हुन्छ । गीतले बलसञ्चय, आनन्द र उत्साह प्राप्त हुन्छ । उकालो चढ्दा भञ्ज्याङ पुग्दा सिर्सिरे बतास चल्दाको आनन्द हुन्छ असारे गीतका भाकाले । नेपालका विभिन्न स्थानमा यस्ता असारे भाकाका गीतका भाका फरक छन्, तर शैली एउटै छन् । वर्षात्को उमँग, यस हिले पर्वको मज्जा उस्तै हुन्छ । हाम्रो संस्कृतिमा यही महिनाको १५ गते अर्थात् असार पन्ध्रलाई हिले पर्व तथा रोपाइँ महोत्सवको रुपमा मानिन्छ । किसानहरु रोपाहार, बाउसे, ब्याडे, लाठे मानो खाएर मुरी फलाउने अभियानमा जुट्ने उत्सवको दिन हो यो । ‘असारको हिलो नछोइ गति पाइँदैन’ भन्ने परम्परा अनुसार असार महिनाको ठूलो महत्व छ । राष्ट्रिय अर्थतन्त्रमा धानखेतीले महत्वपूर्ण स्थान ओगटेको छ ।

यस दिनको रोपाइँ मंसिरको दाइँमा परिणत गर्ने मीठो र सुखी सपना कल्पना गर्दै दहीचिउरा खाने परम्परा छ । केही पहाडी भागमा ‘बेठी’ लगाउने परम्परा पनि छ । धनीमानीहरुले रोपाइँ थालनी गर्दा नौमती बाजा बजाएर उत्सवको रुपमा मान्ने परम्परालाई ‘बेठी’ भनिन्छ । आजभोलि भने बेठी परम्परा हराउँदै गएको छ । खासगरी पढेलेखेका शिक्षित वर्गले कृषि कर्म गर्न हुँदैन भनेर युवायुवतीमा वितृष्णा बढ्दै गएको पाइन्छ । तर, श्रम, सिप, शालिनता (साधना) नै सच्चा नेपालीको परिचय हो । जुन परम्पराको पहिले–पहिले प्राचीन समयमा अझ ठूलो महत्व रहने गर्दथ्यो । यस अवसरमा राजारानीको समेत सवारी भई रानीको हातबाट रोपाइँको शुरुवात गरिन्थ्यो । जसका कारण त्यस्ता भूमि क्षेत्रका रानीखेत, रानीटार, रानीगरा जस्ता नामकरण हालसम्म पनि रहेको पाइन्छ ।

केही वर्षयता असार पन्ध्रलाई राष्ट्रिय धान दिवसका रुपमा किसानका खेतबारीमा सरकारका तर्फबाट तथा केही राजनेताको सहभागिता रहने र दहीचिउरा खाने कार्यक्रमको आयोजना गरेको पाइन्छ । वि.स. २०६० सालदेखि असार पन्ध्रलाई धान दिवसको घोषणा गरी यस दिनलाई राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन थालिएको हो । हाल नेपालमा १३ लाख ७१ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । तर, कृषि क्षेत्र तथा किसानको हित प्रवद्र्धनमा ठोस एवम् प्रभावकारी योजना नआएका कारण र कृषकले समयमा बीऊ तथा मल नपाइरहेको वर्तमान अवस्थामा मनाइने धान दिवस औपचारिकतामा सीमित रहने गरेको देखिन्छ । सिर्जनाको मूल प्रवाह पनि हो, असार । अर्थात् असार किसानका लागि मात्र होइन भाका, लयमा गीत संगीत ओराल्ने गायक कलाकारका लागि पनि महत्वपूर्ण मानिन्छ । संस्कृति, सामाजिक रहन–सहन, मायाप्रीति, सुख–दुःखका मर्म बोल्दछन् लोक संस्कृति गीतहरुमा । हाम्रो जनजीवनमा निकटता गाँसिएको छ लोक गीतमा ।

धार्मिक सम्बन्ध पनि बोकेको छ असार पन्ध्रले । रोपाइँजात्राका क्रममा धान रोपाइँको थालनी गर्दा ‘सिमेभूमे’ देवता माटो पानीका देवताको पूजा गर्ने परम्परा रहेको छ । माटो, पानी, पृथ्वी यी हाम्रा जीवन प्राणका आधार हुन् । यिनै देवता हुन् । असारे भाकाका गीत पनि यिनको वर्णन गरिएको पाइन्छ । एकअर्कामा सहयोग गर्ने सामजिक सद्भावको सन्देश पनि दिएको छ यस पर्वले । हाम्रो संस्कृतिमा पञ्चपिता (जन्मदिने बाबु, कन्यादिने ससुरा, मन्त्र दिने गुरु, अन्नदिने किसान र भय हर्ने राजा) मध्ये एक किसानलाई मानिएको छ ।

सबैको प्राण रक्षाका लागि अनिवार्य अन्न उत्पादनमा जीवन समर्पित गर्ने भएको उसलाई पिता समान आदर सम्मान गर्न निर्देशन गरिएको हो । यसरी अन्नदाता किसानको जीवन र किसानप्रति श्रद्धा सबैमा हुनुपर्ने देखिन्छ । तर, कृषि कर्म र किसान उपेक्षित (उपेक्षाको पात्र) बन्दै गएको छ । यसमा सरकार र सम्बन्धित सबैको ध्यान जान जरुरी छ । यसरी सांस्कृतिक दृष्टिकोणबाट होस् वा आर्थिक दृष्टिकोणबाट यति महत्वपूर्ण किसानको जीवनसँग सर्वार्धिक महिमा गाँसिएको पर्व असार पन्ध्रका अवसरमा सरकारले किसान र कृषि क्षेत्रको उत्थान हुने राम्रा कृषि नीति र तिनको प्रभावकारी कार्यान्वयन जोड दिन सक्नुपर्दछ । यसैमा धान दिवस तथा रोपाइँ महोत्सव मनाउनुको सार्थकता रहनेछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here