साथी

२७ असार २०७७, शनिबार मा प्रकाशित

दिपेन्द्र राउत,

हामी जन्मदा एक्लै जन्मन्छौं । जन्मेपश्चात समय सँगै हाम्रो शारीरिक विकास र मानसिक विकास हुँदै जान्छ । हामी जन्मिँदा नै केही सम्बन्धहरु हामीसँगै जन्मिएका हुन्छन् । तर, हामी हुर्किदै जाँदा केही सम्बन्धहरु बनाउँदै गइन्छ । मानसिक विकास सँगै हाम्रो सोचको पनि विकास हँुदै जान्छ । जब हाम्रो मानसिक बिकास हुँदै जान्छ हामी एक्लैभन्दा साथीभाइ खोज्न थाल्छौं । साथीभाइसँग रमाउन चाहन्छांै । भनिन्छ भेडा भेडासँग, बाख्रा बाख्रासँग भने झैं एउटा बालक ले अर्कौ बालक नै साथी खोज्छ ।

आ–आफ्नो उमेर समूह अनुसार साथी बनाउने मानवको सोच हुन्छ । दुई वर्षको छोरालाई स्कुल लिएर जाँदा बाटोमा छोराले मेरो फलना साथीको घर, मेरो फलना साथी भन्दै देखाउँदै जाँदा म सोच्ने गर्छु, मलाई त आज साथीभाइको महत्व छ । तर, यो दुई वर्षको छोरोलाई केको साथीभाइ भन्ने लाग्छ । तर छोराले पनि साथी–साथी भनिरहन्छ राम्ररी बोल्न पनि जान्दैन, तर साथी–साथी भन्दछ । यसो सोच्छु आखिर साथीको महत्व हामीलाई मात्र होइन बाल्यकालदेखि नै हुने रहेछ अनि त दुई वर्षको छोराले साथी–साथी भन्छ ।

जन्मपछि बनाइएका सम्बन्धहरुले जीवनमा रस भरिदिने गर्छ । जुन सम्बन्धलाई हामी साथी या मित्रता भन्छौं । साथी भन्ने सम्बन्ध हँुदैनथ्यो भने साँच्चै नै जीवन कति उराठ हुन्थ्यो होला ! साथीसँगको सम्बन्ध कस्तो होला है ! अनि किन चाहिन्छ साथी ! आज यसै विषयमा चर्चा गर्न मन लाग्यो ।

साथी बनाउन कसैले सिकाउनु पर्दैन । बाल्यकालदेखि नै साथी बनाउने गरिन्छ । साथीको सम्बन्ध यस्तो सम्बन्ध हो जो नभए पनि चल्छ, तर जो नभई पनि हुन्न । यो सम्बन्ध नै गज्जब हुन्छ । जीवनमा हामीले कति साथी कुन–कुन क्षणमा बनायांै होला एकपटक सोचौं त ! अनि हाम्रा साथी कति छन् सम्झौं त ! वास्तवमा हामीले साथी धेरै नै बनायौं होला, जीवनमा बनाउन सजिलो सम्बन्ध पनि साथी नै होला ।

बच्चा बेलामा खेल्ने साथी, गाउँका साथी, स्कुल पढ्दाका साथी, कलेज पढ्दाका साथी, जागिर गर्दाका साथी, ठाउँ पिच्छेका साथी, माहौल पिच्छेका साथी, बसाई सराई भो नयाँ ठाउँका साथी, स्कुल बदलिए नयाँ साथी, कलेज बदलिए नयाँ साथी, अफिस फेरियो नयाँ साथी, बसमा सवारी गर्दा साथी, यात्रामा साथी । व्यवसायमा साझेदारी साथी । देश–विदेश सबैतिर साथी । साथीको साथी यसरी हामीले जीवनमा हरेक पलमा साथी बनाउने गर्दछौं । कुनै साथीको सम्बन्ध निरन्तर हुने गर्दछ भने कुनै साथी ठाउँ वस्तु परिवर्तन सँगै परिवर्तन हुने गर्दछ । सबैभन्दा सजिलो बन्न र सबैभन्दा सजिलो भत्कन साथीको सम्बन्ध नै होला । केही साथी मनका हुन्छन् भने केही साथी धनका हुन्छन् जो धन सकिएपछि साथीको सम्बन्ध पनि सकिन्छ ।

