कोरोनाको असरः ६० प्रतिशत मात्रै राजश्व

२१ असार २०७७, आईतवार मा प्रकाशित

झापा ।

१३ अर्ब २४ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको मेची भन्सार कार्यालय काँकरभिट्टा झापाले चालू आर्थिक वर्षको ११ महिनामा लक्ष्यको ६० प्रतिशत मात्र राजश्व संकलन गरेको छ ।

चीनको उहान शहरबाट विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को बढ्दो संक्रमणले नेपालको अर्थतन्त्रमा असर परेका कारण अत्यावश्यक बाहेकका सामान भारतबाट आयात नभएकोले लक्ष्य अनुसार राजश्व संकलन गर्न नसकिएको मेची भन्सार कार्यालय काँकरभिट्टा झापाले जनाएको छ ।

राजश्व आयातमा निर्भर हुने भएकाले भारतबाट पर्याप्त सामग्री आउन नसकेकै कारण राजश्व घटेको मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले बताए ।  मेची भन्सार कार्यालय काँकरभिट्टा झापाले चालू आर्थिक वर्षको ११ महिनामा ७ अर्ब ९६ करोड रुपैयाँ मात्र राजश्व संकलन गरेको छ । यो लक्ष्यको ६० प्रतिशत मात्र हो ।

चिया र अलैंचीको निर्यात गर्ने मुख्य समयमा सीमा नाका बन्द हुँदा नेपालमा उत्पादित मालबस्तु गोदाममा नै सड्ने अवस्था आएको र अहिले पनि भारतले खाली गाडी भारत प्रवेशमा रोक लगाएकाले पेट्रोलियम पदार्थ ल्याउन समस्या हुने गरेको प्रमुख भन्सार अधिकृत विश्वकर्माको भनाइ छ ।

असार ४ गतेबाट आंशिक निकासी भएपनि असार ९ गतेबाट मात्र नेपाल भारत सीमा नाका पूर्ण रुपले सुचारु भएकाले लक्ष्य अनुसार राजश्व संकलन गर्न नसकिएको मेची भन्सार कार्यालय काँकरभिट्टाले जनाएको छ ।

मेची भन्सार कार्यालयले पुस महिनामा मात्रै लक्ष्य अनुसार राजश्व संकलन गर्न सकेको थियो । पुसमा एक अर्ब तीन करोड राजश्व संकलन गर्ने लक्ष्य लिएको मेची भन्सार कार्यालयले शतप्रतिशत राजश्व संकलन गरेको थियो । बाँकी दश महिनामा कार्यालयले कुनै पनि महिना लक्ष्य अनुसार राजश्व संकलन गर्न सकेको छैन भने असारमा समेत लक्ष्य अनुसार राजश्व संकलन नहुने देखिएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here