असार १५ र धान दिवस

१५ असार २०७७, सोमबार ११:४४ मा प्रकाशित
  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

तीर्थराज खरेल,

Advertisement

आज असार १५ । असार १५ लाई नेपाली समाजमा खेतमा रोपाइँ गरी दहीचिउरा खाएर मनाउने परम्परा छ । रोपाइँ गरी दहीचिउरा खानाले गति परिने विश्वास अनुरूप आफ्नो खेतीपाती नहुनेहरू पनि अरूको खेतमा रोपाइँ गरी हिलो छ्यापेर रमाइलो गरी दहीचिउरा खान पछि पर्दैनन् । दोहोरी रोपाइँ गीतको रन्कोमा रोपाइँ गर्नु असारको अर्को आकर्षण हो । असारको पहिलो सातादेखि मनसुन शुरू भएपछि असार १५ सम्म खेतको गरामा लाठे र रोपारहरू असारे गीतको भाकासँगै रोपाइँमा व्यस्त हुन्छन् । असार १५ सम्म लाठे र बाउसेहरूलाई आली जोर्ने र मेलो बनाउन चटारो छ भने कोरीबाटी चिटिक्क परेर मेलामा झरेका रोपारहरू कोही ब्याडमा बीऊ काड्ने, कोही पखाल्ने र कोही मेलो पैट्याउने तर्खरमा जुटेका हुन्छन् । राष्ट्रको कूल गार्हस्थ उत्पादनमा ३८ देखि ४० प्रतिशतसम्म योगदान रहेको कृषि क्षेत्रमा असारको रोपाइँले ठूलो राख्छ ।

कृषि प्रधान देश नेपालमा प्रमुख खाद्यान्न धान बालीको उत्पादनमा हुने घटबढले अर्थतन्त्रमा समेत त्यसै अनुसार प्रभाव पार्ने भएकाले रोपाइँको ठूलो महत्व छ । नेपालमा धेरैजसो क्षेत्रमा आकाशे पानी वा क्षेत्र मनसुन मै भर पर्नुपर्ने स्थिति छ । त्यसैले मानो रोपेर मुरी फलाउने यो समयमा कृषकहरू आफ्ना अन्य काम छाडेर भए पनि असारे भेल छोपी धानबाली लगाउन व्यस्त हुन्छन् । ‘मुठी खाएर मुरी उब्जाउने’ महिनाको मध्य अर्थात् असार १५ गतेका दिन नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइन्छ । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ ।

‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । विश्वका करिब तीन अर्ब मानिसको मुख्य खाना नै चामल हो । संसारको नब्बे ९० प्रतिशत धान एसियामै उत्पादन हुने गर्छ । उत्पादनको आधा एसियामै खपत हुने गरेको छ । नेपालको कूल गार्हस्थ उत्पादनमा २९.४ प्रतिशत योगदान कृषि क्षेत्रको छ । कृषिमा ६०.४ प्रतिशत जनसंख्या आश्रित छन् । कृषि गार्हस्थ उत्पादनमा धानको योगदान २० प्रतिशत रहेको कृषि विकास मन्त्रालयले जनाएको छ । हाल नेपालमा १५ लाख ५२ हजार हेक्टरमा धान खेती भइरहेको छ । खेती गरिने ५०.२ प्रतिशत जमिनमा धानखेती हुने गरेको छ । खाद्य तथा पोषण सुरक्षाका दृष्टिबाट मानिसलाई आवश्यक पर्ने क्यालोरीको २० प्रतिशत हिस्सा चामलमै पाइन्छ ।

विश्वका एक सय १४ मुलुकमा धानको उत्पादन हुने गर्छ । संसारमा १६ करोड ३२ लाख हेक्टरमा ७४ करोड नौ लाख मेट्रिक टन धान उत्पादन हुन्छ । सबैभन्दा बढी धान उत्पादन गर्ने मुलुक चीन हो । यसपछि क्रमशः भारत, इण्डोनेसिया, बङ्गलादेश, भियतनाम, थाइल्याण्ड, म्यानमार, फिलिपिन्स, ब्राजिल र जापान रहेका छन् । किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले नेपाल सरकारले नीति बनाउन जरुरी छ । खेतमा रोपाइँ गरी दहीचिउरा खाने भएकाले यस दिनलाई दहीचिउरा खाने दिनका रुपमा समेत लिने गरिन्छ । वर्षामा हिलाम्मे भएको शरीरमा ऊर्जा दिने भएकाले दहीचिउरा खाने चलन रहेको विज्ञहरू बताउँछन् ।

कृषि प्रधान हाम्रो मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधारको रुपमा रहेको धानको उत्पादनलाई महत्व दिँदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउने गरेको हो । सरकारले आजका दिनलाई दिवसका रुपमा मनाउँदै आए पनि आधुनिक प्रविधिको आम किसान माझ पुग्न नसकेका कारण खेतीयोग्य जमिन भएर पनि धान उत्पादनमा वृद्वि हुन नसकेको कृषि विज्ञहरूको भनाइ छ । नेपालले वि. सं. २०६१ सालदेखि असार १५ लाई धान दिवसका रूपामा मनाउँदै आएको छ । कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउन थालिएको हो ।

