गुरुपूर्णिमा र गुरु

२१ असार २०७७, आईतवार ११:०४ मा प्रकाशित
  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

आ. सोमनाथ गौतम

Advertisement

आषाढ शुक्लपक्षको पूर्णिमा तिथिलाई गुरु पूर्णिमा भनिन्छ । यसै पूर्णिमाका दिन द्वापर युगको चतुरांश अवशिष्ट समयमा सत्यवतीका छोराका रुपमा व्यासको जन्म भएको थियो । त्यसैले यस दिनलाई व्यास पूर्णिमा समेत भनिन्छ । यद्यपि पुराणहरुमा धेरै व्यासहरुको वर्णन गरिएको भएतापनि अरुभन्दा विशिष्ट गुण र क्षमताका कारण सत्यवतीनन्दन व्यासलाई भगवानका अवतारका रुपमा मानिएको छ । यिनले ऋग्वेदलाई देवताहरुको आवाहन, यजन पूजन, मन्त्रगायन, यज्ञसंरक्षण, जस्ता प्रकरणलाई अलग–अलग ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार वेदमा विभाजन गरेकाले यिनलाई वेदव्यास भनिन्छ । कालो वर्ण भएकाले कृष्ण, द्विपमा जन्म भएकाले द्वैपायन गरी व्यासलाई सत्यवतीनन्दन कृष्ण द्वैपायन वेदव्यास भनेर शास्त्रमा चिनाइएको छ । अठार महापुराण, एकलाख अनेकन छन्दात्मक पद्यहरुको संगालो, वृहत् कथावस्तु भएको, साहित्यिक तत्वहरुको अनूपम संयोजन र दार्शनिक चिन्तनले ओतप्रोत भएको वृहत् ग्रन्थ महाभारतका रचयिता पनि यिनै वेदव्यास हुन् ।

पूर्वीय पौराणिक वाङ्मयको विकासमा बाल्मीकि पछि वेदव्यासको अत्यन्तै ठूलो योगदान रहेको छ । अर्वाचीन गद्य पद्य साहित्य संरचनामा व्यासकै रचनाका वीचबाट प्रसङ्ग, शैली, छन्द जस्ता तत्वहरु टपक्क टिपी प्राज्ञिक क्षुधा मेटाउन सकिने भएकाले ‘व्यासोच्छिष्टं जगत् सर्वम्’ भन्ने प्रचलन समेत रहेको पाइन्छ । यिनै कृष्ण द्वैपायन वेदव्यासको जन्म भएको दिनलाई गुरुपूर्णिमा अथवा व्यासपूर्णिमा भनेर चिनिन्छ । यसदिन सवैतिर आ–आफ्ना गुरुहरुलाई सम्जने र सम्मान प्रकट गर्ने प्रचलन रहेको छ । यसै सन्दर्भमा गुरु कसलाई भनिन्छ र गुरुतत्व के हो भन्ने विषयलाई यस लेखमा शास्त्रीय चिन्तनका आधारमा आलोडन गरिएको छ ।

गुरु शब्द संस्कृत व्याकरणको ‘गृृृृृ निगरणे’ भन्ने धातुबाट निगीरति शिष्यस्य अज्ञानम् अथवा शिष्यमा भएको अज्ञान निल्ने, हटाउने भन्ने अर्थमा बनेको छ । पूर्वीय सभ्यतामा त ज्ञान, विवेक, विचार आदि प्रदान गर्ने सद्पात्रलाई गुरु मानिएको छ । सद्भाव, सद्विचार विवेक, सहिष्णुता, जस्ता मानवीय समुन्नत गुणहरु ईश्वरप्रदत्त भएकाले ईश्वर नै सवै सवैका गुरु हुन् । गुरुतत्व मोक्षकारक भएकाले ब्रह्मतत्व नै गुरुतत्व हो । यिनै ईश्वरीय गुणहरुले मानवीय शरीरलाई निमित्त बनाउँदै गुरुत्व कायम गरेको हुन्छ । सामान्यतया राम्रो विचार, चिन्तन, मानवीय सद्गुण जगाउने वैदिक, लौकिक ज्ञानार्जनको प्रमुख आधार स्वरुप शिक्षा प्रदान गर्ने व्यक्तिलाई गुरु मानिने गरिएको छ ।

