अब पाथीभरा मन्दिर जान सहज

२५ असार २०७७, बिहीबार मा प्रकाशित

ताप्लेजुङ।

ताप्लेजुङको प्रसिद्ध धर्मिक स्थल पाथीभरा मन्दिर जान अब सहज हुने भएको छ । मन्दिरको मुख्य प्रवेशद्वारबाट मन्दिरसम्म करिब एक सय ७५ मिटर लामो पदमार्गमा ट्रष्ट लगाइएपछि हिउँ र पानीको प्रभाव अन्त्य हुनुका साथै मन्दिर जान सहज भएको हो ।

लकडाउनका कारण तीर्थालुको चाप नभएको अवस्थामा पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा पदमार्गमा ट्रष्ट निर्माण गरेको हो । उपभोक्ता समिति मार्फत बनेका संरचनाको निर्माण कार्य लगभग पूरा भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिए । पाथीभरा मन्दिरको मुख्य प्रवेशद्वारबाट शुरु भएको ट्रष्ट मन्दिर प्रवेशको अन्तिम द्वारसम्म पुगेको छ । यो संरचना बनेपछि पानी र हिउँका कारण तीर्थालुले बिगतमा खेप्दै आएको समस्या हट्ने भएको छ ।

तीर्थालुको चाप बढी भएको दिन मन्दिर प्रबेशको मुख्यद्वार क्षेत्रबाटै तीर्थालुहरू दर्शनका क्रममा लाइन लाग्ने गर्छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक काफ्लेका अनुसार समितिको समन्वयमा पाथीभरा क्षेत्रमा चालू आर्थिक वर्षमा ट्रष्टसहितका पाँच वटा संरचना निर्माण भएका छन् । मन्दिर प्रवेशद्वारभन्दा उत्तरपश्चिमतर्फ तीर्थालु बस्ने घर बनेको छ । फोहोर व्यवस्थापनमा कठिनाई भइरहेको अवस्था अन्त्य गर्न उपयुक्त प्रविधिसहितको फोहोर बिर्सजन केन्द्र बनाइएको छ ।

हिउँ र पानीको अधिक प्रभावका कारण फोहोरमैलाको उपयुक्त बिर्सजनमा देखिएको समस्या हाल गर्न माथिबाट चिसो फोहोर सुकाउने र तल डढाउन मिल्ने गरीको संरचना बनाइएको छ । ठाडै उकालो पदमार्गका कारण तीर्थालुलाई पदयात्राका क्रममा हुने कठिनाइलाई क्रमशः हल गर्ने उद्देश्यले पाथीभरा क्षेत्रको माथिल्लो फेदीदेखि माथिका अधिक उकालो भागलाई केही तेर्सो र सहज बनाईएको छ । माथिल्लो फेदीभन्दा केही तल गुराँसे क्षेत्र र सो भन्दा तलका उपभोक्तालाई खानेपानी उपभोग हुन सहज हुने गरी पानी ट्यांकी बनाइएको छ ।

पाथीभरा क्षेत्रमा जनस्तरबाट गठित पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिले बिगत लामो समयदेखि भौतिक पूर्वाधार तथा मन्दिर क्षेत्र व्यवस्थापन सहितका कार्य गर्दै आईरहेको छ । पाथीभरा क्षेत्रको भेटीपाति व्यवस्थापनका लागि दुबै समितिका प्रतिनिधित्व हुनेगरी जिल्ला समन्वय समितिका प्रमुख घनेन्द्र मादेनको संयोजकत्वमा भेटिपाति व्यवस्थापन समिति रहेको छ । यो समितिको कोष खर्च गरी सडक तथा पदमार्ग व्यवस्थापनसहितका समेत भइरहेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here