केही साथी नजिकै छन्, केही साथी दैनिक भेटिन्छन् होला, कोही साथी सम्झनामा मात्र होला, कोही साथीले मलाई सम्झिरहन्छन होला, तर मैले बिर्सिसके होला, कतिलाई मैले सम्झिरहन्छु होला । तर, उनीहरुले बिर्सिसके होला । कोही साथी त्यही बेला बने त्यही बेला हराए होला । कोही साथी अझै बनेका छैनन् होला कोही बन्न बाँकी नै होला । अझ आजकाल त सामाजिक सञ्जालले गर्दा दैनिकजसो साथी बनि रहेका हुन्छन् ।
कति साथीलाई फेसबुकमा चिनिन्छ प्रत्यक्ष नचिन्न पनि सकिन्छ । कलेज पढ्दाका साथीहरु कलेजपश्चात अब हाम्रो भेट कसरी हुन्छ । साथीभाइको विचार आदान–प्रदान कसरी गर्ने भन्ने विषयमा चर्चा गर्दा र हामी कलेज सकिए पनि हामीहरु दैनिकी रुपमा भेटघाट गर्ने वातावरण केही बनाऔं भनेर मार्क जुकरवर्ग लगायतका साथीले फेसबुक बनाए साथी जोडिने उद्देश्यले बनाएको यो फेसबुक आज यति पपुलर भयो कि विश्वभरिका साथीभाइलाई जोड्न सक्षम भयो हराएका साथीहरु पनि यसबाट खोज्न सकिने भयो । साथीभाइको महत्व नभएको भए यसको विकास पनि हुने थिएन होला । त्यसैले पनि साथीको महत्व अत्यन्तै छ ।

दुई वर्षको बालक स्कुल जान्छ के को आशमा ? अवश्य पनि साथीको आशमा । दुई वर्षको बालकले के पढ्छ होला स्कुलमा, तर साथीसँग खेल्न पाउँदा बा–आमालाई सजिलै भुल्छ । हामी आफै पनि बाल्यकाललाई सम्झना गरौं त साथीसँग खेलेका दिन अनि त्यो रमाइलो पल । पेटमा भोक लागेको पनि थाहा हुँदैन थियो । साथीसँग ढुङ्गामारी खेल्दा होस् या रुमाल लुकाई खेल्दा होस् या चट्टी खेल्दा होस् । न तातो घामको पर्वाह न भोकको कुनै चिन्ता बस् साथीसँगको खेलाई घरबाट बुवाआमाले गाली गर्दा पनि वास्ता हुँदैन थियो ।

जीवनको गोल्डेन लाइफ कुन क्षण होला भनेर धेरैलाई सोध्यो भने अवश्य पनि कलेज लाइफ नै भन्ने हुन्छ होला किनकि त्यो समय साथीभाइसँगको थियो । साथी बिनाको स्कुल जीवन, कलेज जीवन हामी कल्पना पनि गर्न सकिँदैन । ठाउँ बदलिन सक्छ, परिवेश बदलिन सक्छ, घर बदलिन सक्छ, इच्छा बदलिन सक्छ, जिन्दगी बदलिन सक्छ, साथी पनि बदलिन सक्छन् । तर, हाम्रो मनभित्रको भाव बदलिन सक्दैन्, साथी खोज्ने हाम्रो मन बदलिन सक्दैन् । मानिस जब एक्लो हुन्छ अझ उसले साथी खोज्दछ । साथीसँगको गफले, हाँसो, ख्याल ठट्टाले मानिसको जीवनमा ऊर्जा ल्याउँछ, आत्मबल बढाउँछ र दुःख–पीडा केही पल भए पनि भुल्ने गर्दछ । साथी बनाउन न कुनै जातले छेक्थ्यो न कुनै वर्गले । बस् साथी चाहिन्थ्यो । साथी बनाइन्थ्यो ।

