नेकपाको कलह, प्रश्रितको राजनीतिबाट सन्यास र युवा नेतृत्वको सबाल

२२ असार २०७७, सोमबार १०:४० मा प्रकाशित
  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

तीर्थराज खरेल,

Advertisement

नेपाली भाषा–साहित्यका मुर्धन्य हस्ती एवम् नेपाली वामपन्थी राजनीतिक क्षेत्रका अग्रज संगठक मोदनाथ प्रश्रित ६५ वर्षको उमेरपछि राजनीतिक क्षेत्रबाट विश्राम लिएर अध्ययन, चिन्तनमनन र लेखनमा व्यस्त छन् । प्रश्रित कला, साहित्य, संस्कृति क्षेत्रका ज्ञाता हुन् । उनी दर्शन, राजनीति र साहित्यका नेपालीहरुवीच उन्नत र उदात्त चिन्तक हुन् । लामो समय भूमिगत, अर्धभूमिगत र कठोर कारावास भुक्तान गरेका ७८ वर्षीय प्रश्रितले जीवनको उत्तरार्धमा राजनीतिक जीवनबाट सन्यास लिने कुरा नेपालका कम्युनिष्ट पार्टीका नेता र समग्रमा सबै पार्टीका उमेरले भोटो फटाएर मात्र र सिंहदरबारका भित्तामा पूर्व प्रधानमन्त्रीका तस्वीरका लहरमा फोटो झुण्ड्याएर मात्र जीवनमा मोक्ष प्राप्त हुन्छ भनेर सोच्नेका लागि सिक्न लायक कुरा छ । यो अनुकरणीय र अनुशरणीय छ नेताका लागि । सत्तारुढ नेकपा यतिबेला नेपाली जनताको कोभिड–१९ को महामारीबाट सृजित विषम अवस्थाका बारेमा छलफल गरिरहेको छैन, न नेपालको संविधान २०७२ ले दिशानिर्देश गरेको समाजवादउन्मुख अर्थतन्त्रको नेपाली खाका कोर्न नै चिन्तनमनन गरिरहेको छ ।

व्यक्तिगत कुण्ठा, लालसा, निराशा, महत्वाकांक्षा, अहम्, आग्रह, पूर्वाग्रहको घेरामा कैद भएको नेकपाभित्रको आजको बहस वैचारिक र दार्शनिक पृष्ठभूमिमा उभिएको लाग्दैन । पार्टीको माथिल्लो नेतृत्वको यो नाटक हेर्दा यस्तो लाग्छ– अझै पनि नेपालको समग्र सम्पदा र नेपालीको क्षमताको ख्याल राख्दै नेपालीलाई सुन्दर नेपाल निर्माण गर्न प्रशिक्षित गर्ने निस्वार्थ नेतृत्व कस्तो हुन्छ होला ? सबै प्रधानमन्त्रीहरु राजनेता होइनन् । भारतका महात्मा गान्धी, सुवासचन्द्र बोस, नेपालका पुष्पलाल, मदन भण्डारी, गणेशमान सिंह आदि केही उदाहरणहरु हुन् जो प्रधानमन्त्री वा राष्ट्रपति नभए पनि शीर्ष स्थानमा छन् । २०४६ सालका प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलनका मुख्य नेतृत्वकर्ता गणेशमान सिंह त प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेर प्रधानमन्त्रीको पदभन्दा माथिल्लो व्यक्तित्वको ओज र गरिमा राख्न सफल भएका थिए ।

