चिन्तामणि दाहाल,
प्रारम्भ :
आएदिन सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी नेकपाका शीर्ष नेतावीचको घोचपेच बाक्लिँदै गएपछि तीन वर्षअघि गरिएको एकीकरण धरापमा परेको छ । खासगरी सरकार र पार्टीको संगठन सञ्चालनमा शक्तिको बाँडफाँड र प्रयोगमा दुई अध्यक्षबीचको खिँचातानीले घोचपेच बाक्लिएको र एकीकरण धरापमा परेको हो ।
दुई अध्यक्षको व्यवस्था भनेको नेकपारुपी जंगलमा दुई सिंह हुनु हो । एउटै जंगलमा दुई सिंह अटाउन सक्दैनन् । दुई सिंह राखी राख्नु नै एकीकरणलाई जुनसुकै बेला धरापमा पार्ने पृष्ठभूमि हो भने भागबण्डाले संगठनको अन्तरमा पूर्व एमाले र पूर्व माओवादी अस्तित्वमा छन् भन्ने हो ।
अहिले विवाद बढेको देखिए पनि यसको पृष्ठभूमि एकीकरणताका दुई अध्यक्ष राख्ने, पालै पालो सरकार चलाउने र महाधिवेशनअघिसम्म संगठनमा ६०÷४० को भागबण्डा गर्ने भन्ने भद्र सहमति नै हो । –हुन त नेपालका राजनीतिक दलमा कसैले पनि भद्र सहमतिको पालना गरेका छैनन् । यही भद्र सहमति अहिले नेकपा लागि घाँडो भएको छ । दुई अध्यक्ष अहिले एकीकरणताका जेठको भद्र सहमति मान्ने कि गत मंसीरको अर्को सहमति मान्ने भन्नेमै रुमल्लिएका छन् । अर्थात् एकले अर्कालाई रुमल्याउने प्रयत्न गरिरहेका छन् ।
यही भद्र सहमति मध्ये गत मंसीरको सहमतिमा ओलीले प्रधानमन्त्री भएर सरकार चलाउने र अध्यक्ष रहने तर अर्का अध्यक्ष प्रचण्डले कार्यकारी अध्यक्ष भएर पार्टी चलाउने भन्ने हो । त्यसलगत्तै प्रचण्डले गरेका भाषणमा ओलीले पाँच बर्ष नै सरकार चलाउने सहमति भएको भनेकै थिए ।
ओलीलाई पाँच बर्षको अभयदान प्राप्त भएवापत अध्यक्षले गर्ने केही अधिकार प्रचण्डले पाए पनि त्यसको सही प्रयोग गर्न पाएनन् । एकातिर पार्टी संगठनलाई एकलौटी हाँक्न नपाएको, सरकार बदनाम हुँदै गएको, ओलीजीमा अहम् बढ्दै गएको, ओलीको बोलीले सामाजिक सञ्जाल नेगेटिभ हुन थालेको जस्ता कारणले अहिले केही दिनयता फेरि दुबै अध्यक्षबीच घोचपेच शुरु भएको हो ।
यस घोचपेचको पछिल्लो कारण मिलेनियम च्यालेन्ज कर्पोरेसन अर्थात् एमसीसी पनि एक हो । ओलीजी र उनका अरिंगालहरु जसरी पनि एमसीसी संसदबाट अनुमोदन गराउने पक्षमा छन् भने प्रचण्ड र उनका कमाण्डरहरु तथा झलनाथ प्रवृत्ति, पश्चिमका नेता भीम रावल लगायत यसमा परिमार्जन नगरी संसदबाट पारित गराउनु हुँदैन भन्ने पक्षमा छन् । प्रचण्डको पक्षमा नेकपाको सचिवालयमा बहुमत रहे पनि केन्द्रीय समिति र संसदीय दलमा ओलीको बहुमत छ भनिन्छ । त्यसैगरी एमसीसीलाई संसदमा कांग्रेस र एउटा भए पनि राप्रपाले समर्थन गरेकोले ओलीजीले चाहे अनुसार नै एमसीसी पारित हुने अवस्था छ भनिन्छ ।
पछिल्लो अवस्था :
