नेपालमा भारतीय हस्तक्षेपको इतिवृतान्त

0
943

udaya

पछिल्लो समय नेपालमा भएका प्रायः सबै राजनीतिक र आर्थिक गतिविधिमा भारतको हस्तक्षेपको विषय व्यापक रुपमा उठ्ने गरेको छ । तर, यो विषय आज मात्र होइन, यसको श्रृंखला धेरै लामो सयमदेखि चलिआएको छ । इतिहासमा फर्केर हेर्ने हो भने नेपालका हरेक परिवर्तन चाहे त्यो राजनीतिक होस् वा सामाजिक र सांस्कृतिक, चाहे त्यो आर्थिक वा अन्तर्राष्ट्रिय सम्बन्धको विकास र विस्तार नै किन नहोस् भारत नेपालको हरेक महत्वपूर्ण विषयको सन्दर्भमा आफ्नो भूमिका खोज्न पछि पर्दैन ।

भारतको यो रवैयाको पृष्ठपोषण कसरी र किन इतिहासदेखि अहिलेसम्म कायम छ भन्ने सवालमा विभिन्न पक्षहरुको आ–आफ्नो विश्लेषण रहला, तर मुख्यतया वि.सं. २००७ सालदेखि हालसम्म भारतको नेपालप्रतिको छोटे भाइवाला संज्ञा यथास्थितिमा रहनुमा नेपालमा शासनको बागडोर सम्हालेका राणाहरु, राजाहरु तथा विभिन्न समयमा स्थापित फरक–फरक राजनीतिक दलहरुका सरकार र यसका नेतृत्व नै बढी दोषी देखिन्छन् ।

जब–जब आफ्नो सरकार र पक्षलाई अफ्ठ्यारो परिस्थिति आयो, आन्तरिक र दलगत स्वार्थले सत्ता सञ्चालनमा बखेडा झिक्यो तब–तब भारत शरणम् गच्छामी हुने हाम्रो खोक्रो राष्ट्रिवाद नै आजको नेपाल भारत सम्बन्धमा आएको तिक्तताको प्रमुख कारण हो । हो, भारतीय शासकहरु चाहन्छन् नै यही, उनीहरुको नेपालप्रतिको दृष्टिकोण न त हिजो सम्मानजनक थियो न त आज छ ? दिल्लीमा रिमोट राखेर नेपालमा कार्यक्रम संयोजन गर्न आदत परेको भारतीय पक्ष, हामीले दिएको कुटनीतिक छुटको जगमा टेकेर हस्तक्षेपकारी दम्भ देखाइरहेको छ । भारतीय हस्तक्षेपको श्रृंखलालाई हेर्न वि.सं. २००७ सालपछिको अवस्थाले नै मुख्य रोल खेलेको छ । तसर्थ, वि.सं. २००७ सालपछिको नेपाल भारत सम्बन्धमा आएका उतारचढावलाई स्पष्ट रुपमा बुझ्न जरुरी छ ।

१. ब्रिटिस साम्राज्यको कृपामा राजा र नेपाली जनतालाई राज्य सञ्चालनको भूमिकाबाट कोसौँ टाढा राख्दै निरंकुश शासन गरिरहेका राणाहरुकाविरुद्ध उम्लँदै गएको प्रजातन्त्रबादी आन्दोलनले घुँडा टेक्न बाध्य पार्न लागेको थियो । भारतबाट ब्रिटिस फर्कनु र प्रजातन्त्रको संघर्ष चुलिरहनुले राणाहरुमा दवाब बढेको बढ्यै थियो । त्यही समयमा तत्कालीन नेपालका राजा त्रिभुवन लैनचौरस्थित भारतीय दुतावासमा शरण लिन पुगे र त्यतैबाट दिल्ली उडे । यो घटनाले राणाहरुमा राजाले देश र जनताप्रति धोका दिएको र राणाहरुको राष्ट्रवाद नै असली रहेको हौवा फैलाउने मौका पनि मिल्यो । त्यसो त राजा त्रिभुवनले आफ्नो स्वकीय सचिव नै भारतीय राखेको कुरा इतिहासमा सप्रमाण पाइन्छ । त्यसो त राणाहरुले जहाँनीय शासन टिकाइ राख्न ब्रिटिस इण्डियासँग गरेको सन् १९५० को असमान सन्धि आज पनि नेपाल र नेपालीका लागि आलो घाउ भएर बिझाइरहेको छ । राजा होस् वा राणा दुबैले आफ्नो सत्ता टिकाउन विदेशी प्रभुको शरण र आशीर्वाद लिनु परेको यो ऐतिहासिक घटनाले नेपालमाथि भारतीय हस्तक्षेप निम्त्याउन भने महत्वपूर्ण भूमिका खेलेको स्पष्ट छ ।