शास्त्रमा त समष्टि र व्यष्टि गरी दुई प्रकारका गुरुको व्याख्या गरिएको छ । समष्टि गुरु भनेको ज्ञान हो । ज्ञान भन्नाले सामान्य ज्ञान मात्र नभई संसारको सृष्टि, स्थिति, पालन गर्ने अव्यक्त शक्तिको समेत बोध गराउने ज्ञान हो । जुन ज्ञानले व्यक्तिलाई म को हुँ ? मेरो सत्ता कहिलेसम्म र किन ? जस्ता गहनतम् प्रश्नहरुको उत्तर अन्वेषण गर्दै निष्कर्षमा तात्विक ज्ञान बोध गराउँदछ । त्यो ज्ञान नै ईश्वर अथवा ब्रह्म हो । यो गुरु तत्वलाई शुकदेवजी भागवतमा यसरी चित्रण गर्दछन् । यथा–
यदङ्ग्र्यविद्यानसमाधिधौतया
धियानुपश्यन्ति हि तत्वमात्मनः।
वदन्ति चैतद् कवयो यथारुचम्
स मे मुकुन्दो भगवान् प्रसीदताम् ।।
(श्रीमद्भा.२.४)
अर्थः– जसका चरणको ध्यानमग्न भई समाधिले अन्तःकरण शुद्ध भएपछि ज्ञानात्मक दृष्टिद्वारा आत्मिक तत्त्वको दर्शन हुन्छ । त्यसलाई विद्वान्हरु रुची अनुसार अनुभूति गर्दै वर्णन गर्दछन् । उनै मुकुन्द भगवान मेरा गुरु हुन् । हे भगवान ! मसँग प्रसन्न हुनुहोस् । यस कथनले ईश्वर नै गुरु हुन् भन्ने स्पष्ट हुन जान्छ ।
त्यसैलाई शास्त्रमा समष्टि गुरुतत्वका रुपमा सूचित गरेको पाइन्छ । जस्तैः

अखण्डमण्डलाकारं व्याप्तं येन चराचरम् ।
तत् पदं दर्शितं येन तस्मै श्रीगुरवे नमः ।।
अर्थः– यो अखण्ड मण्डलाकार वृहत् संसार एवम् स्थावर जङ्गम, चर अचर सम्पूर्ण पदार्थमा व्यापक रहेको छ । जसको सेवाले त्यो व्यापक पदको दर्शन गर्न सकिन्छ त्यस्ता गुरुलाई नमस्कार छ ।
यो भनाइले गुरुतत्व सवैतिर व्यापक भएको कुरालाई थप प्रामाणिक बनाउँदछ । गुरुले नवीनतम् विचार चिन्तन जागृत गरी वस्तुको सिर्जना गर्दछन् । अव्यक्त रहेर व्यक्त संसारको सञ्चालन गर्ने, व्यक्त शरीरभित्र रहेर आफू अव्यक्त रही सञ्चालन गर्ने ईश्वर नै गुरु हुन् ।

समग्रमा ईश्वरीय सत्तालाई बोध गर्न शव्दार्थलाई बुद्धिले केलाउँदै विवेक साधेर अनुभूतिमा घोलेपछि प्राप्त हुने ज्ञान विज्ञानले मोक्ष समेत हुने शास्त्रीय चिन्तन रहेको छ । त्यस्तो ज्ञानको स्थानान्तरण गुरुबाट हुने भएकाले गुरुलाई ईश्वर समान मानिएको छ । ज्ञानप्रदान गर्ने मात्र नभएर व्यवहारिक कुशल सिप सिकाउने व्यक्ति पनि गुरु नै हुन् । संसारका सबै प्राणीहरुमा मानव सर्वोत्कृष्ट प्राणी हो किनभने मानव जन्मजात सामान्य प्राकृतिक स्वभावबाट रुपान्तरित हँुदै विशिष्ट महापुरुषीय स्वभाव ग्रहण गर्न सक्दछ । त्यसैले मानव ईश्वरको भरिलो अंश हो । जसको ज्ञान, स्वभाव र शक्ति अपरिमित भएकाले ईश्वरको नाम अनन्त हो ।

