बाढीले बगाउँदा झापामा एकको मृत्यु एक वेपत्ता, सयौं घर डुबनामा

0
1281

बिर्तामोड ।

अविरल वर्षाका कारण झापासहित पूर्वको जनजीवन प्रभावित भएको छ । वर्षासंगै आएको बाढीका कारण झापामा एक जनाको मृत्यु भएको भने एक जना वेपत्ता भएका छन् ।

मृत्यु हुनेमा झापा गाउँपालिका – ५ का ३५ वर्षीय राजेश गणेश रहेका छन् । मलामी गएका उनलाई पौडी खेल्ने क्रममा विरिङ खोलामा आएको बाढीले बगाएपछि बेपत्ता भएको र तीन किलोमिटर तल खोला किनारमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापामा प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।

उता मेची नदीले बगाएर भद्रपुर – ३ नाउँगाउँका ३३ वर्षीय हिरण राई वेपत्ता छन् । नुहाउने क्रममा बाढीले बगाएको प्रहरीले जनाएको छ । मेची नदीले बगाएर वेपत्ता बनेका राईको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

आइतबार बिहान ३ बजेको मापन अनुसार कनकाई मैनाचुली इलामको बाढी मापन केन्द्रमा जल सतह खतरा तहमा पुगेको छ । झापाको कनकाइ तटीय क्षेत्र डुवानमा परेको छ ।

नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले कनकाईको बहाब ३.४७ मिटर पुगेको र यो बढ्ने क्रममा रहेको जनाए । रेडक्रसले जिल्लाका सबै रेडक्रसकर्मीलाई उद्धारको काममा लाग्न भनेको छ ।

कनकाई नदीको बहावले खतराको चरण पार गरेकाले नदी आसपासका क्षेत्रका बासिन्दालाई सतर्क रहन एसएमएस मार्फत सूचना पठाइ सकिएको छ । यसैबीच कनकाईको बङ्गालो शिवसताक्षी ६ को बस्तीमा पसेको छ । त्यहाँका १५ घर विस्थापित भएका छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय शिवगञ्जमा राखिएको वडाध्यक्ष मनोज कार्की खुलालले बताए । त्यहाँ १ सय ५० घर जोखिममा परेको शिवसताक्षी रेडक्रस सभापति नारायण दाहालले बताए ।

त्यसैगरी कनकाई बस्तीमा पस्दा झापा गाउँपलिका १ को मिलनबस्ती र पूर्वटोलमा पस्दा ४० घर डुबानमा परेका छन् । वडाध्यक्ष राजकुमार यादवका अनुसार दुई वर्ष अघि बाँधिएको बाँधमा कटान सुरु भएको छ । पश्चिमतर्फबाट बगेको माई नदी धार परिवर्तन गरी पूर्वतर्फ बगेपछि बाँध कटान भएको हो । दुई हजार २ सय ५० मिटर लामो टप्पु र जनता टोलमा रहेको अस्थायी बाँधमध्ये लगभग ३ सय मिटर कटान भएको जनताको तटबन्धन कार्यक्रम गैंडेका इन्जिनियर यादव बरालले बताए।

वर्षासँगै कनकाइ माईमा आएको बाढीले झापा गाउँपालिकाका चार वटा वडा जोखिममा परेको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले जानकारी दिए । कटानका कारण स्थानीय त्रसित बनेको बताइएको छ ।

पूर्णरूपमा बाँध फुटेमा झापा गाउँपालिकाका १,२,३ र ७ नम्बर वडा प्रभावित हुने साहले बताए । अहिलेसम्ममा झापा गाउँपालिका ७ मदरगाछका १७ घर परिवार विस्थापित भएका छन् । उनीहरूलाई सुरक्षित स्थानमा सारिएको वडासचिव नेत्र उप्रेतीले जानकारी दिए ।

यता कनकाई नदीमा आएको बाढीले गौरीगञ्ज गाउँपालिका १ होकलबारीका २५ परिवार विस्थापित बनेका छन्। १२ घर जोखिममा परेका छन् । विस्थापित हुने १० परिवार भाकुरमारीका हुन् ।

त्यस्तै, गौरीगञ्ज गाउँपालिका–१ स्थित होक्लाबारीमा कनकाई नदीको बाढी बस्तीमा पसेको छ । बाढी बस्तीमा पस्दा २५÷३० घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।
त्यस्तै, अविरल वर्षाका कारण मेचीनगर–७ स्थित पालिया खोलाको पानी घरमा पसेपछि नौ परिवारलाई सोही स्थानको प्यारीभिट्टा बसपार्कको भवनमा राखिएको थापाले बताए । जिल्लाका बाढीको जोखिममा रहेका १४ पालिकाका सयौँ घर डुबानमा पर्नुका साथै जलमग्न भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here