प्रदेशस्तरीय गन्धर्व सांगीतिक प्रतियोगिता

0
1235

झापा ।

सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ विराटनगरको आयोजना तथा पूर्वाञ्चल गन्धर्व संस्कृति उत्थान समाज कचनकवल गाउँपालिका वडा नं. २ पथरियाको समन्वयमा प्रदेशस्तरीय गन्धर्व सांगीतिक प्रतियोगिता तथा प्रोत्साहन कार्यक्रम झापाको कचनकवलमा सम्पन्न भएको छ ।

कचनकवल गाउँपालिका वडा नं. २ पगरियास्थित द्रोणचार्य स्मृति भवनमा सञ्चालित कार्यक्रम पूर्वाञ्चल गन्धर्व संस्कृति उत्थान समाजका अध्यक्ष कङ्क गन्धर्वको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रदेश नं. १ कि राज्यमन्त्री जसमाया गजमेरको प्रमुख आतिथ्यमा सञ्चालन भएको कार्यक्रममा प्रदेश संसद वसन्त बानियाँ तथा गाउँपालिका अध्यक्ष अन्जार आलम विशेष अथिति रहेका थिए ।

प्रदेश नं. १ का गन्धर्वहरुको सहभागिता रहेको कार्यक्रममा गन्धर्व गीतबाटै स्वागत गरिएको थियो भने एकल प्रस्तुतिका गन्धर्व गीतहरु प्रतिस्पर्धामा रहेका थिए ।

जसमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान ओगट्न सफल प्रतिस्पर्धीले क्रमशः २० हजार र प्रमाणपत्र, १५ हजार र प्रमाणपत्र, १० हजार र प्रमाणपत्र, पाँच हजार र प्रमाणपत्र प्राप्त गरेका थिए । प्रतियोगितामा डम्बर गन्धर्व प्रथम, गोपाल गन्धर्व द्वितीय र शिव गन्धर्व तृतीय भएका थिए ।

कार्यक्रममा प्रतिस्पर्धामा निर्णायकको भूमिकामा संगीतकर्मी कृष्ण योञ्जन, विशाल राई र स्थानीय गन्धर्व समाजकी सारंगी वादक रजनी गन्धर्व रहेका थिए । मन्त्री गजमेरले गन्धर्वहरुको संरक्षण तथा क्षमता विकासका क्षेत्रमा राज्यले विशेष योजना ल्याउनुपर्ने बताइन् ।

सोही क्रममा बोल्दै मन्त्री गजमेरले गन्धर्वहरुले अब आफ्ना नानीहरुलाई सँगै गीत गाउँदै सडक, बजार तथा चोक–चोकमा लिएर जानुपर्ने बाध्यताको अन्त्य गर्दै संगीतका पारखीहरुलाई गीत सुन्नका लागि सम्बन्धित क्षेत्रमा आउने वातावरण निर्माण गरी बालबालिकालाई संगीत शिक्षासँगै विद्यालय पठाउने कुरामा सरकारले विशेष चासो दिनुपर्ने बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here