महिला कानुन व्यवसायीहरुको राष्ट्रिय सम्मेलन झापामा

0
313

विर्तामोड,भदौं १५ । महिला कानुन व्यवसायीहरुको २२ औं राष्ट्रिय सम्मेलन झापामा हुने भएको छ । कानुन व्यवसायीहरुको राष्ट्रिय सम्मेलन, अन्य कार्यक्रम मोफसलमा भए पनि महिला कानुन व्यवसायीको राष्ट्रिय सम्मेलन झापामा पहिलो पटक हुन लागेको हो ।
नेपाल बार एशोसिएशन झापा जिल्ला अदालत इकाई झापाले पत्रकार सम्मेलन गर्दै सम्मेलनको बारेमा जानकारी गराएको हो । झापा जिल्ला बारको आतिथ्यतामा ‘कानून व्यवसायी महिलाहरुको आव्हान सहभागितामूलक संविधान’ भन्ने नारासहित २२औं राष्ट्रिय सम्मेलन हुन लागेको हो । झापाको विर्तामोडमा २९ र ३० गते हुने सम्मेलनमा देशभरबाट चार सय कानून व्यवसायीको उपस्थिति रहने नेपाल बार एशोसिएशन झापाका अध्यक्ष अमृतबहादुर बुढाथोकीले बताए ।
राष्ट्रिय सम्मेलनबाट बिगतमा जारी भएका घोषणा–पत्रको कार्यान्वयनका बारेमा छलफल हुने झापा जिल्ला घोषणा–पत्र जारी गर्ने, महिला हिंसाको उपयुक्त उपचारका बारेमा वृहत छलफल हुने बताइएको छ । नेपाल बारको आयोजनामा हुने सो अधिवेशनले आसन्न निर्वाचनमा सल्लाह सुझाव तयार गर्नेसमेत पत्रकार सम्मेलनमा बताइएको छ । कार्यक्रममा वरिष्ठ न्यायधिवक्ता लीला उदासीले महिलाहरु कानुनी पेसामा लाग्न चुतौती भएकाले महिलाको कमी भएको बताए ।
सम्मेलनमा झापा बारका पूर्व अध्यक्ष टंक उप्रेती, पूर्व केन्द्रीय उपाध्यक्ष किशोर पोखरेल, केन्द्रीय उपाध्यक्ष जनक पाण्डे, वरिष्ठ न्यायधिवक्ता लीला उदासी, बारका झापा अध्यक्ष अमृतबहादुर बुढाथोकीको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न झापामा रहेका राजनीतिक दल, पत्रकार, शिक्षक, प्राध्यापक, चिकित्सक, उद्योगपति, व्यापारीलगायत सबैलाई सहयोग गर्न अनुरोध समेत गरेको छ ।