डाडु र पन्यूँको लाप्पा

0
1220

कथा (व्यङ्ग्य)

भुवन तामाङ,

‘अइ पन्यूँ ! किन तरकारी चलाउन आइस् कराहीमा ? जा उता भात चलाउन’ भनेर डाडुले पन्यूँलाई ठाडै हप्कायो । भन्यो, ‘तरकारी चलाउने काम मेरो मात्र हो बुझिस् । अर्काको काममा हस्तक्षेप गर्ने होइन है मैले भन्द्या छु ।’

अर्र्को दिन, ‘अइ डाडु ! किन भात पस्कन आइस् प्रेसर कुुकरमा ? जा उता तिहुन चलाउन’ भनेर पन्यूँले डाडुलाई पनि ठाडै हप्कायो । भन्यो, ‘भात पस्कने काम मेरो मात्र हो क्या बुझिस् । अर्काको काममा दख्खल दिने होइन है मैले पनि भन्द्या छु ।’

डाडु पनि के कम ? भन्यो, ‘आजभोलिका चामलको भातको चैली पर्दैन रछ त्यै भर म डाडुले भात पस्कनु परेको छ । गिलो भात पनि मैले नै पस्कुन परेको छ । चैली नपरेको बुरुरु परेको र गिलो भात तँ पन्यूँलाई नपोखिकन पस्कन नै आउदैन रछ । त्यै भर मेरो काम बढेको छ । कुरा बुझ्नु छैन उल्टै कराइरहन्छ बाँसघारीको रुप्पी जस्तो ।’

यत्तिकैमा पन्यूँले भन्यो, ‘अनि तँ डाडुले तरकारी उघाउँदा चाहिँ तल्र्याङ्ग र तुर्लुङ्ग पारिबस्छस् अनि मैले नै सपक्क पारेर तरकारी उघाउनु परेको छ । दाल र झोल त उघाको छुइन नि हौ । आफ्नो काम राम्रोसँग गर्नु छैन अर्कालाई दोष लगाएर हुन्छ कहीँ नभाको तँ चोथाले डाडु ।’

‘चोथाले सोथाले नभन् है पन्यूँ मलाई । भान्छामा पनिर, मासु र माछाको तरकारी पकाउनै हुँदैन तँ पन्यूँ लुसुक्क चलाउन आइपुगि हाल्छस् । मीठो मीठो पकाउनै हुन्न तँ पन्यूँ तरकारी चलाउन मुन्टिहाल्छस् । पनिर, मासु र माछाको तरकारी पकाएपनि त्यो चलाउने, उघाउने, पस्कने काम पनि मेरै हो बुझिस् । तँ पन्यूँ बाठो भएर पनिर, मासु र माछा चलाउन नआइज नि अबदेखि ।’

पहिला पहिला त डाडु र पन्यूँ मिलेरै काम गर्दथे । हरेक घरको भान्छामा युगौँदेखि मेलमिलापका साथ भात तिहुन पकाउने, चलाउने, उघाउने र पस्कने गर्दथे । मानौ उनीहरु लोग्ने र स्वास्नी हुन् । उनीहरु आकाश र धर्ती हुन् । घाम र जुन हुन् या मानौ उनीहरु हावा र पानी हुन् । एक अर्काका अभिन्न साथी हुन् । मानौ उनीहरु मानव सभ्यातासँगसँगै एकअर्का सँगै जन्मेका हुन् या आविष्कार भएका हुन् । उनीहरु एक बिना, अर्कोको अस्तित्व नहुने तत्व हुन् तर अब डाडु र पन्यूँको सम्बन्धमा दरार पैदा हुन थालेछ ।

हिजोसम्मको मानव जीवनशैलीमा डाडु र पन्यूँको सेवा अपरिहार्य रहेको थियो । हरेक घरको भान्छाका भित्तामा साना, ठूला किसिम किसिमका डाडु र पन्यूँ झुन्डिन्थे । सिलभरका, पित्तलका, तावाँका, स्टीलका र आदिका परिपरिका डाडु र पन्यूँ हरेक घरको भान्छाको गहना भएर सजिन्थे । मिलेर काम गर्थे । डाडु र पन्यूँ दुबै भात तिहुन पस्कने काम मिलेरै गर्दथे । सायदै पन्यूँले तिहुन उघाउँथ्यो । सायदै डाडुले भात उघाउँथ्यो । पन्यूँको काम भात पस्कने मात्र हुन्थ्यो भने डाडुको काम तिहुन उघाउने मात्र हुन्थ्यो तर कसरी आजभोलि एकले अर्काको काममा हस्तक्षेप गर्न थाले ? अचम्मै छ । परिणामस्वरुप डाडु र पन्यूँको घमासान लाप्पा पर्न थालेको छ ।

