चेतना जगाउन प्रहरी कारवाही

२४ असार २०७७, बुधबार मा प्रकाशित

सम्पादकीय

संक्रमण बढ्दै गएपछि गृहमन्त्रालयले लकडाउनको मापदण्ड उल्लंघन गर्नेविरुद्ध कडा कारवाही गर्न निर्देशन दिएको छ । गृहको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले मातहतका इकाइहरुलाई निर्देशनको पालना गर्न आदेश दिएको छ । कोरोना भाइरसको संक्रमण तीव्र दरमा बिस्तार भइरहेपछि सुरक्षा सतर्कता बिनै हिँडडुल गर्नेहरुलाई मास्क लगाउन अनिवार्य गरिएको छ । प्रहरी कार्यालयहरुले मंगलबारदेखि नै सडक र चोकहरुमा चेकजाँच तीव्र गर्दै मास्क नलगाउनेहरुलाई ‘होल्ड’ तथा कारवाही गर्ने क्रम शुरु गरेको छ । नेपालमा दुईजना संक्रमित हुँदा शुरु गरेको लकडाउनको साढे तीन महिनाको अवधिमा संक्रमित संख्या झण्डै सोह्र हजार पुगेको छ । कुनै जिल्ला अब संक्रमणमुक्त छैनन् । तर, जनजीवनको गतिशीलता हेर्दा लाग्छ– कोरोना भाइरसको आतंक नियन्त्रण भइसकेको छ ।

लामो र निरन्तरको लकडाउनले देशको आर्थिक जीवन नै ठप्प भएपछि सरकारले केही खुकुलो बनाएको छ । उद्योग तथा व्यवसायमा सुरक्षा सावधानी अपनाएर सञ्चालन गर्ने अनुमति पनि दिएको छ । यही निहुँमा बिना काम हाट–बजार, चोक, सडक र शहरमा चहलपहल बढेसँगै लकडाउनको मापदण्ड उल्लंघन गर्ने क्रम बढ्यो । प्रहरीको सक्रियता कम हुनासाथ मानिस उन्मुक्त भएर हिँड्न थाले । न सामाजिक दूरी कायम गरियो न त सावधानी नै अपनाइयो । लाग्छ कि सरकारले जारी गरेको लकडाउन प्रहरीसँगै लुकेर, आँखा छलेर जे पनि गर्नु हो । यसका कारण कोरोना भाइरसको बिस्तार समुदायमा बिस्तार हुने क्रम शुरु भयो । अहिले पनि प्रहरीसँग लुकामारी खेल्नेक्रम रोकिएको छैन, प्रहरी आउँदा व्यवसाय बन्द गर्ने र गइसकेपछि खोल्ने गर्नाले कोरोना कहर अनियन्त्रित हुने जोखिम बढेको छ ।

अहिले क्वारेन्टिनमा रहनेहरुको संख्या घट्दोक्रममा छ । खासगरी भारतमा रहेका नेपालीहरु एकै समय फिर्ता हुँदा क्वारेन्टिन अस्तव्यस्त बन्न पुग्यो । कति बिना परीक्षण घर पुगे कति आरडीटीकै भरमा र कतिको परीक्षण बिनै मृत्यु भयो । यस्तो अवस्थाले भाइरस समुदायमा पुग्न सक्ने भन्दै चिन्ता व्यक्त गरियो, तर त्यसलाई नियमन गर्ने, व्यवस्थित र सुविधासम्पन्न पार्ने काम भएन । परिणाम यतिका दिन बितिसक्दा पनि कोरोना कहर निको नहुने घाऊ झैं भएको छ । एकातिर जीवनको जोखिम, अर्कोतिर जीवन चलाउन चुनौति भएको छ आमजनतालाई । तर, सरकारले परीक्षणको दर बढाउन नसक्दा अनिश्चित भविष्यको त्रास यथावत छ । यस्तोमा सारा शक्ति महामारीविरुद्ध केन्द्रीत गर्नुपर्ने सरकारलाई सत्ता जोगाउनै हम्मे–हम्मे परिरहेको छ ।

कोरोना कहरकै समय मानिसमा निराशा थपिएको छ । त्यसको परिणाम हुनसक्छ अमूल्य जीवन त्याग्नेक्रम बढेकोबढ्यै छ । आवेग, कुण्ठा र निराशाले मानिसलाई मनोरोगी बनाएको छ । कति परिवार पाल्न नसकेर, कति व्यवहार थाम्न नसकेर, कति ऋणको भार थेगी नसक्नु भएर र कतिले भावुकतावश आत्महत्या गरेका घटनाहरु पनि थपिएका छन् । सरकारले लकडाउन गरेको छ, तर यही समय सवारी दुर्घटनामा ज्यान गुमाउनेहरु पनि थपिँदा छन् । त्यहीकारण ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्न भन्दै सवारी चलाउँदा मोबाइल फोन प्रयोग गर्नेविरुद्ध कडा कारवाही गर्न थालेको छ । सवारी चलाउँदा फोन प्रयोग गर्नेहरुका कारण दुर्घटना चारगुणा बढी हुने सडक सुरक्षा विज्ञहरुको भनाइलाई समेत मध्यनजर गर्दै ट्राफिक प्रहरीले यस्तो कारवाही थालेको हो । यी सबैको सार नै जनताको लापरवाहीले घटनाहरु बढ्नेक्रममा छन् । त्यसैले कोरोना कहरबाट होस् वा अनपेक्षित दुर्घटनाको शिकार बन्नबाट जोगिन आत्मचेतना जाग्रत हुन जरुरी छ । जीवनभन्दा मूल्यवान वस्तु अरु केही छैन । त्यसैले प्रत्येक मानिस स्वयम् सचेत हुनुुपर्छ । यसले मात्र सम्भावित घटना–दुर्घटनाबाट सुरक्षित गर्न सक्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here