निजी विद्यालयका शिक्षक–कर्मचारी आन्दोलित

२० असार २०७७, शनिबार मा प्रकाशित

बनियानी,

कोभिड–१९ को नियन्त्रण एवं रोकथामका लागि सरकारले घोषणा गरेको बन्दाबन्दीको अवधिमा तलब–सुविधा नपाएको भन्दै झापाका निजी विद्यालयका शिक्षक–कर्मचारी आन्दोलित भएका छन् ।

विभिन्न चरणमा सरोकारवालालाई आफ्ना समस्याका विषयमा अवगत गराए पनि कहीँकतैबाट सम्बोधन भएको भन्दै उनीहरू सडक सङ्घर्षमा उत्रिएका हुन् ।

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाको नेतृत्वमा शुक्रबार झापाको बिर्तामोडमा मौन ¥याली निकालियो । ¥यालीमा ‘शिक्षक कहिलेसम्म भोकै ?’, ‘कोरोनाले त छँदैछ, भोकले मृत्यु हुँदैछ’, ‘हाम्रा लागि सरकार कहाँ छ ?’ लगायत नारा उल्लेखित पम्पप्लेट प्रदर्शन गरेका थिए ।

इस्टु झापा अध्यक्ष होमराज खतिवडाले बन्दाबन्दी शुरु भएयता आफूहरूले तलब नपाएको बताउनुभयो । “चैतदेखि नै हामीले तलब पाएका छैनौँ”, उहाँले भन्नुभयो, “पटक–पटक माग गरे पनि कहीँकतैबाट सुनुवाइ भएको छैन, बाध्य भएर सडक सङ्घर्षमा उत्रिएका हौँ ।”

संस्थागत सवारी चालक सङ्घ झापाका अध्यक्ष पदम तामाङले चैतदेखि तलब नपाउँदा घर चुलो बल्ने अवस्था नरहेको बताउनुभयो । “चार महिना हुन लाग्दा पनि तलब पाइएको छैन”, उहाँले भन्नुभयो, “घरमा चुलो बल्ने अवस्था छैन, हाम्रो कुरा कसैले सुन्दैनन् ।”

इस्टु झापाले यहाँका १५ वटै स्थानीय पालिकामा ध्यानाकर्षण पत्र बुझाइसकेको छ तर, तलब–सुविधा पाउने वातावरण सिर्जना हुन नसकेको इस्टु भद्रपुरका नगर अध्यक्ष द्रोण अधिकारीले बताउनुभयो । “संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले काम गरिसकेको समयको समेत तलब पाउन सकेका छैनन्”, उहाँले भन्नुभयो, “सामाजिक न्यायको माग गर्दै सडक आन्दोलनमा उत्रिएका हौँ ।”

युएनटो झापाका अध्यक्ष शिवराज भण्डारीले अन्तर्राष्ट्रियस्तरको जनशक्ति उत्पादन गर्ने निजी विद्यालयका शिक्षकको घरमा चुलो अवस्था नभएपछि बाध्य भएर सडक आन्दोलनमा उत्रिनुपरेको बताउनुभयो । “अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने जनशक्ति उत्पादनको मुख्य भूमिकामा रहेका निजी शिक्षण संस्थाका शिक्षक–कर्मचारी जहिल्यै शोषण र अपहेलनामा परेका छन्”, उहाँले भन्नुभयो, “उनीहरूको सम्मान न शिक्षण संस्थाले गरेको छ न त सरकारले नै ।” निजी विद्यालयका शिक्षकको अधिकार रक्षा र उनीहरूको संरक्षणका लागि सरोकारवालाले तत्काल कदम चाल्नुपर्ने उहाँको माग छ ।

कोणसभामा इस्टुका प्रदेश सदस्य यादव अधिकारीले राष्ट्रव्यापी रुपमा साङ्केतिक आन्दोलन थालिएको बताउनुभयो । यसबाट पनि माग सम्बोधन नभए दोस्रो चरणमा घर्ना, घेराउलगायत आन्दोलनका कार्यक्रम तय गरिने जनाइएको छ । झापाका ४०० निजी विद्यालयमा सात हजार शिक्षक कर्मचारी कार्यरत रहेको इस्टुका केन्द्रीय सदस्य एनपी लामिछानेले बताउनुभयो ।

देशभरका छ हजार निजी विद्यालयमा ८७ हजार शिक्षक कर्मचारी कार्यरत रहेको सरकारी तथ्याङ्क रहेको भए पनि आठ हजार निजी विद्यालयमा दुई शिक्षक कर्मचारी कार्यरत रहेको र १८ लाख विद्यार्थी अध्ययनरत रहेको इस्टुले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here