सम्झना छैनन्, तर सम्झना छ

२२ असार २०७७, सोमबार मा प्रकाशित

बिर्तामोड।

साउनको महिना खेतीको चटारो । त्यही चटारोमा थिए, झापा गाउँपालिका–३ टप्पुका टेकबहादुर कामी पनि । दिनभरि छिमेकीकोमा श्रीमती कमलासहित वीऊ उखेल्न हाजिरामा गएका थिए उनी । सँगै थिइन् साढे तीन बर्षीया छोरी सम्झना पनि ।

कहिले आलीमा बस्थिन् त कहिलेसँगै वीऊ उखेल्छु भन्दै व्याडमा बसेको बिर्सेका छैनन् टेकबहादुरले । साँझ खेतमा बाँधेका वस्तुसँगै छोरी र श्रीमतीसँग घर फर्किएर सुतेका टेकबहादुरले त्यसयता छोरी र श्रीमतीलाई देख्न पाएनन् । विरीङ खोलाका भङ्गालो ०७४को साउन २७ गते राति बस्ती पस्दा छोरी र श्रीमतीलाई बगाएर लग्यो । दुई दिनपछि श्रीमती सम्झनालाई पाटा बारीमा गाडिएको अवस्थामा गाउँलेसहित प्रहरीले फेला पारे । त्यसको दुई दिनपछि मात्र सड्न लागेको अवस्थामा छोरी सम्झना भेटिइन्– गहभरि आँशु पार्दै टेकबहादुरले आफ्नो दुःख सुनाए । सबैतिर जलमग्न थियो, छोरी र श्रीमतीलाई राख्ने ठाउँ पाइनँ । नजिकै अहिले कति डाँडो जमिन मुस्लिमको थियो तर राख्नै दिएनन् । दुखेसो पोख्दै उनले भने गन्हाउन लागेको श्रीमती र छोरीको शव कनकाई माईमा लगेर अन्त्येष्टि गरेँ । गाउँमा न दाउरा थियो न राख्ने जमिन नै । माईको भङ्गालो सुकेकै थिएन । बुट्टाबारीमा आफन्तकोमा पुगेर १३ दिनको कामपछि मात्रै यहाँ फर्किएको हुँ– टेकबहादुर भन्छन्– न यो ठाउँ छोड्न सकेँ न सन्तोकले बस्न सकेको छु ।

६० बर्षीय टेकबहादुर अहिले सोही ठाउँमा एक्लै बस्छन् । फुसको भत्किसकेको घर छ, त्यही घरमा उनी एक्लै बस्छन्, नजिकै सानो माईको भङ्गालो बग्छ । त्यही भङ्गालोमा गाई वस्तुलाई पानी खुवाउँदै दिनहुँ आफ्नो जस्तो विपत्ति अरुलाई नपरोस् भन्दै प्रार्थना गर्छन् । आफ्नो एक धुर जमिन नभए पनि श्रीमती र छोरीको सम्झनाले आफूले सो ठाउँ छाड्न नसकेको टेकबहादुर बताउँछन् । जेठी श्रीमती हर्कमाया ०५६ सालमा खसेपछि कान्छी ०६६मा ल्याएको थिएँ । उसले पनि छाडेर गई । उनलाई मात्रै दैवले लगेन, छोरीलाई समेत सँगै लग्यो । म भने माईको भङ्गालोमा हेलिएर बाँचे । राति साढे ११ हुँदो हो, गाईवस्तु कराए, झँल्यास्स व्युँझेछु । घरभरि पानी थियो– टेकबहादुरले भने– घरमै कम्मर–कम्मर पानी जमेको रहेछ । बाहिर निस्कन सक्ने अवस्था थिएन, पटा थियो धुरीमा चढ्न, यता–उता हेरेँ, पटा पनि खेतमै छाडेकाले धुरीमा चढ्न पाइनँ । धुरीमा चढेर भए पनि परिवारलाई बचाउन सकिन्छ भन्ने आशा थियो । तर, क्षणभरमै शोकमा डुबायो ।

अहिले पनि त्यही दिनको याद आउँछ, टेकबहादुरले भने– मुसलधारे बर्षासहित चट्याङ पर्दा त्यही दिन सम्झन्छु । अहिले त घाम डुब्न नपाउँदै छिमेकी देवेन्द्र राईको घरमा गएर सुत्छु । मन बुझाउन दिनभरि यही छाप्रोमा बस्ने गरेको छु । टेकबहादुरले आफ्नो दुःखेसो पोखे । हेर्ने कोही छैन । सबै मेरो कथा मात्रै सुन्छन्, गाविसले र केही संघ–संस्थाले केही सहयोग गरेका थिए । तर, अहिले बिरामी भएर छट्पटाउँदा समेत पानी खुवाउने मान्छे छैन । परिवारविहीन मलाई आश्रय छिमेकी राईले दिएका छन् । उनी दमक बस्छन्, घर रेखदेख गर्दिनु है भनेर गएकाले राति चाहिँ उनकोमा सुत्छु ।