एकदिन भान्छामा पहाडबाट स्कुसको जरा आइपुग्यो । स्कुसको जराको तरकारी निक्कै मीठो हुन्छ । स्कुसका जराका चानाहरु मरमसला हालेर तोरीको असली तेलमा परपरी भुटेसि कम्ति स्वादिलो र मीठो हुन्न । भान्छामा तरकारी पकाउने क्रममा पहिला त कराहीमा डाडुले नै स्कुसको जराको तरकारी चलाई रहेको थियो । तर, एक्कासी पन्यूँ स्कुसको तरकारी चलाउन कराहीमा पस्छ । पन्यूँको जबर्जस्ति देखेर डाडुलाई रिस् उठेर आउँछ र भन्छ, ‘भन्दै छु कि मेरो काममा हस्तक्षेप नगर् भनेर ।’ डाडुको कुरामा पन्यूँ भन्छ, ‘आउँछु त के गर्छस् ? तँ डाडुलाई स्कुसको चानाहरु राम्ररी चलाउन, पल्टाउन नआएपछि अनि मैले चलाउनु र पल्टाउनु परेन त ?’

केहीगरि पन्यूँ कराहीमा तरकारी चलाउन र उघाउन आएछ भने म त्यसलाई दह्रोसँग ठटाइदिन्छु भनेर डाडु मौका हेरिबसेको थियो । नभन्दै पन्यूँ त कराहीमा स्कुसको तरकारी चलाउन, उघाउन आइ त हाल्यो । कति भन्दा नि पन्यूँले तरकारी चलाउन छाडेन । पन्यूँले डाडुको काममा हस्तक्षेप गरिरह्यो । अति भएपछि विजुली चम्केको चालमा डाडुले पन्यूँको बीच्च ढाडैमा कस्सेर ठ्याङ्गै पारेर हानिहाल्यो । डाडुले पन्यूँलाई थुप्रैपल्ट ठटायो । पन्यूँ त डाडुको कुटाइ खाएर बेहोशै भयो ।

पन्यूँ पनि के कम ? केहीगरि डाडु भात पस्कन भनेर प्रेसर कुकुरमा पस्यो भने म पनि त्यसलाई त्यसरी नै ठटाउँछु कि त्यसको सातपुस्तासम्मले सम्झिने छ भन्दै मौका पर्खेर बस्यो । नभन्दै एकदिन डाडु त लुसक्कै बासमाती चामलको सिता छुट्टिएका बुरुरु परेको भात पस्कन भनेर प्रेसर कुकरमा पसि त हाल्यो । अति भएपछि मौका पर्खेर बसेको पन्यूँको पालो पनि न्वारनदेखिको बल लगाएर जम्माएर डाडुको ढाडैमा ठ्याङ्ग ठ्याङ्गी हानिहाल्यो । बिचरा डाडु त खत्रुक्कै परिहाल्यो । डाडुको थोपडा नै बिग्रियो ।

युगौँदेखि मिलेर काम गर्दै आएका डाडु र पन्यूँ एकअर्काका महासत्रु कसरी भए ? अचम्मै छ । एक्काइसौँ शताब्दीको आधुनिक, शिक्षित र सभ्य युगमा डाडु र पन्यूँ चाहिँ कसरी असभ्य भए ? एकले अर्काको अस्तित्व नै मेटाइदिने बिजिनेशमा कसरी लागे ? अहम प्रश्न पो तेर्सियो त ।

