प्रदेश–१ मा एक सातामा ९ जनाको मृत्यु, झापामा विपद् व्यवस्थापन टोली तयारी अवस्थामा

0
1244

बिर्तामोड।

मनशुन शुरु भएसँगै बाढीपहिरोको जोखिम बढेको छ । तराईमा बाढी र डुबान, पहाड तथा हिमालमा पहिरो लगायतका जोखिमका कारण वर्षेनि ठूलो जनधनको क्षति हुने गरेको छ ।

मनसुनी बर्षाद्को समय प्रकोपका कारण धेरैको मृत्यु हुनेदेखि घाइते हुने, घर खेत बगाएर विस्थापित हुने समस्या यहाँका बासिन्दाले वर्षेनि झेल्दै आएका छन् । सरकारले प्रतिरक्षाका लागि तयारी शुरु गरेको बताए पनि कोरोना भाइरसको संक्रमणका कारण भन्दै यसपटक खासै तयारी गरेको पाइएको छैन् ।

यो वर्ष पनि ठाउँ–ठाउँमा बाढी र पहिरोको समस्या देखिन थालिसकेको छ । वर्षेनि निम्तिने प्राकृतिक विपत्तिमा सरकारको ध्यान बेलैमा जान नसकेकोले जनधनको क्षति हुने गरेको छ । तर, सरकारले भने सँधै आफ्ना सबै निकायहरु तयारीमै रहेका बताउने गरेको छ । यसवर्ष पनि पालिकादेखि केन्द्रसम्मका विभिन्न निकायहरुले विपद् व्यवस्थापनको तयारी थालिसकेको बताएका छन् ।

बाढीको उच्च जोखिम क्षेत्रको रुपमा रहेको झापामा पनि तयारी शुरु गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जिल्ला विपद् व्यवस्थापनको बैठकले स्थानीय तहमा रहेका विपद् व्यवस्थापन समितिलाई तयारी अवस्थामा रहन आग्रह गरिएको बताए । उनले झापामा हुने सम्भावित जोखिमलाई ध्यानमा राखेर नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितको विपद् व्यवस्थापन टोलीलाई तयारी अवस्थामा राखेको जानकारी दिए ।

यसैबीच प्रदेश १का १४ जिल्लामा एक सातामा ९ जनाको मृत्यु भएको छ । बर्खा लागेसंगै डुबेर तथा नदीमा हामफालेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । गत असार १० गते झापाको बाह्रदशी गाउँपालिका–६ कञ्चनवारीमा एक बर्षीया अनुसा टुडूको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको थियो । खेल्ने क्रममा घर नजिकै रहेको पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु भएको थियो ।

उता असार १२ गते मोरङको बिराटनगर महानगरपालिका–१८ आईसीपी भवन अगाडिको खाली खेतमा पानी जमेको खाल्डोमा डुबेर ७ बर्षीय अंकुश मण्डलको मृत्यु भएको थियो । पानी जमेको खाल्डोमा बालक डुबिरहेको अवस्थामा छिमेकीहरुले देखे पश्चात तत्काल उद्धार गरी उपचारको लागि कोशी अस्पताल बिराटनगर लगिएकोमा अस्पताल पु¥याउनासाथ बालकको मृत्यु भएको थियो ।

त्यस्तै असार १२ गते नै मोरङको रतुवामाई नगरपालिका–५ गोबिन्दपुरकी ५५ बर्षीया मायादेवी साहको बक्राहा खोलाले बगाएर मृत्यु भएको छ । बक्राहा खोला नजिकै चौपाया चराइरहेकी साहलाई अचानक खोलाको बाढीले बगाउँदा बेपत्ता भएकी र खोजी गर्ने क्रममा मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