यो वा अनन्तस्य गुणाननन्ता–

ननुक्रमिष्यन् स तु बालबुद्धिः । ( भा. ११÷४÷२)
त्यही अनन्तको भरिलो अंश मानवमा ज्ञान स्वभाव र शक्ति अपरिमित (अनन्त) छ । त्यस अपरिमित ज्ञान, स्वभाव र शक्तिलाई जागृत गराउने कुसल मालिको रुपमा गुरुलाई लिन सकिन्छ । कसैले चोरको व्याख्या, चिन्तन, मनन र अनुकरण गर्दा गर्दै आखिर ऊ पनि चोरवत् अथवा चोर समान बनिसकेको हुन्छ । त्यस्तै अनन्तपरक शिक्षा, चिन्तन र मननले ईश्वर समान वनेका गुरुले दिएको ज्ञान, विचार र सद्चिन्तनले ग्राहक अथवा शिष्यले संसारमा खुशी रहँदै अन्त्यमा मोक्ष समेत प्राप्त गर्दछ । त्यस कारण जीवन सफल बनाउन मानवलाई सद्गुरुको सान्निध्य महत्वपूर्ण ठानिएको छ । त्यसैले त गुरुलाई पूर्वीय सभ्यता र संस्कारमा भगवानकै प्रतिमूर्तिका रुपमा मान्ने गरिन्छ । यो गरिमामय, शास्त्र निर्दिष्ट पवित्र मान्यतालाई कति नियत खराव भएका फगत भेषधारी हेर्दा साधु तर दूषित हृदय भएका (अन्तर्दुष्टबहिर्साधुः) व्यक्तिहरुमा ज्ञान र संसारबाट मोक्षको लोभले होमिएका व्यक्तिहरुले धोका समेत पाएका व्यवहारिक प्रमाणहरु पर्याप्त पाइन्छन् ।

आज समाजमा मन्त्रदानका नाममा कानफुक्तै आफ्नो झुण्ड बडाउन व्यस्त, मुखमा भिण्डी भन्दा चिप्लो वाणी र शरीरमा पूर्वीय गुरुको आदर्श अनुरुप भेषभूषाले सजिएका तर हृदयमा कलुषित एवम् वासनात्मक स्वार्थी भाव भरिएका तथाकथित गुरुहरुबाट अपेक्षित ज्ञान र मोक्षसम्मको यात्राको नेतृत्व प्राप्त गर्न कठिन छ । यस्ता गुरुहरुका विश्वासमा प¥यो भने धोका मात्र हात लाग्दछ । यतः पानी पिउनु छानेर गुरु मान्नु जानेर भने झैं गुरु स्वीकार गर्नु पूर्व उनको ज्ञान, क्षमता, धैर्य र स्वभावको पनि जानकारी हुन आवश्यक छ । वास्तविक गुरु त ती हुन् जसको असल आदर्शले उनको उपस्थितिमा अथवा स्मरणमा आफै शिर झुक्दछ । सद्गुण, सद्भाव, सरल स्वभाव, सद्व्यवहार, शिष्यको भविष्यप्रति बफादार, राम्रो ज्ञान सिप सिक्ने सिकाउने, विक्ने बिकाउने, आफू धीर रही सवैलाई धैर्य गराउने, संकटमा चिन्ता नगरी चिन्तन गर्ने गराउने, अध्ययनशीलता, लगनशीलता, शिष्यको मर्म बुझ्ने जस्ता गुणहरु असल गुरुका पहिचान हुन् ।

दत्तात्रय ऋषिले सूर्य, चन्द्र, पृथ्वी, जल, वायु आकाश जस्ता २४ वटा प्राकृतिक पदार्थलाई नै आफ्नो गुरु बनाएका थिए । यद्यपि प्रकृतिले हामीलाई जति ज्ञान दिन्छ, त्यति ज्ञान अरु कसैले दिन सक्दैन । मानवको सृष्टि र विलय यही प्रकृतिका काखमा हुने भएकाले प्रकृति मानवका लागि अथाह ज्ञानको भण्डार हो । यही ऋषि दत्तात्रेयको मान्यतालाई पूनव्र्याख्या गरी प्रकृतिवाद भन्दै पश्चिमका रुसोले निकै ठूलो चर्चा पाएका छन् । वास्तवमा वैशाखबाट चैतसम्मको समय चक्रमा प्रकृतिले पूर्ण जीवनको पाठ पढाइदिन्छ । त्यतिमात्र कहा हो र विहानको सूर्योदयदेखि सूर्यास्त सम्ममा नै एउटा जीवनको पूर्णपाठ भेटिन्छ । त्यसैले प्रकृति पनि समष्टि गुरु हो । यसै ज्ञानलाई सहजीकरण गराउन व्यष्टि गुरु (मानवीय गुरु) को आवश्यकता पर्दछ ।

