सम्पदा संरक्षण जुट्यो ‘पौवादुङ्मा’

0
1174

भोजपुर,

यहाँको पौवादुङमा गाउँपालिका पर्यटकीय क्षेत्रको विकाससँगै ऐतिहासिक सम्पदाको संरक्षणमा जुटेको छ । गाउँपालिकाले ऐतिहासिक तथा धार्मिक क्षेत्र कोटगढी, सन्तानेश्वर मन्दिर, दुङमाली भाषा संरक्षण केन्द्र, च्याङग्रे पोखरी, अरुण डाँडालगायत ठाउँको संरक्षण थालनी गरेको हो ।

सो गाउँपालिकाले दुङमाली भाषा संरक्षरण केन्द्र भवनको निर्माण तथा सन्तानेश्वर महादेव मन्दिरको पनि संरक्षण कार्य जारी राखेको छ ।

त्यस्तै च्याङग्रे पोखरी र पर्यटकीय क्षेत्र अरुण डाँडाको विस्तृत परियोजना प्रतिवेदन तयार गरेर प्रदेश १ सरकारसँगको सहकार्यमा काम भइरहेको गाउँपालिकाको भनाइ छ । गाउँपालिका केन्द्र नजीकै रहेको कोटगढीको संरक्षणका लागि श्रमदानसहित ५० लाखमा बाटो निर्माण सम्पन्न गरेको छ भने आवश्यक पूर्वाधार निर्माण गर्ने तयारी गरेको छ । गाउँपालिकाको ऐतिहासिक महत्व बोकेको ऐतिहासिकगढी रहेकाले संरक्षण तथा विकासमा ध्यान दिएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “गाउँपालिकालाई आर्थिक रूपमा विकास गर्नका लागि अन्य क्षेत्रसँगै पर्यटकीय तथा ऐतिहासिक धार्मिक क्षेत्रको विकासमा योजनाबद्ध रूपमा लागेका छौँ, गाउँपालिकाका मुख्य पर्यटकीय क्षेत्रहरूको विकासका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरेर गाउँपालिका तथा प्रदेश सरकारसँग पनि सहकार्य गरेर काम अगाडि बढाएका छौँ ।”

गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका अन्य विभिन्न पर्यटकीय क्षेत्रको विकासका लागि पनि योजना अगाडि बढाएको जनाएको छ । भावी योजनामा चिवाचुङ डाँडा, छ्याङ्गी मन्दिर, भाते ढिकुरा, आहाल डाँडा, गुफानागी, दिर्गे डाँडा, दिदीबहिनी डाँडा, मालिका डाँडा, मार्गपोखरी र डुडेगैरालगायत पर्यटकीय क्षेत्रको विकास तथा संरक्षणका लागि काम गरिने गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीले भौतिक निर्माणसँगै कृषि र पर्यटन क्षेत्रमा विशेष प्राथमिकता दिएका छौँ, अहिले गाउँपालिकामा रहेका विभिन्न पर्यटकीय र धार्मिक तथा पर्यटकीय स्थान पहिचान गरेर विकासमा लागिपरेका छाँै, यसले गाउँपालिकाको आर्थिक विकासमा टेवा पु¥याउने हामीले लक्ष्य लिएका छौँ ।”

गाउँपालिकाले पर्यटनको क्षेत्रमा गरिरहेको विभिन्न खाले योजनाले गाउँपालिकाको आर्थिक विकासमा टेवा पुग्ने स्थानीयवासीले बताउने गरेका छन् । स्थानीयवासी ज्ञानेन्द्र राईले भन्नुभयो, “गाउँपालिकाले पर्यटकीय क्षेत्रको विकासमा गरिरहेका काम निकै राम्रो छ, यसरी गाउँपालिकाका पर्यटकीय र धार्मिक क्षेत्रको पहिचान गरेर विकासको थालनी गर्दा हामीलाई निकै खुसी लागेको छ, यसले आर्थिक विकाससँगै ऐतिहासिक क्षेत्रहरूको संरक्षण हुने देखिन्छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here