पाँचथर।

फाल्गुनन्द गाँउपालिका वडा नं.–४ स्थित ज्यामिरे टोलमा सञ्चालित जिल्लाकै पहिलो लघु जलविद्युत् ‘हामसामी निवुखोला जलविद्युत् सहकारी योजना’ अहिले जीर्ण अवस्थामा पुगेको छ ।
एक सय ५० घरधुरी लाभान्वित भइरहेको योजना आइवीपी संस्थाको ५० प्रतिशत अनुदान सहयोगमा करिब १५ वर्ष अघिदेखि सञ्चालन हुँदै आएको थियो । वर्षात्को समयमा पहिरोको कारणले विद्युत् गृहमा आउने पानीको पाइप बारम्बार क्षति पुग्दा नियमित विद्युत् प्रशारणमा अवरोध भई दिनहुँ अन्धकारकोे समस्या झेल्नु परेको उपभोक्ता समितिका अध्यक्ष नरप्रसाद नेम्वाङले बताए ।
आर्थिक अभावले गर्दा हालसम्म मुहान, कुलो, खम्बा, तार, पाइप, मेशिन रिपेयर तथा विद्युत् गृह व्यवस्थित हुन नसक्दा निरन्तर बत्ती बाल्न नसकिएको गुनासो पोख्दै उनले भने– ‘दैनिक यस कामको लागि खटाइएका तीन जना कर्मचारीलाई मासिक पारिश्रमिक उपलब्ध गराउन समेत कठिन भएको छ ।’
प्रत्येक घरधुरीले एक सय १० रुपैयाँ मासिक महसुल व्यहोर्दै आएका उपभोक्ता आजभोलि अन्धकार साथै टेलिभिजन हेर्न, मिल चलाउन वञ्चित भई आधा घण्टाभन्दा टाढा गएर छिमेकी टोलमा मोबाइल चार्ज गर्दै काम चलाएको पीडा सुनाउँछन् ।
फाल्गुनन्द गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७७÷०७८ को गाउँ सभाले पारित नीति तथा कार्यक्रममा लघु जलविद्युत् योजनालाई पनि समेट्ने लक्ष्य राखिएको सूचना पाए अनुसार यस योजनालाई मर्मत सम्भारको लागि गाउँपालिकामा बजेट माग गर्दै अन्य दाताहरुबाट पनि सहयोगको अपेक्षा गरिएको समितिका सचिव भगीरथ नेम्वाङले जानकारी दिए ।
लघु जलविद्युत् सहकारीको रुपमा दर्ता भएको योजनाबाट उत्पादित १२ किलोवाट क्षमताले दिउँसोको समयमा कुटानीपिसानी तथा तेल पेल्ने मिल समेत सञ्चालन गर्दै आएको र विद्युत्को लागि ल्याइएको कुलो स्थानीय कृषकले सिँचाईमा प्रयोग गर्दै आएको भएता पनि पहिरोले पटक–पटक क्षति पु¥याउँदा किसान निराश बनेका छन् ।
जिल्लाकै कृषि उपजको अव्बल क्षेत्र भनेर चिनिएकोे यस भू–भागका बासिन्दा कृषि पेशामा निर्भर छन् । अहिलेसम्म यस टोलमा केन्द्रीय प्रसारणको हाइड्रोलाइन बिस्तार हुन बाँकी रहेको र स्थानीय विद्युत् उत्पादन भरपर्दो नहुँदा मारमा परेको स्थानीयहरु बताउँछन् ।































