कोभिडमा किशोरकिशोरीको मनोसामाजिक अवस्था : अविभावकको भुमिका

१८ असार २०७७, बिहीबार मा प्रकाशित

सृजना तिम्सिना,

विश्व कोभिड-१९ भइरसको त्रासले अस्वस्थ छ। जनमानस आतङ्कित छ। करोडौं बालबालिका घरभित्र थुनिएर बसेका छन्। नेपालमा पनि ७० लाख स्कुले बालबालिका घरमा बस्न बाध्य छन्। उफ्रने, खेल्ने र विद्यालय जाने बेला घर भित्र थुनिनु पर्दा बयस्कलाई भन्दा बालबालिकालाई बढी मानसिक तनाव भएको छ। त्यसमा पनि किशोरकिशोरीहरू अझ धेरै तनावमा छन्।

विश्व स्वास्थ संगठन (WHO) ले १० देखि १९ बर्ष उमेर समुहका केटाकेटीलाई किशोरकिशोरी (adolescent ) भनेको छ। युनिसेफको तथ्याङ्क अनुसार विश्वको कुल जनसंख्याको १६% जनसंख्या यो उमेर समुहको छ। त्यसमा आधा भन्दा बढी जनसंख्या एशियामा छ। नेपालमा कुल जनसंख्याको २२% किशोरकिशोरी छन्।

यो उमेर यस्तो उमेर हो, जसमा केटाकेटीहरू न त बालकको जस्तो ब्यबहार देखाउन सक्छन् न त युवाको जस्तो। किशोरकिशोरीहरूमा शारिरीक, मानसिक र यौनिक विकास तीब्र गतिमा भैरहेको हुन्छ। उनीहरू आफ्नो शरीरमा एक्कासी भएको परिवर्तनले आफै अचम्ममा परेका हुन्छन्। यस्ता परिवर्तन हरूले किशोर अवस्थाका बालबालिकामा तनाब पनि बढाएको हुन्छ। किशोर किशोरीमा आएको शारीरिक, मानसिक, यौनिक र सामाजिक परिवर्तनले उनीहरूका विचारहरू पनि छिन-छिनमा परिवर्तन भैरहेका हुन्छन्। स्वभाव छिनमै अत्यन्त खुशी हुने त छिनमै रिसाउने खालको हुन्छ। यो अवस्थालाई मानव जीवन चक्रको संक्रमणकालिन अवस्था भन्दा फरक नपर्ला। यो उमेरका बालबालिकाले धेरै ठुला-ठुला र महत्वाकाक्षी योजना बनाउँछन्। किशोरावस्था साथी र दौंतरीलाई सर्वश्रेष्ठ देख्ने उमेर हो। साथी र दौतरीसँग धेरै नजिक हुने, अन्तरंग कुराहरू साटासाट गर्ने, अविभावकबाट अलि ओल्टो कोल्टो बस्न रूचाउने उमेर हो।

कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिएका कारण विभिन्न देशमा गरिएको लकडाउनको प्रत्यक्ष प्रभाव किशोरकिशोरीमा परेको छ। जीवनको संक्रमणकालिन उमेरमा हुर्कदै बढ्दै गरेका किशोरकिशोरी विद्यालय जान नपाउँदा र आफ्ना दौतरी साथीहरूसँग भेट्न नपाउदा दोहोरो मानसिक तनाव भोग्नु परेको छ।

यस उमेरमा अविभावकको कतिपय कुरामा उनीहरूलाई झिँजो लाग्छ। बाहिर अरूसित भेटघाट कुराकानी वा अन्तरकृया गर्ने विकल्प नभएपछि उनीहरू बाबुआमा सँग चिडचिडाउन थाल्छन्। अलि धेरै उमेर अन्तर हुने बाबु/आमा र छोराछोरी बीच कुराकानीको तालमेल मिल्न त्यसै त कठीन हुन्छ। यस्तो अवस्थामा तिनीहरूको अवस्था झनै पीडादायी हुनसक्छ । अविभावकहरूले आफ्नो किशोरावस्थालाई फर्केर हेर्ने र अहिलेको अवस्थामा त्यतिबेलाको आफू परेको कल्पना गर्ने हो भनें उनीहरूले पनि समानुभुति गर्न सक्छन्। त्यसपछि बल्ल किशोरकिशोरीको तनावमा मलम लगाउनसक्ने छन्।

विद्यालयले बालबालिकाको शैक्षिक विकास मात्र होइन सर्वाङ्गीण विकासमा महत्वपूर्ण भुमिका खेलेको हुन्छ। अहिलेको अवस्थालाई हेर्दा अझै लामो समयसम्म विद्यालय सुचारू हुने अवस्था देखिएको छैन। कतिपय स्कुलहरूले अनलाइनको माध्यमबाट भर्चुअल क्लासस मार्फत पठनपाठन शुरू गरेका छन्। रेडियो र टेलिभिजनका माध्यम बाट पनि दूर शिक्षा कार्यक्रम शुरू भईसकेको छ। घर नै स्कूल भएको छ। अब अविभावकले अविभाबक मात्र भएर पुग्ने अवस्था देखिएको छैन। शिक्षक, साथी, दौतरी नानीबाबूहरूकै भाषामा भन्दा बेष्ट टिचर, बेष्ट फ्रेण्ड पनि हुनु पर्ने देखिएको छ। यस्तो परिस्थितीलाई सहज बनाउन अविभाबक सचेत हुन जरूरी देखिन्छ।

