झापामा पर्यटन अभिवृद्धि गर्न अन्तरक्रिया

0
887

 तीर्थराज खरेल

 सुरुङ्गा, भाद्र १५ । झापा जिल्लामा रहेका पर्यटकीय स्थलहरुको संरक्षण र सम्बद्र्धन गरी पयर्टन अभिवृद्धि गर्न कनकाईधाम कोटीहोममा अन्तरक्रिया सम्पन्न भएको छ ।  सामुदायिक वन उपभोक्त सम्बद्ध युवा संयन्त्र नेपाल (मेकोफोन) लगायत झापाका १६ वटा संस्थाहरुको संयुक्त आयोजनामा भएको सो अन्तरक्रियामा झापाका ऐतिहासिक, पुरातात्विक, प्राकृतिक तथा धार्मिक पर्यटकीय स्थलहरुको एकीकृत विकास गर्न र आन्तरिक तथा बाह्य पर्यटनलाई बढावा दिन देखा परिरहेका समस्या तथा तिनका समाधानका लागि अपनाउनुपर्ने उपायहरु सम्बन्धमा छलफल भएको थियो । सो अवसरमा कनकाईधाम कोटीहोम, किचकबध, अर्जुनधारा, सताक्षीधाम, चिल्लागढ, बिराटपोखरी, धनुषकोटीधाम, केचनाकबल, पातालगंगा, कृष्णथुम्की, साधुटार, धनुषपोखरी, कञ्चनगढ, टासी छोयलिङ्ग गुम्बा, दोमुखा, पाँचपोखरी, राजारानी पोखरी, कनकाई माई, समयगढ, चन्द्रगढ, जामुनखाडी सिमसार क्षेत्र, कलबलगढी, सामुदायिक वनहरु, चुरे पर्वतमाला, काकडभिट्टा सिमानाको जंगे पिल्लर, काकडभिट्टाको नेपाल–बंगलादेश बन्दरगाह, केचनाकबल स्तम्भ, टिमाईको झोलुङ्गे पुल, सुनमाईको भ्यू पोइन्ट, धारागोलाको गोलाधार, टोक्ला, बर्ने, बा¥हदशी, बुट्टाबारीका चिया कमान तथा चिया फ्याक्ट्रीहरु, बर्ने पहाडे कागज उद्योग, बुधबारे शान्तिनगर सुपारी प्रशोधन उद्योग आदि जस्ता धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थलहरुको कसरी संरक्षण तथा विकास गर्न सकिन्छ भन्ने बारेमा छलफल भएको थियो । त्यसै गरी होमस्टे, फुड फेस्टिबल, क्यामेनिङ्ग, सांस्कृतिक महोत्सव जस्ता कार्यक्रम आयोजना गरेर स्वदेशी तथा विदेशी पर्यटनलाई बढाउन सकिने बारेमा समेत सो कार्यक्रममा विचारविमर्श भएको थियो । सुखानी र शहीद स्मारक पार्क सालबाडीको विकासको बारेमा समेत उक्त कार्यक्रममा बक्ताहरुले विचार राखेका थिए । पर्यटकीय स्थलहरुमा पर्यावरणीय चेतना अभिवृद्धि गर्न, पर्यटकीय क्षेत्रमा रहेका सांस्कृतिक तथा जातीय विशेषताहरुको संरक्षण गर्न, आदिवासी जनजातिहरुको पहिचानलाई स्थापित गर्दै त्यसलाई पर्यटनसँग जोड्ने, महाभारतकालसँग सम्बन्ध राख्ने सांस्कृतिक क्षेत्रहरुको अध्ययन अनुसन्धान र संरक्षण गर्ने, पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गर्न योजनाबद्ध रुपमा सूचना तथा सञ्चारको स्थितिलाई सबल बनाउने लगायतका विषयमा छलफल भएको युवा नेता टीकाराम मंग्रान्तीले जानकारी दिए । मेकोफोन झापाका अध्यक्ष रमेश शेर्पाको सभापतित्व र नेपाल पर्यटन बोर्डका सदस्य तथा पूर्वाञ्चल पर्यटन विकास परिषद्का अध्यक्ष रेवतबहादुर थापाको प्रमुख आतिथ्य रहेको रहेको कार्यक्रममा एमालेका प्रेम गिरी, होटल व्यवसायी संघका केन्द्रीय सदस्य एवम् पूर्वाञ्चल पर्यटन विकास परिषद्का सचिव रबिन गौतम, आईडीएफ नेपालका अध्यक्ष तथा लोकप्रिय मानवअधिकारकर्मी विष्णुप्रसाद खरेल, साहित्यकार शिवशंकर थापा, साहित्य चौतारीका संस्थापक देवीभक्त श्रेष्ठ, वन पैदावर महासंघ झापाका अध्यक्ष तिलक गिरी, गैरसरकारी संस्था महासंघ झापाका उपाध्यक्ष छबिलाल खतिवडा, कनकाईधाम धार्मिक विकास संस्था कोटीहोमका वरिष्ठ उपाध्यक्ष गोबिन्दबहादुर बस्नेत, सताक्षीधाम धार्मिक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष श्रीप्रसाद सुब्बा, विद्यार्थी नेता चन्द्रप्रसाद चौंलागाईं लगायतले बोलेका थिए । अर्जुनधारा जलेश्वरधामका सचिव अम्बिकाप्रसाद खतिवडाले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष छत्र पौडेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । सो कार्यक्रममा युवा साहित्यकार एवम् बुद्धिजीवी मुनाराज शेर्माले झापामा पर्यटन विकासको संभावना र चुनौति विषयमा अवधारणापत्र प्रस्तुत गरेका थिए । सो भेलाले झापा पर्यटन घोषणापत्र–२०७० जारी गरेको छ भने पर्यटन विकासको क्षेत्रमा काम गर्ने गरी आयोजक संस्थाहरुको जिल्ला स्तरीय लूज एलायन्स फोरम बनाउने निर्णय गरेको कनकाईधाम धार्मिक विकास संस्था कोटीहोमका महासचिव गंगाराम दाहालले जानकारी दिए । कार्यक्रमको सञ्चालन साहित्य चौतारी झापाका अध्यक्ष टंक बिकल्पले गरेका थिए ।