संयमित बन

0
820

सम्पादकीय

देशमा महामारी व्यापक भइरहेका बेला सत्तारुढ दलभित्र भने अन्तरविरोध, गुटबन्दी र विवाद उत्कर्षमा पुगेको छ । इतिहासमै प्रष्ट, स्थिर र दुईतिहाई सरकार बनाउने जनादेश पाएको नेपाल कम्युनिष्ट पार्टीभित्रको खिचलोले आम जनताको जीवन भने असुरक्षित र भयाक्रान्त बन्न पुगेको छ । कोरोना भाइरसले देशको अर्थतन्त्र लगायत सम्पूर्ण जीवन गति नै अवरुद्ध पारेका समय सरकार महामारीको रोकथाम, उपचार र नियन्त्रण गर्न अक्षम भइसकेको छ । झण्डै चार महिनासम्म बन्दाबन्दी गराएर पनि महामारी नियन्त्रणमा पर्याप्त तयारी र सक्रियता देखाउन नसकेको सरकार नेतृत्वकै कारण विवाद र अन्तरद्वन्द्वमा डुबेको विश्लेषकहरुले बताउँदै आएका छन् ।

प्रधानमन्त्री केपी ओलीले दलको निर्देशन पालना नगरेको, मनलागी चलेको, सहमतिको पालना नगरेको, एमसीसी सम्झौता, आर्थिक अनियमितता लगायतका विषय विवादमा छन् । महामारी रोकथाम, उपचार र नियन्त्रणका नाममा स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको भन्ने विषयमा प्रधानमन्त्री गम्भीर नभएको प्रतिपक्षी मात्र होइन सत्तारुढ दल कै नेताहरुको आरोप छ । सेक्युरिटी प्रेस खरिद प्रकरणमा तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटादेखि स्वास्थ्यमन्त्री भानुभक्त ढकालमाथि लागेको अनियमितताको आरोपको प्रधानमन्त्री आफैंले बचाउ गर्दै आएका थिए । यसले उनको नियतमाथि पनि प्रश्न उब्जाएको थियो ।

महामारी नियन्त्रण गर्न परीक्षण दर बढाउनुपर्छ भन्ने चिकित्सक, प्रतिपक्षी लगायत आम जनताको आवाज सरकारले अझै सुनेको छैन । जसका कारण कोरोना कहर ग्रामीण क्षेत्र लगायत उच्च जनघनत्व भएको राजधानीमा समेत व्यापकरुपमा फैलिरहेको छ । अझ शनिबार मात्रै राजधानी काठमाडौंका चारवटा ढलको नमूना परीक्षण गर्दा ढलमै भाइरस भएको पुष्टि भएको थियो । यसले काठमाडौं नै असुरक्षित रहेको मात्र होइन समुदायमा फैलिसकेको आशंका जन्माएको छ । अत्यन्त सुस्तगतिमा भइरहेको परीक्षणका बीच पनि संक्रमितहरुको संख्या पन्ध्र हजारभन्दा माथि पुगेको छ । क्वारेन्टिनमा बसेकाहरुको संख्या घट्दै गएको त छ, तर सबैको परीक्षण भइरहेको छैन । बिना परीक्षण घर गएका कतिपयमा संक्रमण पुष्टि भएका कारण पनि समुदाय भयातुर छ ।

कोरोना महामारी त्रासका बीच विकास भएको राजनीतिक घटनाक्रमले पनि तरंग उत्पन्न गरेको छ । छिन–छिनमा भइरहेको भेटघाट, अभिव्यक्ति, छलफल र बैठकले महामारीको त्रास सरकारको मन–मष्तिस्कबाट हटिसकेको आभाष भइरहेको छ । लकडाउन खुकुलो पारेसँगै आवागमन भीडभाडपूर्ण हुन थालेको छ । सभा, प्रदर्शनमा देखिने बाक्लो उपस्थितिले आममानिसको मनबाट पनि त्रास हराएको देखिन्छ । अझ सरकार कै पक्ष र समर्थनमा हुन थालेको सभा र प्रदर्शनले लकडाउन निस्क्रिय भएकै हो भन्ने भान भएको छ । पूजाआजा, मठमन्दिर, विवाह–व्रतबन्ध, भोजभतेर, होटल–रेष्टुरेण्ट, मल–चलचित्र घर सबै बन्द रहेका बेला र मापदण्ड अनुसार गर्न निर्देश दिने सरकारकै समर्थकहरु जुलुस र प्रदर्शनमा उत्रिँदा कोरोना कहर नभएर उत्सव हो कि ! भान हुनु अस्वभाविक पनि होइन । यहीबीच दिनहुँ पहिरोमा परेर कतिले ज्यान गुमाएका छन्, सयौं घर भत्किएका छन्, परिवार विस्थापित भएका छन् । यस्तो बेला सत्तारुढ दलभित्र सत्ताको लुछाचँुडी चर्किएको छ । दलभित्र छलफल नै नगरी प्रधानमन्त्री एकलौटी ढंगले निर्णय गर्दै हिँडेको भन्दै सत्तारुढ दलभित्रैबाट सरकारको आलोचना भइरहेको छ । यस्तो अवस्थाले पद्धति, र परिवर्तित व्यवस्थाप्रति नै वितृष्णा उत्पन्न गराउने निश्चित छ । त्यसकारण पनि देश र जनताको प्रतिनिधित्व गर्ने सरकार र त्यसको प्रमुखले संयमित व्यवहार देखाउनै पर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here