समष्टि रुपमा गुरुको अर्थ व्यापक भए पनि व्यष्टि रुपमा भने शिक्षक, पथप्रदर्शक, प्रेरक जस्ता नामहरु गुरुका पर्यायका रुपमा आएका देखिन्छन् । असल शिक्षा सिकाउने शिक्षक, राम्रो गरिखाने व्यवहारिक सामाजिक मार्ग (बाटो) देखाउने पथप्रदर्शक, राम्रो कार्यको लागि उत्प्रेरणा जगाउने उत्प्रेरक हुन् । यी सवै गुरुका अलग– अलग गुणगत विशेषताहरु हुन् । आध्यात्मिक ज्ञान मात्र नभइ सवै खाले ज्ञान सिप सिकाउने व्यक्ति पनि गुरु नै हुन् । गुरु र शिक्षक शब्दबीच तात्विक भिन्नता भए पनि आजकल पर्यायवाचीका रुपमा स्वीकार गरिएको छ । कति ज्ञान, सिप सिकाइन्छ भने कति सङ्गतद्वारा आफै सर्दछन् । त्यसैले गुरु अथवा शिक्षकमा सुन्दर सफा हसिलो स्वरुप, स्वाभिमानी स्वभाव, नरम मिजासिलो शैली, आफ्नो कर्तव्यप्रतिको दृढ निष्ठा जस्ता गुणहरुले नै विद्यार्थीहरुको उज्ज्वल भविष्य निर्माण गर्न मद्दत पु¥याउँदछन् । क्रोधी स्वभाव, कठोर वाणी, दमनात्मक शैली, कर्तव्य विमुख व्यवहार, आडम्वरी चरित्र जस्ता नकरात्मक गुणहरु गुरु (शिक्षक) मा भए शिष्य (विद्यार्थी) हरुमा अपेक्षित ज्ञान सिपको विकास र वृद्धि हुन सक्दैन । सकारात्मक विचार, चिन्तन, ज्ञान र सिपद्वारा असल, कुसल, सद्गुणी, सदाचारी एवम् बफादारी जनशक्ति उत्पादन गरी समाज, राष्ट्र र विश्व नै समुन्नत बनाउने चाहना भएका गुरु नै सर्वोत्कृष्ट आदर्श गुरु हुन् ।

विद्यालयमा कखरादेखि विश्वविद्यालयको माथिल्लो तहसम्मको गहन ज्ञान, सिप र शिक्षा जगाउने शिक्षक, प्राध्यापक, प्रेरक सबै गुरु नै हुन् । समग्रमा गुणमा, स्वभावमा, वाणीमा, विशेषतया नियतमा गुरुत्व सहज प्रवेश भएको भए मात्र गुरुले आदर्श गुरुको स्थान प्राप्त गर्न सक्दछन् तर स्वभावमा दुर्गुण केवल स्वरुपमा मात्र गुरु झल्किए समाजका लागि ती केवल धोका मात्र हुन् । त्यसैले गुरुको गुरुत्व स्वरुपमा हैन स्वभावमा देखिनु पर्दछ अथवा चित्रमा हैन चरित्रमा देखिनु पर्दछ । वास्तवमा चित्र र चरित्र, स्वरुप र स्वभाव मिलेका गुरु नै आदर्श गुरु हुन् । ती आदर्श गुरु सदैव आदरणीय, स्मरणीय र पूजनीय समेत हुन्छन् । त्यस्ता गुरुलाई वैदिक सनातन धर्ममा त ब्रह्मा, विष्णु र महेशका रुपमा मानिएको छ । जस्तैः

गुरुब्र्रह्मा गुरुर्विष्णुः गुरुदेवो महेश्वरः ।
गुरुर्साक्षात् परं ब्रह्म तस्मै श्रीगुरवे नमः ।।
अर्थः– गुरु ब्रह्मा, विष्णु र महेश्वर (शिव) समेत हुन् । त्यति मात्र होइन साक्षात् ब्रह्मतत्व पनि उनै हुन् । त्यस्ता गुरुलाई नमस्कार गर्दछु ।
यस भनाइमा आएका सृष्टिकर्ता ब्रह्मा, पालनकर्ता विष्णु र संहारकर्ता शिवसँग गुरुलाई बिम्बित गरिएको छ । “बृम्ही वृद्धौ” भन्ने संस्कृत को धातुबाट ब्रह्मा शब्द बन्नाले ब्रह्मा शब्दको वृद्धि गर्ने अथवा बढाउने फैलाउने भन्ने अर्थ हुनजान्छ । ‘विवेष्टि व्याप्नोति चराचरात्मकम्’ (जो स्थावर जङ्गम सवैतिर व्यापक छ ) भन्ने अर्थमा ‘विश्लृ व्याप्तौ’ भन्ने धातुबाट विष्णु शब्द बन्दछ । ‘महान् चासौ ईश्वरः’ महान् सर्वसमर्थशाली भन्ने अर्थ महेश्वर शव्दले व्यक्त गर्दछ ।
यिनै अर्थका आधारमा गुरुले ज्ञान, चिन्तन, सद्व्यवहार, सकरात्मक सोच र सुन्दर स्वभावलाई वृद्धि गर्नुपर्दछ अनिमात्र ब्रम्हा शब्दको बिम्बितार्थ प्रकट हुनपुग्दछ । विष्णु सवैतिर व्यापक र सवैका लागि समान हुनाले विद्यार्थीहरुमा समान दृष्टि, ज्ञान, सिप, बुद्धि र विवेक समान रुपमा वितरण गर्ने स्वभाविक गुण गुरुमा हुनुपर्दछ । महेश्वर शब्दको अर्थ सर्वमान्य र समर्थशाली भन्ने हुनाले गुरु विवाद शून्य, सर्वमान्य, कर्तव्यनिष्ठ, नवीनतम, विचार, चिन्तन युक्त संरक्षक एवम् उत्प्रेरक बन्नुपर्दछ । यस्ता आदर्श गुरुलाई उपयुक्त पद्यले नमन गरिएको छ । यो गुरुलाई सम्झने सन्दर्भका लागि आदर्शपद्य अथवा प्रचलित पद्य हो ।