अहिले पनि केही दिनअघि माईको भङ्गालो गाउँ पस्नै लागेको थियो, टप्पुको बाँध फुटाएर गाउँ छि¥या भए मेरो मात्र होइन, यहाँको बस्ती नै खोलाले बगाउँथ्यो टेकबहादुरले सुसेल्दै भने– मेरो मात्र होइन धेरैको माईखोलाले मेरै जस्तो नियति बनाइदिएको छ । तीन बाली पाक्यो अहिले तर मेरो मनमा लागेको चोट कहिल्यै मेटिएन् । कसैले वीऊ काढेको देखे सम्झनाको याद आउँछ । सम्झना छैनन् तर मनभरि सम्झना भएकाले यो ठाउँ छाड्न सकिनँ– टेकबहादुरले भने– मेरो मात्र होइन, ०७४को माईको भङ्गालो गाउँ पस्दा नौ जनालाई एकै रातमा निल्यो ।

टेकबहादुरका अन्य सन्तान नभएका भने होइनन्, जेठीपट्टिका चार छोरी र एक छोरा छन् । जेठी छोरीको छोरीको समेत सोही बर्ष चट्याङ लागेर मृत्यु भयो । त्यसपछि उनीहरुको परिवार समेत हेटौंडातिर बसाईँ स¥यो । अन्य तीन छोरीको समेत बिहे भएपछि उनी अहिले एक्लै छन् । छोरा दमकतिरै जनमजदुरी गर्छ । कहिलेकाहीँ यहाँ आउँछ तर ला बाबु खा भनेर दिने केही छैन, दुखेसो पोख्दै उनले भने– सरकारले गरीबका घर बनाइदिन्छ भनेको सुनेको छु तर मेरोमा न त सरकार आयो न सोध्न त्यसपछि कोही आए । आफ्नो दुःख आफैसँग छ । अहिले टेकबहादुर मजदुरी गरेर जीवन निर्वाह गरिरहेका छन् । छोरी र श्रीमतीको निधनपछि सरकारले उपलब्ध गराएको क्षतिपूर्तिको रकमले ५ कठ्ठा जमिन व्याज मरौनीमा लगाएका छन् । त्यहीँबाट उब्जिएको अन्नले गुजारा चलाउँछु– टेकबहादुरले भने– बाढी पस्यो भने धानको गेडो देख्न पाइँदैन । मजदुरी नगरी खान समस्या छ ।

टेकबहादुरको जस्तै समस्या झापा गाउँपालिका–३ र ७का धेरै परिवारमा छ । टप्पुवासीलाई अहिले चिन्ताको विषय माईको बाँध कटान भएपछिको हो । सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, स्थानीयवासी लगायतले कटान गरेको ठाउँमा बाँसका किला गाड्दै बोरा भर्ने काम गरे पनि उर्लदो माईको भेलले कुन बेला बगाउँछ भन्ने मनभरी पिर लिएर बस्छन् उनी । जनताको तटबन्धनले माईका विभिन्न ठाउँमा तटबन्ध गरे पनि सबैतिर तटबन्ध गर्न नसक्दा झापा गाउँपालिका बाढीको उच्च जोखिममा छ । माईले धार नै परिवर्तन गर्दै टप्पुमा बाँधेको बाँध भत्काउन थालेपछि अहिले टप्पुवासीले मात्र होइन झापाको दक्षिणी क्षेत्रका अधिकांश मानिस आकाश गड्याङगुडुङ गर्दा झस्कन्छन् ।

झापा गाउँपालिकाले विपद् व्यवस्थापनका लागि ५० लाख रुपैयाँ बजेट व्यवस्थापन गरे पनि त्यतिले मात्र नपुग्ने गाउँपालिकाकी उपाध्यक्ष कुन्तादेवी बुढाथोकी बताउँछिन् । उनी भन्छिन्– स्थानीय सरकारले माईको भेल थेग्न सक्ने अवस्था छैन । संघीय सरकारले बजेट विनियोजन नगर्ने र समयमै माईमा बाँध नबाँध्ने हो भने आधा झापा माईखोलाले बगरमा परिणत गर्छ । जनताको तटबन्धनलाई पटक–पटक आग्रह गर्दै भङ्गालो पस्ने अधिकांश स्थानमा तटबन्ध गर्न लगाए पनि सबैतिर तटबन्ध गर्न नसक्दा बर्षेनि बर्षाको समयमा झापावासी त्रासमा बस्नुपर्ने अवस्था छ । खोला गाउँ पस्दा जनको क्षति त छँदैछ, अर्बौ रुपैयाँको खेतीयोग्य जमिन र खेतीबाली बर्षेनि नष्ट हुने गरेको छ– बुढाथोकी भन्छिन्– प्रदेश र संघीय सरकारले झापा गाउँपालिकावासीको दुःख नसुन्ने हो भने स्थानीय सरकारले मात्र केही गर्न सक्ने अवस्था छैन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here