पञ्च माविमा ‘होल्डिङ’ सेन्टर

0
802

खोटाङ,

जिल्ला भित्रिने स्थानीय बासिन्दालाई पिसिआर परीक्षणको रिपोर्ट नआएसम्मका लागि राख्ने ‘होल्डिङ’ सेन्टर बनाउने तयारी गरिएको छ । स्वदेश तथा विदेशबाट भित्रिने स्थानीय बासिन्दालाई पिसिआर परीक्षणको रिपोर्ट नआएसम्मका लागि राख्ने व्यवस्था मिलाउन दिक्तेलको पञ्च माविमा दश श्ययाको ‘होल्डिङ’ सेन्टर बनाउने तयारी गरिएको हो ।

बाहिरबाट आउनेलाई सरासर घर पठाउँदा कोरोना सङ्क्रमणको खतरा बढेकाले उनीहरुको पिसिआर परीक्षण गरेर मात्र घर पठाउने र त्यतिञ्जेलसम्म सुरक्षित तरिकाले राख्न पञ्च माविमा ‘होल्डिङ’ सेन्टर बनाउने निर्णय गरिएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

“क्वारेन्टिनकैरुपमा प्रयोग गरिने ‘होल्डिङ’ सेन्टर निर्माणका लागि आवश्यक सामग्री नेपाल रेडक्रस सोसाइटीले उपलब्ध गराउनेछ”, उहाँले भन्नुभयो, “रेडक्रसले आवश्यक सामग्री उपलब्ध गराएपछि नेपाली सेनाको गोरखनाथ गणले सेन्टर व्यवस्थित निर्माण गर्नेछ ।”

सेन्टरमा मध्यपहाडी लोकमार्गमा पर्ने जयरामघाट नाकाबाट भित्रिएर दिक्तेल हुँदै घर जाने स्थानीय बासिन्दालाई मात्र राखिने छ । पिसिआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएका व्यक्तिलाई घर पठाइनेछ भने पोजेटिभ रिपोर्ट आएका स्थानीय बासिन्दालाई उपचारमा पठाइने छ ।

होल्डिङ’ सेन्टर निर्माणका लागि पञ्च माविका व्यवस्थापन समिति, प्रधानाध्यापक लगायतसँग समन्वय गरिसकिएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ । जिल्लामा कोरोना सङ्क्रमित देखिएका सबै जना विदेशबाट आएका व्यक्ति भएकाले उनीहरुलाई अनिवार्यरुपमा पिसिआर परीक्षण गरेर मात्र घर पठाउने व्यवस्था मिलाउने तयारी गरिएको हो ।

दश स्थानीय तह रहेको खोटाङमा हालसम्म ४७७ जनाको पिसिआर परीक्षण गरिएको छ । कोभिड–१९ को सङ्क्रमण भए÷नभएको यकिन गर्नेक्रममा दुई नगरपालिका र आठ गाउँपालिमामा ४७७ जनाको पिसिआर परीक्षण गरिएको हो । पिसिआर परीक्षणका क्रममा जिल्लामा नौ जनालाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताउनुभयो ।

हालसम्म हलेसी तुवाचुङ नगरपालिकामा चार, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा चार र एेंसेलुखर्क गाउँपालिकामा एक जनामा सङ्क्रमण देखिएको हो । हलेसी तुवाचुङ नगरपालिकाका चार जना सङ्क्रमित उपचारपछि घर फर्किसकेका छन् भने अन्य पाँच सङ्क्रमित उपचारमा छन् । जिल्लामा हालसम्म एक हजार ५०३ जनाको आरडिटी परीक्षण गर्दा २७ जनाको पोजेटिभ रिपोर्ट देखिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here