आषाड शुक्ल पूर्णिमाको दिनलाई गुरुपूर्णिमा भनिन्छ । यस दिन द्वापर युगका अन्त्यमा सत्यवतीका छोराका रुपमा कृष्ण द्वैपायन वेदव्यासको जन्म भएको थियो । एक वेदलाई चार वेदमा विभाजन गरेकाले उनलाई वेदव्यासको गरिमामय उपाधिले पनि चिनिन्छ । उनले अठार महापुराण, महाभारत लगायत धेरै कालजयी ग्रन्थहरु लेखेर युगीन भक्तिभाव जगाउनदेखि सामाजिक, राजनीतिक, धार्मिक, आध्यात्मिक, साहित्यिक र दार्शनिक क्षेत्रको विकास एवम् उन्नयनमा महत्वपूर्ण योगदान मात्र नभएर युगिन प्रभाव समेत पारेको पाइन्छ । वेदव्यासका ग्रन्थहरुको प्रभाव र आदर्श आज सूचना सञ्चारको युगमा देवभूमि नेपाल मात्र नभएर संसारभर फैलिरहेको छ । यस्ता भगवद्स्वरुप वेदव्यासको जन्म जयन्तीका दिन उनकै आदर्शको चिन्तन मनन गर्ने र आ–आफ्ना गुरुको स्मरण पूजन गर्ने हाम्रो प्रचलन वैदिक आदर्शमय छ । त्यसैले कखरादेखि उच्च शिक्षासम्मको ज्ञान, सिप, विवेक विकसित गराउन उत्प्रेरकको भूमिका निर्वाह गरी सफल जीवन बनाउन र संसारबाट मोक्षको पथ प्रदर्शन गर्न समेत गुरुको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।

त्यसमा हरेक बालकको पहिलो वाणीबाट हर्षित भइ बाबाआमा, मामा रटाउने माता, कुलवंशको आदर्श जोगाइ हरेक म पात्रसम्म स्थानान्तरण गर्ने पिता पनि हाम्रा सम्मानित गुरु हुन् । वैदिक सनातन सुसंस्कृत अनुसन्धान सिद्ध आर्ष मूल्य मान्यतालाई सद्विचार, सद्चिन्तनको कसौटीमा घोलेर अक्षरीकरण गर्दै विश्वगुरुत्वको आदर्श वहन गर्ने वैदिककालीन याज्ञवल्क्य, जैमिनी, वैसम्पायन आदि हजारौं ऋषिहरुले कालजयी ग्रन्थहरु प्रदान गरी विश्वगुरुत्वको गरिमालाई प्राप्त गरेका छन् । लौकिककालीन वाल्मीकि, पाणिनी, वेदव्यास, कालिदास जस्ता ऋषिहरु पनि आज सम्झनै पर्ने आदर्श गुरुहरु हुन् । अनि उनीहरुले लेखेका ग्रन्थहरुको आदर्श जगाउने गुरुहरु र सम्पूर्ण कखरादेखि आजसम्म हामीलाई पढाउने, सिकाउने र उत्प्रेरणा जगाउने सवै सवैको आज गुरुपूर्णिमा वा व्यास पूर्णिमाको अवसरमा यिनै शब्दसुमनहरु अर्पण गर्दै अन्तर्हृदयबाट सवैलाई हार्दिक नमन । जय गुरुदेव ।।

( गौतम श्रीसाङ्गवेद संस्कृत माध्यमिक
विद्यालय, विनपा–२ झापाका शिक्षक हुन् ।)

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here