चिनियाँ एप प्रतिबन्धित भएपछि ‘स्टार’हरूको भविष्य अन्यौलमा

0
705

भारत।

आफ्नो पहिलो नाम मात्रै बताउन चाहने गीत देशका लागि खतरा भन्दै टिकटकसहित दर्जनौँ चिनियाँ एपहरूमाथि भारतले प्रतिबन्ध लगाएपछि स्तब्ध भइन् ।
पेशाले वकिल रहिसकेकी गीत भारतका टिकटक स्टारमध्ये एक हुन् । उनी एक करोडभन्दा बढी फलोअरहरूलाई तीनवटा च्यानलमार्फत् ‘अमेरिकी अङ्ग्रेजी’ सिकाउनुका साथै सम्बन्धबारे सुझाव पनि दिन्छिन् ।

विगत एक वर्षयता गीतले आफ्ना खातामा करिब २०÷२० सेकेन्डका दैनिक १५ वटा भिडिओ पोस्ट गर्ने गरेकी छन् । आफूसँग सञ्चिति कम नहोस् भनेर मोबाइल र व्यावसायिक क्यामेराबाट उनी एक दिनमै १२० वटासम्म भिडिओ तयार पार्छिन् । बाँकी दिन स्क्रिप्ट लेख्ने र भिडिओ सम्पादनको काममा उनी समय खर्च गर्छिन् ।

प्रतिबन्धबारे समाचार सुनेपछि मलाई विश्वास नै लागेन । यो त अहिले मेरो जीवनको अभिन्न अङ्ग भइसकेको छ । यो मेरो पूर्णकालीन जागिर भइसकेको छ– गीतले भनिन् । उनका फलोअरहरू दुःखी भएका छन् । एकजना लेख्छन्– अब मैले कसरी अङ्ग्रेजी सिक्ने होला ? अर्का फलोअरले लेखेका छन्– अब मलाई कसले उत्प्रेरित गरिरहने होला ?

कुन कुराले प्रतिबन्ध निम्त्यायो ?

भारतले ५९ वटा चिनियाँ एपहरूमाथि प्रतिबन्ध लगाएपछि लाखौँ प्रयोगकर्ताहरू अचम्मित र स्तब्ध भएका छन् । भारतीय प्रतिबन्धमा पर्ने एपहरूमा विबो, वीच्याट र यूसी ब्राउजर लगायत छन् । भारतीय सरकारले ‘देशको सम्प्रभुता र सुरक्षाका लागि खतरा’ भएकाले ती एपहरूमाथि प्रतिबन्ध लगाइएको जनाएको छ ।

हालै लद्दाख क्षेत्रको गलवान इलाकामा चिनियाँ सेनासँगको हिंसात्मक झडपमा २० जना भारतीय सैनिक मारिएपछि चिनियाँ सामान, सफ्टवेअर र एपहरू बहिष्कार गर्नुपर्ने आवाज उठ्दै आएको छ । भारतको इलेक्ट्रोनिक्स तथा आईटी मन्त्रालयले भनेको छ– भारतका करोडौँ मोबाइल तथा इन्टरनेट प्रयोगकर्ताका डेटा सुरक्षा एवम् गोपनीयतालाई मध्यनजर गर्दै यो निर्णय लिइएको हो । तर प्रतिबन्धका कदमबाट ‘निकै चिन्तित’ बनेको भन्दै निर्णयबारे पुनर्विचार गर्न बेइजिङले आग्रह गरेको छ । विज्ञहरूले भारतीय निर्णयलाई राजनीतिक कदम भन्दै दुई देशबीच बढ्दो तनावका रूपमा अथ्र्याएका छन् ।

निकै लोकप्रिय टिकटक चाहिँ सबैभन्दा नराम्ररी प्रभावित एपमा परेको छ । सस्तो मोबाइल डाटा र युवा जनसङ्ख्या बढी भएको पृष्ठभूमिमा विगत तीन वर्षमा भारतमा २० करोड प्रयोगकर्ता भएका छन् । टिकटकमा पढाउने लेखक तथा पडकास्टर अमित वर्मा भन्छन्– यो अति नै चाखलाग्दो छ । प्रतिभा देखाउन नपाएका थुप्रै मान्छेले एउटा मञ्च पाएका छन् । रचनात्मक क्षमता भएका धेरै मान्छे यहाँ छन् ।

भारतमा जन्मिएर सिआटलमा हुर्के बढेकी गीतले टिकटकमै जिन्दगी बन्छन् भनेर कहिल्यै सोचेकी थिइनन् । इन्जिनियरिङ्ग पढेकी गीत दिल्ली फर्कनुअघि गीत ल फर्ममा काम गर्थिन् । आफ्ना आमाबुवासँग सामाजिक कार्य गर्न उनी दिल्ली फर्किन् । उनले भनिन्– मैले जे गर्थेँ त्यसको विस्तारित रूप टिकटक हो । एउटा भिडिओमार्फत् म थुप्रै मानिसमाझ पुग्न सक्छु र सहयोग गर्न सक्छु – उनले भनिन् ।

टिकटकको माऊ कम्पनी बाइटडान्सले प्रयोगकर्ताहरूको सुरक्षा र समग्रमा भारतसँगको प्रतिबद्धताबारे कुरा गर्न तयार रहेको बताइएको छ । टिकटकका भारत प्रमुख निखिल गान्धीले पछिल्लो घटनाक्रमबारे धारणा राख्न र स्पष्टीकरणका लागि सम्बन्धित अधिकारीहरूबाट बोलावट भएको ट्विटरमा लेखेका छन् । अरू एप निर्माताहरूले प्रतिबन्धप्रति प्रतिक्रिया जनाइसकेका छैनन् । वीवीसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here