७७ करोड बिगो दाबीसहित मुद्दा

२६ असार २०७७, शुक्रबार मा प्रकाशित

झापा।

भन्सार चोरी पैठारी, झुठा तथा नक्कली मूल्य अभिवृद्धिकर विजक प्रयोग गरी राजश्व चुहावट गरेको अभियोगमा विभिन्न व्यक्ति तथा कम्पनीविरुद्ध रु. ७७ करोड चार लाख बिगो कायम गरी उच्च अदालतमा मुद्दा दायर गरिएको छ ।

उनीहरुबिरुद्ध बिगो असुल गरी सोहीबराबरको जरिवाना र कैद सजायको माग दाबीसहित राजश्व अनुसन्धान विभागले बुधबार उच्च अदालत पाटनमा मुद्दा चलाएको हो ।

झुठा तथा नक्कली मूल्य अभिवृद्धिकर बिजक प्रयोग गरी राजश्व छली गर्ने न्यूकोइराला ब्रदर्श इन्टरप्राइजेजलाई रु. एक करोड ७० लाख १९ हजार बिगो कायम गरी उक्त बिगो असुलउपर गरी गराई जरिवाना र कैदको माग दाबीसहित बुधबार मुद्दा चलाइएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।

यस्तै काठमाडौँ महानगरपालिका महाबौद्धमा ठेगाना राखी कारोवार गर्ने समर ट्रेडर्सले पनि राजश्व चुहावट गरेको भेटिएको छ । राजश्व छली गरेको अभियोगमा रु. चार करोड ५८ लाख बिगो असुलउपर गरी जरिवाना एवम् कैद सजायको माग दाबी लिई मुद्दा दर्ता गरिएको छ ।

विदेशबाट मोबाइललगायत इलेक्ट्रोनिक्स सामान चोरीपैठारी गरी राजश्व चुहावट गरेको कसुरमा काठमाडौँको टोखास्थित ग्राण्डी अपार्टमेन्टमा बस्ने मयुर मालाकारसमेत दुई जनाबिरुद्ध रु. ४३ करोड १८ लाख बिगो कायम गरी जरिवाना र कैद सजायको मागदाबी लिई उच्च अदालत पाटनमा मुद्दा चलाइएको मैनालीले बताए ।

यस्तै झुठा तथा नक्कली मूल्य अभिवृद्धिकरको बिजक प्रयोग गरी राजश्व छली गर्ने काठमाडौँ महानगरपालिका–४मा रहेको जिमी ग्रुप प्रालिले राजश्व चुहावट गरेको अभियोगमा रु. १८ करोड बिगो बराबरको राजश्व छलेको पाइएको छ ।

ललितपुर महानगरपालिका–३स्थित न्यूक्रियसन इम्पेक्स प्रालि, बङ्गलामुखी ट्रेड एण्ड सप्लाई र काठमाडौँ महानगरपालिका २८स्थित बिएस ट्रेड इन्टरनेशनलले नौ करोड बिगो बराबरको राजश्व चुहावट गरेको अभियोग छ ।

उक्त कम्पनीविरुद्ध जरिवाना एवम् कैद सजायको मागदाबी लिई उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here