पौराणिककालमा पनि साथीको चर्चा गरिएको छ । कृष्ण र सुदामा, कृष्ण र अर्जुन, दुर्याेधन र कर्ण । अनि हामीले साथी त बनाउँछौं, तर कस्तो साथी बनाइरहेका छौं । हामीले साथी दुईखाले बनाउनु पर्छ एउटा कृष्ण जस्तो जसले युद्घ नलडे पनि जीत सुनिश्चित गर्छन् । अर्को कर्ण जस्तो हार निश्चित भए पनि लड्न छोड्दैनन् । जीवनमा यस्ता साथी बनाउन सकियो भने जीवनमा साथी बनाएको अर्थ राख्छ र समस्याबाट जुध्नलाई बाटो देखाउँछ । समाधानको निकास निकाल्छ । सुखमा त साथीभाइ सबैले साथ दिन्छन् । तर, दुःखमा साथ कतिले दिन्छन् त्यो थाहा पाउन आफूलाई दुःख आउनुपर्छ । अनि साथीभाइ चिनिन सकिन्छ । साथी त्यो नहुन सक्छ जो दिनै भेट्छ कुरा गर्छ बेलुका भएपछि सँगै खान्छ, पिउछ, रमाउँछ । साथी त्यो हो जो दिनै नभेटे पनि मेरो सुखी र समृद्घी जीवनको लागि प्रार्थना गर्दछ मेरो दुःखमा सामेल हुन्छ । भोकलाई खानासँग जोड्छ । समस्यालाई समाधान । दुःखलाई सुखमा परिणत गर्छ । बेचैनिलाई चैनमा परिणत गर्छ ।

एक्लोपनमा साहारा दिन्छ । रिसलाई शान्तसँग जोड्छ र परिवारको एक सदस्यसरह रहन्छ यी साथीमा हुने गुण हो ।
हामीले जीवनमा धेरै साथी बनाइन्छ । तर, केही साथी मानसपटलमा हुन्छ भने केही साथी मनमा हुन्छन् भने कोही साथी मन र मष्तिस्कबाट हटिसकेका हुन्छन् । हरेक मानिसको साथी हुन्छन्, साथी राम्रो÷नराम्रो भन्ने हँुदैनन्, विचार सही र गलत भन्ने हुन्छ । सोच र विचारले साथीहरु छुट्टीन्छन्, टाढा हुन्छन् । मानिसले जीवनमा धेरै साथीहरुसँग मित्रता गाँसेको हुन्छ । कोही साथी मनमा एक प्रकारले सोच्छन् व्यवहारमा एक प्रकारले सोच्छन् । अनि साथीलाई एक प्रकारले व्यवहारले गर्छन् । केही साथीहरुले मुखमा र व्यवहारमा एउटा सम्बन्ध बनाउँछन् । कोही साथी मन, मुख र व्यवहार एकै हुन्छ । साथीको पहिचान आफूले गर्ने हो ।

हामीले यसै समाजमा केही साथीले साथीको अपहरण गरेको घटना देखेका छौं । केही साथीहरुले साथीलाई व्यवहारमा धोका दिएका घटना सुनेका छौं । केही घटना साथीले साथीलाई मारेको पाएका छौं । आखिर साथीबाट नै साथीलाई सहयोग पाइन्छ । साथीबाट नै धोका पाइन्छ । आफ्नो स्वार्थको लागि साथी बनाएको पाइन्छ । आखिर साथीको सम्बन्ध इतिहासमा अमर भएको पनि पाइन्छ । वर्षमा ५० जना साथी बनाउनु, ठूलो कुरा भएन तर एउटा साथीसँगको सम्बन्ध ५० वर्षसम्म रहनु जीवनमा ठूलो महत्व रहन्छ । हाम्रो विचार कस्तो छ साथी त्यही प्रकारको हुन्छ । साथी मनबाट बनाऔं मस्तिष्कबाट होइन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here