नेपाल सरकारका प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी ओलीले पार्टीभित्रको खिचलोकै वीच आफ्ना समकक्षी र समवयी ६५ वर्ष कटेका नेताहरुलाई चुनौतीपूर्ण भाषामा सामूहिक सन्यास लिएर युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न सुझाएको विचार बाहिर आएको छ । नेपालको सन्दर्भमा १६ वर्षदेखि ४० वर्षसम्मका व्यक्तिहरुलाई युवा मानिएको छ, तर राज्यले युवाहरुको लागि ठोस नीति तथा कार्य योजना बनाउन सकेको छैन । देशमा पुरातनवादी सामन्ती सोच, अवैज्ञानिक शिक्षा प्राणालीका कारण नेपाली युवा वर्ग आफ्नो इच्छा शक्ति भए अनुसारको अवसर र सीप अनुसारको रोजगारी र त्यही अनुरुप पारिश्रमिक नपाउँदा बेरोजगार बनिरहेका छन् । राज्यले उत्पादनशील जनशक्तिलाई परिचालन गर्न सकेको छैन । आज देशको दुरावस्थाका कारण नेपाली युवा वर्गको भविष्य अन्धकारमय बनेको छ । परिवार, समाज र राष्ट्रकै राजनीतिक, आर्थिक, सामाजिक एवम् सांस्कृतिक रुपान्तरणको मात्र नभएर शोषण, दमन, अन्याय अत्याचार लगायतबाट ग्रसित समाजलाई अँध्यारोबाट उज्यालोतर्फ लैजानका लागि महत्वपूर्ण भूमिका र योगदान गर्न सक्ने युवा वर्गको भविष्य नै दोधारमा छ । दिन दुगुणा रात चौगुणाको दरले विदेशिने युवाको संख्या बढिरहेको छ । युवाको काँधमा राष्ट्रको जिम्मेवारी छ, तर त्यही जनशक्तिलाई रोजगारी नभई बेरोजगार बन्नु परेका कारण स्वदेशमा बस्न कठिनाइ छ । एक तथ्य अनुसार देशको कुल जनसंख्याको करिव ६९ प्रतिशत जनसंख्या वेरोजगारी, अर्धबेरोजगारीको स्थितिमा दिन ब्यतित गर्ने गरेका छन् । नेपालभित्र बढ्दै जाने श्रमशक्ति र विदेशबाट फर्कने लाखौं युवाका लागि आन्तरिक प्रबन्धको तयारी खासै नदेखिनु खेदपूर्ण छ । आन्तरिक बजारले प्रत्येक वर्ष ३० देखि ४० हजारभन्दा बढी युवा धान्न नसक्ने अवस्थामा वैदेशिक रोजगारीको सहज बाटो नहुने हो भने बेरोजगार, आर्थिक र नियमित शैक्षिक गतिविधिमा असंलग्न युवाको उग्र उपस्थिति सामाजिक अस्थिरताको प्रमुख कारण बन्न सक्छ र त्यसबाट मुलुक भयावह द्वन्द्वमा फँस्न सक्छ । पछिल्लो तथ्यांक अनुसार ५ लाख नेपालीहरु वर्षेनि वैदेशिक रोजगारमा जाने गरेका छन् । उनीहरु वैदेशिक रोजगारमा जाँदादेखिका दुःख र रोजगारका क्रममा भएका पीडाको वर्णनले त एउटा अर्को महाभारत नै बन्न सक्छ ।

आन्तरिक रोजगारीको बढोत्तरीको सम्भावना न्यून रुपमा मात्रै हुनु ज्यादै निराशाजनक कुरा हो । देशमा संघीयता, गणतन्त्र र लोकतन्त्रका लागि लड्ने वा रगत बगाउने, जनताहरुलाई सार्थक जीवन जीउने सिकाउने, छातीमा गोली वर्षदा हाँसीहाँसी छाती थाप्ने युवावर्गको सपना आज असरल्ल छ । धेरै युवाहरु अहिले आफ्नो प्यारो मातृभूमि छोडी बिदेशी भूमिमा सस्तो मोलमा आफ्नो सीप र जाँगरलाई बिक्री गरिरहेका छन् । संसारका सबै देशमध्ये नेपाल यस्तो देश हो, यहाँका ४० लाख भन्दा बढी युवावर्ग बेरोजगार भई रोजगारको लागि छिमेकी देश भारत र तेस्रो मुलुकमा जाने गरेका छन् । देशमा कृषि, पर्यटन, जलस्रोत, उद्योग, कलकारखाना जस्ता क्षेत्रहरुमा युवा शक्तिलाई परिचालन गर्न सकिएको छैन । युवावर्गका लागि राज्यसँग नीति तथा ठोस कार्यक्रम नहँुदा देश झन पछाडि धकेलिएको छ । संसारका सबै परिवर्तनमा युवा वर्गको ठुलो योगदान छ । मुलुकमा आर्थिक परिवर्तनका मुख्य संवाहक हुन सक्ने युवाहरु आज विदेसिन बाध्य छन् । हुन त मुलुकले केही रेमिट्यान्स पाएको होला, परिवारले सामान्य आधारभूूत आवश्यकता परिपूर्ति गर्नसम्म पाएका होलान् तर वैदेशिक रोजगारको उपलब्धीको तुलनामा त्यसको पीडा कति कहालीलाग्दो छ ।