डाडु र पन्यूँ एकापसमा लाप्पा खेलेपछि, डाडु चाहिँ पन्यूँ जस्तो भएछ । पन्यूँ चाहिँ डाडुजस्तो भएछ । डाडुले पन्यूँको बीच्च भागमा ठटाउँदा पन्यूँ कोप्रिएर डाडुको रुप लिएछ । त्यस्तैगरि पन्यूँले डाडुको ढाडमा हान्दा डाडुको ढाडको उठेको भाग सिधा हुँदा डाडुले चाहिँ पन्यूँको रुप लिएछ । समाउने डण्डाहरु, एउटाको चाहिँ धामीको ढ्याङ्ग्रो ठटाउने गजो जस्तो भएछ । अर्कोको डण्डा चाहिँ बाँदरको पुच्छुर जस्तो भएछ । दुबै अब काम नलाग्ने भएछन् । दुबैले आआफ्नो मौलिकपन गुमाएछन् । र, एकदिन ती डाडु र पन्यूँ दुबै कवाडी खोज्न आउनेसँग दालमोठसँग साटिएछन् । कवाडीको उरुङ चाङमा निस्सासिदै कुरुप डाडु र पन्यूँ कुनै लरीमा एकदिन सिमाना कटेछन् ।

डाडु र पन्यूँको लाप्पालाई आजैभोलीको सन्दर्भसँग दाँजेर हर्नु निकै सान्दर्भिक र रोचक हुन्छ । कोरोना भाइरस रोग लागेर संसारका सबैजसो देश हदैसम्म पीडित बनेका छन् । तर जुन देश संसारकै डाडु र पन्यूँको भूमिकामा छन् उनीहरु उक्त डाडु र पन्यूँ जस्तै लाप्पा खेलिरहेका छन् ।

संसारकै आर्थिक महाशक्ति देशहरु अमेरीका र चीन लाप्पा खेलिरहेका छन् । उनीहरु आआफ्ना उत्कृृष्ट भूमिका बिर्सेर बचनको लाप्पा खेलिरहेका छन् । आआफ्नो परिपक्वपन र मौलिकपन गुमाइरहेका छन् । संसारलाई के पस्कने ? कतिसम्म मीठा मीठा कुरा पस्कने ? उनीहरुकै हातमा छ । तर, उनीहरु नै एकले अर्काको काममा हस्तक्षेप गर्न थालेकाले घमासान लाप्पा पर्दैछ । एशीया महादेशमा हेर्ने हो भने चीन र भारत सीमानाको निहुमा लाप्पा खेलिरहेका छन् । आआफ्ना उत्कृष्ट भूमिका बिर्सिरहेका छन् । एशीयामा के राम्रा कुरा पस्कने ? भन्ने भूमिकामा उनीहरु नै डाडु र पन्यूँको भूमिकामा छन् । उनीहरु नै उक्त डाडु र पन्यूँ जस्तै लाप्पा खेलिबसेपछि अरुले के आशा गर्ने ? मीठा खानेकुराहरु पोखिएरै खेर जाने भए ।

नेपालभित्र हेर्ने हो भने, सत्ता र कुर्सीको खेलमा एउटै राजनीतिक पार्टीभित्रका डाडु र पन्यूँ रुपी राजनेताहरु लाप्पा खेलिरहेका छन् । एकले अर्काको काममा दख्खल दिइरहेका छन् । डाडुलाई पन्यूँ हुन मन छ । पन्यूँलाई डाडु हुन मन छ । कुन दिन डाडु रुपी नेताले पन्यूँ रुपी नेतालाई ठटाएर डाडु बनाइदिने हुन् ? र पन्यूँ रुपी नेताले डाडु रुपी नेतालाई ठटाएर पन्यूँ बनाइदिने हुन् ? थाहा छैन । अनि कुन चाहिँ नेताको समाउने कुरो धामीको ढ्याङ्ग्रो ठटाउने गजो जस्तो हुने हो र कुन चाहिँ नेताको समाउने कुरो बाँदरको पुच्छर जस्तो हुने हो ? थाहा छैन ।

मौलिकता गुमाएका कुरुप डाडु र पन्यूँ दालमोठसँग साटिएजस्तै मौलिकता गुमाएका कुरुप, विकृत नेताहरु पनि कतै दालमोठसँग साटिने त होइनन् ? गतिविधि र चाला हेर्दा त त्यस्तै देखिँदै छैन त ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here