यसको लागि अभिभावकले दयालू बन्ने, बोल्दा मिठो भाषा प्रयोग गर्ने गर्नुपर्छ । आफ्ना नानीबाबुहरूसँग साथी जस्तै भएर कुरा गर्न अप्ठ्यारो मान्नु हुँदैन। आफ्ना बालापनका रमाईला रमाईला कुराहरू सुनाएर साथीको अनुभुति दिलाउने प्रयास गर्नुपर्छ। सगैं बसेर रमाइला र ज्ञानबर्धक सिनेमा हेर्ने गर्नुपर्छ। बच्चाको रुचि अनुसारको पठन सामाग्री ल्याइदिनुपर्छ ।

आफ्ना नानीबाबूहरूलाई राम्रा राम्रा विद्यूतीय पुस्तकहरू खोज्न सहयोग गर्नुहोस् अनि उनीहरू सगैं बसेर पढ्ने बानीको बिकास गर्नुहोस्। बच्चाको रुची अनुसारको (जस्तै नृत्य, गायन, बाद्यबादन, खेलकूद आदि) मनोरन्जनलाई प्रोत्साहन गर्नुहोस्।

आफ्ना नानी/बाबूहरूका अगाडी नकारात्मक कुरा पटक्कै गर्नु हुँदैन। जस्तै “कोरोनाले अब सबै मरिने भइयो” “जिन्दगी केही रहेनछ” जस्ता कुरा नगर्नुहोस्। बच्चालाई सकारात्मक तरिकाले रोगबाट बच्ने उपायहरू सिकाउनुहोस्। आफू दु:खी नहुनुहोस् र आफ्नो बच्चा दु:खी भएमा यो अवस्थाबाट बचाउँन उनीहरूसँग रमाइला रमाईला कुरा गर्नुहोस्। किशोरकिशोरीहरूलाई सकेसम्म साथीहरूसँग फोन, इन्टरनेट वा सामाजिक सञ्जाल आदिका माध्यमबाट नियमित सम्पर्कमा राख्नुहोस। कोरोना कहरले सृजना गरेको परिस्थितिलाई मध्यनजर गर्दै किशोरकिशोरीहरूलाई ल्यापटप, ट्याब, मोबाइल जस्ता ग्याजेटहरू चलाउन दिनुहोस्।

इन्टरनेटको सदुपयोग गरी उपयक्त सामाग्री खोजेर पढ्न, खेल्न र मनोरञ्जन गर्न दिनुहोस्। सोसल मिडिया मार्फत साथीहरूसँग जोड्नुहोस। यो नबिर्सनुहोस्, इन्टरनेटको माध्यमाबाट बच्चालाई हानी पुर्याउने सामाग्रीहरू पनि प्रसस्त आउँछन्, सजग रहनुहोस्। आफ्नो छेउछउमा देखिने ठाँउमा राखेर ग्याजेटको प्रयोग गर्न दिनुहोस तर उनीहरूले थाहा नपाउनेगरी निगरानी पनि गरिरहनुहोस्। ग्याजेटको प्रयोग गर्न नियमित दिनुहोस् तर निश्चित समयका लागि मात्र दिनुहोस्।

महिनौंसम्म घर बस्दा-बस्दा किशोरकिशोरीहरु एक प्रकारले विच्छिप्त भइसकेका छन्। अबका दिनहरू झन् जटिल बन्दै गएका छन्। कामकाजी अविभावकले आफ्ना नानीबाबूहरूलाई पुरा समय दिन नसक्ने अवस्था छ। विद्यालय खोल्ने अवस्था छैन। अन्य कार्यालयहरू बन्द गरि रहने अवस्था पनि छैन। शिक्षा प्राप्त गर्न पाउनु बाल बालिकाको नैसर्गिक अधिकार हो। त्यो भन्दा अगाडी स्वस्थ जीवन बाँच्न पाउनु पर्छ। स्वस्थ जीवनका लागि शारिररीक, मानसिक, सामाजिक सबै रूपमा सबल हुनुपर्छ। भोलीका कर्णाधार लगभग एक चौथाई किशोरकिशोरीहरूको सर्वाङ्गिण विकासका लागि शैक्षिक बिकासमा भन्दा पूर्ण स्वास्थ्यमा अविभावकको साथ साथै नेपाल सरकार र सरोकारवाला निकायहरूको ध्यान पुग्न जरूरी छ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here