२. राजा त्रिभुवनको निधन पछि उनका उत्तराधिकारी राजा महेन्द्रको चर्को राष्ट्रवाद पनि सम्झनयोग्य ऐतिहासिक घटना हो । निर्दलीय पञ्चायती शासनको पक्षपोषण गर्दै ३० वर्षसम्म नेपाल र नेपालीमाथि गरिएका विभिन्न दमन र चर्को राष्ट्रवाद राजा महेन्द्रको पालामा भएको कुरा इतिहासमा भेटिन्छ । उनकै पालमा लिम्पियाधुरा र कालापानीमा भारतीय सैनिकको उपस्थिति भएको र पछि नेपालको चुच्चो परेको भाग नै गायब भई नेपाल आमामाथि अन्याय भएको घटनाले राजा महेन्द्रले जतिसुकै राम्रा काम गरेपनि भारतको हेपाहा प्रवृत्तिको खिलाफमा बोल्न नसकेको कुरा स्पष्ट हुन्छ । यसबाट पनि भारतीय विस्तारवाद र हेपाहा प्रवृत्ति कायमै रहेको छर्लङ्ग हुन्छ ।

३. ३० बर्ष लामो पञ्चायती शासनको विरुद्ध विभिन्न समयमा भएका कांग्रेस र कम्युनिष्टका आन्दोलनको पृष्ठभूमि हेर्ने हो भने भारतको संलग्नताको नमिठो गन्ध आई नै रह्यो । कोइराला खानदानका दाजुभाइहरुको नेतृत्वमा बनेका सरकारले आफ्नो पहिलो भ्रमण दिल्लीमा नै गर्नु, अझ तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले भारतीय समकक्षी जवाहरलाल नेहरुसँग भारतमा नेपाल विलय गराउने प्रस्ताव राखेको । तर, नेहरुले नमानेको भन्ने भारतीय जनता पार्टीका पूर्व मन्त्री सुब्रमन्यम स्वामीको आधिकारीक ट्वीट र भारतीय हिन्दूवादी संगठन आरएसएसका पूर्व अध्यक्षको खुला भनाईलाई हेर्ने हो भने त नेपालका शासकहरुको लम्पसारवादी चरित्र छर्लङ्गै हुन्छ ।

४. वि.सं. २०४६ सालको जनआन्दोलन पछि बनेका कांग्रेस र कम्युनिष्टका सरकारहरुले पनि भारतीय हस्तक्षेपलाई कम गर्ने गरी कुनै ठोस कदम चालेको देखिँदैन । चाहे त्यो गण्डक सम्झौता होस् वा महाकाली सम्झौता सबै नै सच्चा राष्ट्रवादी नेपालीको मनमा चिसो पस्ने गरीका छन् र भारतीय पक्षको हितमा रहेका छन् ।

५. भारतीय विस्तारवाद र हैकमवादको उग्र विरोधमा जनयुद्धको घोषणा गरेको तत्कालीन माओवादी शक्तिको पनि यथार्थ अहिले आएर हेर्दा भारतलाई कुनै पनि रुपमा असर नपर्ने गरी गरिएको थियो भन्ने प्रमाण पाइन्छन् । तत्कालीन माओवादीको नेतृत्व गर्ने नेताहरुको भनाई र गराईमा आकाश जमिनको फरक देखियो । भारतको विस्तारवादविरुद्ध शसक्त आवाज उठाउने, भारतसँग भएका असमान सन्धीहरु जलाउने साथै भारतविरुद्ध भूमिगत युद्ध गर्ने कुरा उठाएर अनुयायीलाई पटक–पटक धोका दिएको कतिपय पूर्व लडाकुहरुको भनाई रहेको छ । यसरी हेर्दा तत्कालीन माओवादी नेतृत्व भारतीय हस्तक्षेप नेपालमा कायम राख्न सहयोगी भूमिकामा रहेको स्पष्ट हुन्छ ।

६. त्यसो भारतीय हेपाहा प्रवृत्तिलाई मलजल गर्न हाम्रा नेतृत्व र व्यवस्थामात्रै दोषी छैनन्, हामीमा पनि बोलाई र गराई बीच सम्पर्क नभएको अवस्था हो । धर्म, संस्कार, संष्कृति र रोटीबेटीको नाताको आडमा भारतीय हस्तक्षेपलाई ठाडो निमन्त्रणा दिने हामी नेपालीको गराईले आजको स्थिति आएको हो । नेपालीपन, लोक संगीत, नेपाली कला, कलाकार र स्थानीय परम्परा त्यागेर हिन्दि चलचित्र, टेलिभिजन कार्यक्रम र भारतीय देखासिकी गर्नाले पनि हाम्रो राष्ट्रियता कमजोर परेको यथार्थ छ । यसरी हेर्दा हाम्रो राष्ट्रियता कमजोर बनाउन माथि उल्लेखित कार्यहरुले महत्वपूर्ण भूमिका खेलेको छ ।

आजका दिनमा स्वतन्त्र पत्रकारिताका नाममा भारतका कतिपय मिडियाको लज्जास्पद हर्कतको शिकार हुनु परेकोमा हामी नेपाली दुःखीत छौँ । आशा छ अबको हाम्रो पाइला भारतीय मात्रै होइन चिनियाँ र अन्य विदेशी शक्ति केन्द्रको भरमा अगाडि नबढोस् । वयं राष्ट्रे जागृयामः अर्थात् राष्ट्रका लागि जागौँ भन्ने कामनाका साथ नेपाल र नेपालीको स्वाभिमान कसैको खेलौना नबनोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here