साता÷पन्ध्र दिन काम गरेर वर्षभर खाने बाली लगाउन कामको मिचो भएकाले वास्तवमा सबै कृषकका लागि असारको १५ महत्वको हुन्छ । लासलाई एकछिन घुमले छोपेर भए पनि असारे भेल छोप्नु पर्दछ भन्ने बुढापाकाको भनाइले पनि यसको महत्व दर्शाउँछ । त्यस्तै ‘असारमा डुल्ने पजनीमा भुल्ने’ अर्थात् असारमा काम गर्ने बेलामा त्यसै डुल्ने र सरकारको काम इमान्दारीपूर्वक नगरी पदोन्नति अर्थात् पजनीमा नपर्ने व्यक्तिले गरी खाँदैन भन्ने बुढापाकाको अर्को उखानले पनि असारको महत्वलाई पुष्टी गर्छ । रोपाइँ कार्य मुलुकको सामाजिक, धार्मिक र सांस्कृतिक पक्षसँग पनि निकटरूपमा जोडिएको छ । रोपाइँको पहिलो दिन देवतालाई बीऊ चढाई परिपूर्ण, भरिपूर्णका लागि अन्नपूर्णको आराधना गरी रोपाइँको श्रीगणेश गरिन्छ ।

रोपाइँमा धेरै खेतालाको आवश्यक पर्ने भएकाले गाउँघरमा पालैपालो पर्मद्वारा रोपाइँ गरिने भएकाले यसले सामाजिक एकता र सद्भाव बढाउन पनि ठूलो टेवा पु¥याउँदै आएको छ । कतै–कतै ठूला खेती भएकाले रोपाइँ गर्दा बेठी लगाउने अर्थात् पञ्चेबाजा बजाई नाचगान गर्ने, भोज खुवाउने तथा खेतालाहरूलाई मसला र रूमाल बाँड्ने पनि प्रचलन छ । नेपालमा समुद्री सतहभन्दा ७० मीटर उचाइमा रहेको झापाको केचनादेखि दुई हजार सात सय ८० मीटर उचाइमा रहेको जुम्लाको छुमचौरसम्म धानखेती गरिँदै आएको छ । जुम्लामा लगाइने धानखेतीलाई विश्वकै सबैभन्दा उच्च स्थानमा धानखेती भएको मानिन्छ ।

पहिला–पहिला मार्सी, तौली, थापचिनिया, वासमती खट्टेखानी आदि जातका धानखेती गरिन्थ्यो भने हाल ताईचुङ्ग, विन्देश्वरी, खुमल, मन्सुली, राधा चार आदि विकासे जातका धान लगाइन थालेको छ । रैथाने जातहरु हराउँदै जान थालेका छन् । एक आँकडा अनुसार हाल धान खेतीको ७९ प्रतिशत क्षेत्रफल विकासे जातका धानखेतीले ओगटेको बताइन्छ ।

धान नेपालको प्रमुख बाली भएता पनि धानको परनिर्भरता हट्न सकेको छैन । धानको उत्पादन र उत्पादकत्व दुवैमा सुधार गर्ने गरी कार्यक्रमहरु तय गर्नु जरुरी छ । सबैभन्दा ठूलो चिन्ताको विषय युवा जनशक्ति पलायन हो । मुलुकमा रोजगारको अभावमा विदेशिने क्रम रोकिएको छैन भने धान लगायतका कृषिकर्मका लागि जनशक्तिको अभाव बढ्दो छ । खेतीयोग्य भूमि घडेरीमा परिणत गर्नु, आकासे खेतीमा निर्भर र सिँचाइको व्यवस्था नहुनु, सीमित व्यक्तिका हातमा धेरै जमिन हुनु, जग्गाको बढ्दो खण्डीकरण, उन्नत जातका बीऊबीजन तथा मलखाद तथा अनुदान नहुनु आदि धान खेतीका प्रमुख समस्याहरु हुन् ।

कोभिड–१९ को महामारीको परिवेशमा अब धान लगायत अन्य कृषि कर्मका लागि विदेशिएका युवालाई स्वदेशमै केन्द्रित गर्न जरुरी छ । कृषि क्षेत्रलाई यान्त्रिकीकरण र आधुनिकीकरण गर्दै जनस्वास्थ्यलाई समेत ख्याल गर्दै उत्पादन र उत्पादकत्व दुवैलाई वृद्धि गर्न आवश्यक छ । आजको धान दिवसले समस्त किसान, कृषिविज्ञ र नेपाल सरकारका विभिन्न तहतप्काका सरोकारवालाहरुले यस सम्बन्धमा रणनीति, कार्यनीति र कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here