धेरै नेपाली युवाका साझा समस्या भनेको बढ्दो बेरोजगारी, बेराजगारी सँगसँगै बढेको दुव्र्यसनीको लहर, बिग्रँदो स्वास्थ्य र असुरक्षित खाद्य समस्या, सामाजिक सञ्जाल वा साइबर अपराधमा संंलग्नता, राजनीतिक अस्थिरता कायम रहनु, मुलुकको राजनीति सुधारिन्छ भन्ने विश्वास नहुनु, नेतृत्व तहमा युवा संलग्नता कम, धेरै कम युवाले मात्र राजनीतिक या सामाजिक अभियन्ताको भूमिका पाउनु, युवा परिचालनमा योजनाविहीनता, युवामाथि कम विश्वास, मनोरञ्जन तथा खेलकुदमा राज्यको कम लगानी, व्यावहारिक शिक्षा र श्रमको सम्मान गर्ने संस्कारको विकासै नहुनु आदि हुन् । हाम्रा युवामाझ जति समस्या र चुनौती छन् त्यति नै सम्भावना पनि रहेका छन् । त्यसैले हतोत्साही हुनेभन्दा पनि काम गर्नुपर्ने समय आएको छ भन्ने राजनीतिक नेतृत्वले बुझ्नु आवश्यक छ । विकास निर्माणमा युवा परिचालन गर्ने उपयुक्त समय हो यो । लामो प्रयास र संघर्षपछि जनताले आफ्ना प्रतिनिधिमार्फत बनाएको संविधान पनि प्राप्त भइसकेकाले अबको राष्ट्रिय मुद्दा भनेको आर्थिक क्रान्ति नै हो । संविधानमा भएका अपुगहरुलाई संविधान संशोधन मार्फत सच्याउनुपर्छ र बढीभन्दा बढी जनताको स्वीकार्यता भएको संविधानले नै युवाको जीवनमा परिवर्तन ल्याउन सक्नेछ ।

देश विकासमा युवाको स्पष्ट भूमिका हुनुपर्छ । कला, साहित्य, संस्कृतिको प्रबद्र्धनमा युवाको अथाह भूमिका हुनसक्छ । द्वन्द्वको अवस्थाको अन्त्य भएर शान्तिपूर्ण राजनीतिक धरातलमा मुलुक आइसकेको छ । सत्ताकेन्द्रित हुन थालेको पछिल्लो राजनीतिक संस्कार बदलेर वा बदल्न खबरदारी गरेर सम्पूर्ण निकाय सामाजिक, आर्थिक विकासतर्फ उन्मुख हुने इतिहासकै सही समय आएको छ । युगको स्पन्दनलाई नसुन्ने हो भने मुलुक कहिल्यै पनि उँभो लाग्दैन । नेपालको विकासमा जल, जमिन, जङ्गल, जनावर, पर्यटनको जति भूमिका छ, त्यसको अपनत्व युवालाई दिलाएर युवा सक्रियता बढाउने सुनौलो अवसर छ । यस्ता पक्षमा ध्यान दिनसके दैनिक पलायन हुने युवाको संख्या क्रमशः घट्दै जानेछ । राष्ट्रप्रेमी, सदाचारी, अनुशासित र कर्मठ युवाको खोजी यो मुलुकले गरिरहेको छ तर नेपालमा पढे लेखेर पनि रोजगारी नपाइने, पाइहाले पनि सम्मानित नहुने, राज्यले सामाजिक सुरक्षाको प्रत्याभूति दिन सक्दैन भन्ने सोचमा रहेका युवा समूह स्वदेशी माटोमा नरमाउन सक्छन् । राजनीतिक अस्थिरता, व्यावहारिक र व्यावसायिक शिक्षाको अभाव, सम्मानित रोजगारीको अवसरको कमी नेपालका युवाले सबैभन्दा नरुचाइएका विषय हुन् । यी विषयवस्तु सबैभन्दा बढी प्रतिकुलता थप्ने विषय हुन् युवाका लागि । अवसर पनि यही देशभित्र प्रशस्तै छन् भन्ने कुरा सम्बन्धित पक्षले युवालाई बुझाउन नसकेको पनि यथार्थ हो । दुई प्रतिशत मात्रै नेपाली विदेशी भूमिमा अलिकति सम्मानित जीवन बिताउन सफल भएका छन् । बाँकी ठूलो हिस्साले त्यहाँ पनि जोखिम नै मोलिरहेको छ । त्यो मिहिनेत र श्रमदान नेपाली भूमिमा गर्ने हो भने यहाँ पनि सम्भावना छ ।

देश बदल्न सक्ने क्षमता युवासँगै छ भन्ने सच्चाइलाई राज्यले बुझेका दिनमा मात्र मुलुकले कोल्टे फेर्न शुरु गर्नेछ । राजनीतिक क्षेत्रमा पनि युवा नेतृत्व स्थापित हुने हो निश्चय नै मुलुकले काँचुली फेर्ने थियो । धेरै युरोपेली मुलुकहरुमा ५० वर्षमुनिका युवाहरु मुख्य नेतृत्वमा पुगेका छन् । सोच, चिन्तन, कार्यशैली, कार्यतत्परता र कार्यसम्पादनमै यो कुराले प्रत्यक्ष सकारात्मक प्रभाव पार्दछ । नेपालका प्रायःजसो बैंकहरुमा ४५ वर्षमुनिका युवाहरुले नै नेतृत्व गरिरहेका छन् र सफलतापूर्वक कार्यसम्पादन गरिरहेका छन् । हुन त सबै युवाको सोच युवाकै जस्तो हुन्छ भन्ने छैन । तर युवा पुस्ताले नेतृत्व गर्न पाउने हो भने मुलुकमा सोच, चिन्तन र कार्यशैलीमा व्यापक फेरबदल आउने निश्चित छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here