पाँचथरको पहिलो लघुजलविधुत जिर्ण अवस्थामा, एक सय ५० घर सेवाबाट प्रभावित

२९ असार २०७७, सोमबार मा प्रकाशित

युद्धबहादुर बोहोरा / पाँचथर।

फाल्गुनन्द गाँउपालिका वडा नं.–४ स्थित ज्यामिरे टोलमा संचालित जिल्लाकै पहिलो लघुजलविधुत ‘हामसामी निवुखोला जलविधुत सहकारी योजना’ अहिले जिर्ण अवस्थामा पुगेको छ ।

एक सय ५० घरधुरी लाभान्वित भईरहेको योजना आइबीपी संस्थाको ५० प्रतिशत अनुदान सहयोगमा करीब १५ वर्ष अघि देखि संचालन हुँदै आएको थियो । वर्षातको समयमा पहिरोको कारणले विधुतगृहमा आउँने पानीको पाइप बारम्बार क्षति पुग्दा नियमित विधुत प्रशारणमा अवरोध भई दिनहुँ अन्धकारकोे समस्या झेल्नु परेको उपभोक्त समिति अध्यक्ष नरप्रसाद नेम्वाङको भनाई छ ।

आर्थिक अभावले गर्दा हाल सम्म मुहान,कुलो,खम्बा,तार,पाइप,मेशिन रिपेयर तथा विधुतगृह व्यवस्थित हुन नसक्दा निरन्तर बत्ती बाल्न नसकिएको गुनासो पोख्दै उनले भने,दैनिक यस कामको लागि खटाइएका कार्यरत तीन जना कर्मचारीलाई मासिक पारिश्रमिक उपलब्ध गराउँन समेत कठिन भएको उनले बताए ।

प्रत्येक घरधुरीले एक सय १० रुपैयाँ मासिक महसुल व्यर्होदै आएका उपभोक्ता आजभोलि अन्धकार साथै टेलिभिजन हेर्न,मिल चलाउन वञ्चित भइ आधा घण्टा भन्दा टाढा गएर छिमेकी टोलमा मोवाइल चार्ज गर्दै काम चलाएको पिडा सुनाउँछन् ।

फाल्गुनन्द गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७७÷०७८ को गाँउसभाले पारित नीति तथा कार्यक्रममा लघुजलविधुत योजनालाई पनि समेट्ने लक्ष्य राखिएको सुचना पाए अनुसार यस योजनालाई मर्मत सम्भारको लागि गाँउपालिकामा बजेट माग गर्दै अन्य दाताहरुबाट पनि सहयोगको अपेक्षा गरिएको समितिका सचिव भगीरथ नेम्वाङले जानकारी दिए ।

लघुजलविधुत सहकारीको रुपमा दर्ता भएको योजनाबाट उत्पादित १२ किलोवाट क्षमताले दिउँसोको समयमा कुटानीपिसानी तथा तेल पेल्ने मिल समेत सञ्चालन गर्दै आएको र विधुतको लागि ल्याइएको कुलो स्थानीय कृषकले सिंचाईमा प्रयोग गर्दै आएको भएता पनि पहिरोले पटक पटक क्षतिले पु¥याँउदा किसान निराश बनेका छन् । जिल्लाकै कृषि उपजको अव्बल क्षेत्र भनेर चिनिएकोे यस भूभागका बासिन्दा कृषि पेशामा निर्भर छन् ।

अहिले सम्म यस टोलमा केन्द्रिय प्रसारणको हाइड्रोलाइन विस्तार हुन बाँकी रहेको र स्थानीय विधुत उत्पादन भरपर्दो नहुँदा मारमा परेको स्थानीयहरु बताउँछन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here