प्रधानमन्त्री ओली गंगालाल हृदय रोग केन्द्रमा

0
483

काठमाडौं,

स्वास्थ्यमा समस्या भएपछि प्रधानमन्त्री केपी शर्मा ओली गंगालाल हृदय रोग केन्द्रमा पुगेका छन्।

उनी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट बाँसबारीस्थित गंगालाल हृदय रोग केन्द्रमा पुगेका हुन्। मुटुमा केही समस्या भएपछि उनी गंगालाल अस्पतालमा गएका हुन्। गत आइतबारदेखि जारी स्थायी कमिटी बैठकमा सहभागी भइरहेका ओलीलाई धपेडी भइरहेको थियो।

प्रधानमन्त्रीको सचिवालयका अनुसार उनलाई बुधबार दिउँसो गंगालाल हृदय रोग केन्द्रमा लगिएको हो। प्रेस सल्लाहकार सूर्य थापाले भने नियमित चेकजाँचका लागि प्रधानमन्त्री ओली अस्पताल जानु भएको जानकारी दिए। ‘कुनै समस्या भएर उहाँ अस्पताल जानु भएको होइन’, उनले थाहाखबरसँग भने, ‘यो नियमित चेकजाँच हो। भर्ना गर्ने गरी त्यस्तो कुनै समस्या भएको होइन।’

बुधबार बालुवाटारमै उनीसहितको उपस्थितिमा नेकपा स्थायी कमिटीको बैठक बसेको थियो। उक्त बैठकमा बोलेका पाँचमध्ये चारजना सदस्यहरुले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए। पछिल्लो पटक आफ्नो सरकार ढाल्न भारत र आन्तरिक शक्ति लागिरहेको अभिव्यक्ति दिएपछि ओली आलोचनाको केन्द्रमा छन्।

उनलाई सरकार छाड्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमले दबाब दिइरहेका छन्।-थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here