पूर्ण खोप सुनिश्चित गर्ने शिवसताक्षी नगरपालिका जिल्लामै पहिलो

२४ असार २०७७, बुधबार मा प्रकाशित

झिलझिले,

झापाको शिवसताक्षी नगरपालिका पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा भएको छ । बुधबार नगरको सभाहलमा आयोजित एक समारोहका बिच शिवसताक्षी नगरपालिका पूर्ण खोप सुनिश्चीत नगरपालिका घोषणा गरिएको हो । ०७३ असार २५ गते झापालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो । यो बर्ष पुर्ण खोप सुनिश्चीत नगरपालिका घोषणा गर्ने जिल्लामा शिवसताक्षी नगरपालिका पहिलो हो ।

१६ देखि २३ महिनाका सम्पूर्ण बालबालिकाको सर्वेक्षण गर्दा राष्ट्रिय खोप तालिका अनुसार ११ प्रकारका रोग विरुद्धका खोप ९ सय ५४ जना बालबालिकाले प्राप्त गरेका थिए । ती बालबालिका मध्ये ८ सय ८७ जनाले समयैमा खोप पाएका थिए । बाँकी ७१ जनालाई असार ११ देखी १६ सम्म खोप लगाएर सुन्य मा झारिएको स्वास्थ्य शाखाका संयोजक हरि बिमलीले बताए ।

पछिल्लो पटक खोप लगाइएका मध्ये अधिकांश खोप केन्द्र सम्म पुग्न नसकेका रहेको बताइएको छ । खोप लगाउने दिन बिरामी परेका, मामा घर गएका बालबालिका मात्र समयमै खोप लगाउन छुटेका थिए । नगर प्रमुख चन्द्रकुमार शेर्माले नगरमा एक जना पनि बालबालिका खोप लगाउन छुटे त्यसको दोष स्वास्थ्यकर्मीलाई जाने बताए । उनले भने,‘राम्रो गरे पनि नराम्रो गरेपनि जस÷अपजस स्वास्थ्यकर्मीलाई नै जाने हो ।’

कोरोना (कोभिड १९)को जोखिमका बेला पनि शिवसताक्षी नगरपालिका चालु आ.व.मा झापामा पहिलो पटक पूर्ण खोप सुनिश्चितता घोषणा भएकोमा नगरका स्वास्थ्यकर्मीलाई नगर प्रमुख शेर्माले लगनसिलताको परिणाम भएको बताए । उनले भने,‘नगरका स्वास्थ्यकर्मीको लगनशिलता र मेहनतले पालिकामा कोरोना पोजेटिभ देखिएकाका पछिल्लो रिपोर्ट नेगेटिभ आएको हो ।’ प्रधानमन्त्रीले भनेको बेसार र तातोपानिको नियमित सेवनले शिवसताक्षीका संक्रमितले कोरोना जितेको उनले दावि गरे ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका स्वास्थ्य अधिकृत ईश्वरी पौडेलले सबै प्रकारका रोगको निर्मुल गर्न बालबालिकालाई खोप अनिवार्य भएको बताए । उनले शिवसताक्षी नगरमा एक जना पनि खोप लगाउन बाँकी बालबालिका नभएकोले पूर्ण खोप सुनिश्चीत नगरपालिका घोषणा गरिएको बताए ।

कार्यक्रम नगरप्रमुख चन्द्रकुमार शेर्माको अध्यक्षतामा भएको हो । पूर्णखोप सुनिश्चित घोषणा कार्यक्रममा उपप्रमुख भोजकुमारी नेपाल, वडा अध्यक्ष नविन ईजम, केहरसिंह बस्नेत, सुवास राई, सत्य नारायण राजबंशी, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई, लेखा अधिकृत प्रकाश योङहाङ लगायत, नगरका स्वास्थ्य स्वयमसेविका र स्वास्थ्यकर्मीको सहभागिता थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here