पीसीआर प्रयोगशालाका लागि वीरता लेडी जेसीजकोे २१ हजार

२६ असार २०७७, शुक्रबार मा प्रकाशित

तुलसीप्रसाद निरौला

विर्तामोड ,  सहारा नेपालसहित २८ वटा विभिन्न सामाजिक संघ–संस्थाको सहभागितामा शुरु गरिएको एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट झापाको कोटीहोमस्थित समर्पण राष्ट्रिय भवनमा स्थापना हुन लागेको कोरोना भाइरस परीक्षण गर्ने पीसीआर परीक्षण प्रयोगशालाका लागि वीरता लेडी जेसीजले २१ हजार रुपैयाँ प्रदान गरेको छ ।

विर्तामोडमा आयोजित कार्यक्रममा वीरता लेडी जेसीजकी अध्यक्ष सुस्मा पौडेल ,निवर्तमान अध्यक्ष सरु भूर्तेल खनाल , उपाध्यक्ष , संगीता कट्टेल , झुमा चुडाल महासचिव संगीता गिरी लगायतले एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरी र सहसंयोजक विनोद बस्नेतलाई उक्त रकम प्रदान गरेका थिए ।

झापामा कोरोना संक्रमितको संख्या बढीरहेको अवस्थामा ‘एकका लागि एक’ अभियानको अगुवाईमा जनस्तरवाट झापामै कोरोना भाइरस परीक्षण गर्ने पीसीआर परीक्षण प्रयोगशालाका स्थापना हुनु झापावासीकै लागी गौरवको विषय भएकाले मानवताको सेवा नै जीवनको सर्वोच्च कार्य हो भन्ने जेसीज आस्थाको अनुशरण गर्दै सामाजिक उत्तरदायित्व अन्तरगत उक्त रकम प्रदान गरिएको वीरता लेडी जेसीजकी अध्यक्ष सुस्मा पौडेलले बताइन् ।

बिर्तामोड क्षेत्रमा रहेका विपन्न परिवारलाई खाद्यन्न तथा अत्यावश्यक सामग्री खरिदको लागि बिर्तामोड नगरपालिकाले स्थापना गरेको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा समेत वीरता लेडी जेसीजले आर्थिक सहयोग गरेको उनले बताइन् ।

त्यसैगरी कोरोना संक्रमण रोकथाम गर्न वीरता लेडी जेसीजले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै माक्स ,स्यानीटाइजर लगायतका स्वास्थ्य सामग्री समेत वितरण गरेको उनले जानकारी दिइन् ।

कार्यक्रममा एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरीले वीरता लेडी जेसीजले गरेको सहयोगको सराहना गर्दै पीसीआर परीक्षण प्रयोगशाला स्थापनाका लागि सहयोग गर्न सबैलाई आग्रह गरे ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here