नेकपाका दुई अध्यक्षबीच चलिरहेको सत्ता संघर्षमा सहमतिका लागि असार २५ यता छलफल भएको छैन । त्यसअघि दुबैले सहमतिका लागि चारपटक छलफल गरे पनि सहमति हुन सकेको छैन ।
सहमति गर्नकै लागि पटक–पटक स्थायी समितिको बैठक सारिँदै आएकोमा शुक्रबारको बैठक सात दिनका लागि सारियो । देशमा बाढीपहिरोले धनजनको क्षति भइरहेको अवस्थामा पार्टीको आन्तरिक विवादमा समय खेर फाल्नु उपयुक्त हुँदैन भनेर बैठक सारिएको भनिएको छ । तर, खासमा दुई अध्यक्षबीच सहमतिको विन्दु फेला नपरेपछि पर्टीलाई फुटबाट बचाउन बैठक सारिएको भन्दा फरक पर्दैन ।
पछिल्लो छलफलमा प्रचण्डले ओली समक्ष प्रधानमन्त्रीबाट राजीनामा दिएमा सहमति हुन सक्ने संकेत गरे पनि ओलीले दुबै पद नछोड्ने अडान लिएपछि सहमति नभएको हो । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले असार १५ गते मदन भण्डारीको जन्मजयन्तीमा भारतले आफूलाई पदबाट हटाउन षडयन्त्र गरेको र त्यसमा पार्टीकै केही साथी सक्रिय भएको आरोप लगाएपछि नेकपाभित्र सत्ता संघर्ष तीव्र भएको हो ।
हुन त यसअघि मंसीरमा पनि दुबै अध्यक्षबीच सत्ता संघर्ष भएर सुलह गराइएको थियो । त्यसबेला पनि नेपालका लागि चीनकी राजदूत होउ यान्छीसक्रिय भएकी थिइन् भने अहिले पनि यान्छी सक्रिय भएकी छन् । मंसीरमा प्रचण्डका पक्षमा माधब नेपाल, झलनाथ खनाल र बामदेव गौतम खुलेर लागेका थिएनन् । तर, अहिले खुलेर लागेका छन् । मंसीरमा भारत ओलीविरुद्ध अहिले जस्तो सक्रिय थिएन । अहिले सक्रिय छ । अहिले नेकपालाई फुटाएर ओलीलाई सत्ताबाट विस्थापित गर्न भारत र बचाउन चीन आमने सामने भएका छन् ।
अर्कातिर दुबै अध्यक्षबीच सहमति गराउन पार्टीका दोश्रो तहका नेताहरु सक्रिय छन् । तिनमा प्रचण्ड–नेपाल पक्ष र ओली पक्ष दुबैका नेताहरु छन् । उनीहरुले प्रचण्ड र ओलीलाई तीन वटा सुझाव दिएका छन् । सडक र सामाजिक सञ्जालमा भएक पक्ष विपक्षका प्रर्दशन र टिप्पणी रोक्न, एकताको नयाँ आधार तयार पार्न र आवश्यकता अनुसार स्थायी समितिको बैठक सारेर निकास दिनुपर्ने भन्ने छन् । उनीहरुको सक्रियताले कस्तो रंग ल्याउँछ यसै भन्न सकिन्न ।
त्यसैगरी अहिले फेरि तेश्रो तहका नेताहरु पार्टी एकतालाई बचाइ राख्न हस्ताक्षर अभियानमा लागेका छन् । सबैको उद्देश्य वास्तवमै पार्टीलाई फुटबाट बचाउने नै हो भने ओली र प्रचण्डले चाहेर वा नचाहेर पार्टी फुट्ने र जुट्ने हुँदैन ।
पार्टीका सदस्यहरु र सांसदहरु एकजुट भएर लागेमा फुटाउन पनि र जुटाउन पनि बाहिरी शक्तिले केही गर्न सक्दैन । पार्टीभित्र घुसेका लोभी–पापीहरु बढी छन् भने बाहिरी शक्तिले चलखेल गर्ने हो । तर, शंका छ ।


