यता झापाको शिवसताक्षी नगरपालिका–८मा असार १३ गते ३ बर्षीय बालक संयमकुमार बिष्टको पानीमा डुबेर मृत्यु भएको छ । कुलोको पानीमा खेल्ने क्रममा अचानक डुबेर वेहोस भएका बालकको उपचारको क्रममा मृत्यु भएको हो । उता पूर्वी पहाडी जिल्ला ताप्लेजुङको श्रीजंघा–१ जौबारीका ७ बर्षीय रवीन दर्जीको असार १५ गते कुलोमा डुबेर मृत्यु भएको थियो ।

त्यस्तै मोरङको कानेपोखरी गाउँपालिका–२का ७३ बर्षीय बद्री चौधरीको पानी जमेको खाल्डोमा डुबेर असार १५ गते नै मृत्यु भएको थियो । मंगलबार असार १६ गते इलाम र उदयपुरका दुई स्थानमा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । इलामको देउमाई नगरपालिका–५का २५ बर्षीय हरिप्रसाद चापागाँई देउमाई खोलामा डुबिरहेको अवस्थामा मृत फेला परेका थिए ।

उता उदयपुरको त्रियुगा नगरपालिका–१३का ३८ बर्षीय सन्तोष भुजेलको बरुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । त्यस्तै थलाहा खोलामा हामफालेर बेपत्ता भएका सुनसरीगढी गाउँपालिका–२ मुसहरी टोलका ४२ बर्षीय बब्लु भनिने बलराम ऋषिदेव मृत फेला परेको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दीपक पोख्रेलले जानकारी दिए ।

वर्षा शुरु भएसँगै बाढी र पहिरोको जोखिम बढ्दै गएको प्रहरीले जनाएको छ । यस्तो अवस्थामा स–साना बालबालिका जमेको पानीमा डुबेर मृत्यु हुने क्रम बढ्ने भन्दै अभिभावक सचेत बन्नुपर्ने प्रहरीले जनाएको छ । त्यस्तै नदी तथा खोला किनारमा पानी आएको समयमा नजान पनि प्रहरीले आग्रह गरेको छ ।

२०७६ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्ममा नेपालमा बाढी र पहिरोमा परेर एक सय ५६ जनाको मृत्यु भएको गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख मुरारी वस्तीले जानकारी दिए । पहिरोमा मात्रै ३४ जना पुरुष र ४९ जना महिला गरी ८३ जनाको मृत्यु भएको छ भने ११ जना हराइरहेका छन् । ११ सय ३२ वटा घर पूर्ण रुपमा क्षति भएको छ भने १५ सय ८७ घर आंशिक रुपमा क्षति भएको वस्तीले बताए । त्यस्तै ७६ परिवार विस्थापित भएका छन् । यसका कारण ४० करोड १४ लाख ८६ हजार रुपैयाँको नोक्सानी भएको छ ।

यस्तै बाढीका कारण ५८ जना पुरुष र १५ जना महिला गरी ७३ जनाको मृत्यु भएको छ भने २७ जना हराइरहेका छन् । २ सय ४१ परिवार विस्थापित भएका छन् । १९ सय ७ घर आंशिक रुपमा क्षति भएको छ, ४ सय ५२ घर पूर्ण रुपमा क्षति भएका छन् भने २१ जना घाइते भएका छन् । एक अर्ब ६ करोड ३४ लाख बाढीका कारण नोक्सानी भएको छ ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम र संकट निवारण तथा पुनर्लाभ व्यूरोका अनुसार बाढी र पहिरो जोखिमको हिसाबले विश्वमा नेपाल ३०औँ स्थानमा छ । तर, सबैखाले विपदबाट हुने जनधनको क्षतिमा बाढी पहिरोको हिस्सा झण्डै आधा छ । प्रमुख विपदका रुपमा देखिएको बाढी पहिरो निम्तिनुमा कमजोर भौगर्भिक अवस्था, विषम् भूबनोट, मौसमी विषम्ता, नदी, प्रकृतिभन्दा पनि मानव सिर्जित कारण प्रमुख भएको भूगर्भविद्हरुको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here