‘ब्याक्टेरिया’ हाम्रा असल साथी

३१ असार २०७७, बुधबार मा प्रकाशित

तुलसीराम खरेल,

पृथ्वीमा मानिस, विभिन्न जनावरहरु, चराचुरुङ्गी, वनस्पति तथा सूक्ष्मजीवहरु छन् । माथि नाम दिइएका जीवजन्तु वनस्पतिहरु आँखाले देख्न सकिन्छन् भने सूक्ष्मजीवहरु हाम्रो नाङ्गो आँखाले देख्न सकिन्न । सूक्ष्मजीवहरुको शारीरिक बनोट हेर्न सूक्ष्मदर्शक यन्त्रको जरुरी पर्दछ । धेरै सूक्ष्मजीवहरु सरल सूक्ष्मदर्शक यन्त्रबाट समेत देखिन्नन् । तिनीहरुलाई राम्ररी ठम्याउन निकै पावरफूल इलेक्ट्रोन माइक्रस्कोपको जरुरी पर्दछ ।

हामी धेरै जना सूक्ष्मजीवीहरुको जीवनशैलीबारे अनभिज्ञ नै हुन्छौँ । हामीहरु धेरैको धारणा के हुनसक्छ भने सूक्ष्मजीवहरु मानिसका लागि अत्यन्तै हानिकारक हुन्छन् । तर, धेरै सूक्ष्मजीवहरु मानिसका असल मित्र पनि हुन् । विज्ञान प्रविधि, कृषि, औषधि विज्ञान, एवम् उद्योग कलकारखानाहरुमा सूक्ष्मजीवहरुको निकै ठूलो सहयोग रहेको हुन्छ । जीव विज्ञानमा सूक्ष्मजीव भन्नाले ब्याक्टेरिया (किटाणु), भाइरस (बिषाणु), फन्जाई (ढूसीजन्य जीवहरु) एवम् एक कोषीय लेउ तथा प्रोटोजोवा वर्गका जीवहरु भन्ने बुझिन्छ ।

यस आलेखमा केही सहयोगी ब्याक्टेरियाहरुबारे चर्चा गर्न खोजिएको छ । आम जनमानसमा जीवविज्ञानका तथ्यहरुलाई सकेसम्म सामान्य भाषामा विश्लेषण गरी धेरै भ्रमहरुबाट मुक्त पार्न सहयोग गर्नु प्रमुख उद्देश्य रहेको छ । हाम्रो वायुमण्डलमा आयतनको हिसाबले करिब ७८ प्रतिशत नाइट्रोजन ग्यास रहेको हुन्छ । नाइट्रोजन सबै प्रकारका प्राणीहरुका लागि अत्यन्तै आवश्यक हुन्छ । तर, कुनै पनि प्राणीहरु हावामा भएको नाईट्रोजन ग्यासलाई प्रत्यक्षरुपले लिन सक्दैनन् । नाइट्रोजन सबैभन्दा पहिले नाइट्रोजन फिक्सिङ ब्याक्टेरियाहरुको सहयोगमा जमिनमा आइपुग्छ र सोइल नाईट्रेटको रुपमा रहन्छ । नाइट्रोजनको नाइट्रेट अवस्थालाई प्रायः सबै प्रकारका बनस्पतिहरुले जमिनबाट सोसेर लिन सक्छन् । जमिनमा आएको नाईट्रोजनलाई वनस्पतिले नाइट्रेटको रुपमा लिइसकेपछि त्यो प्रोटिनमा परिणत हुन्छ । वनस्पतिलाई बिभिन्न जीवहरुले खानाको रुपमा उपभोग गर्दछन् । उपभोक्ताहरु धेरै प्रकारका हुन्छन् । उपभोक्ताहरुले वनस्पति उपभोग गरिसकेपछि वनस्पतिमा भएको नाइट्रोजनयुक्त प्रोटिन जनावरहरुको शरीरमा पुग्छ र जन्तु प्रोटिन बन्छ । यसले जीवजन्तुको शरीर निर्माणमा निकै ठूलो सहयोग गर्दछ ।

प्रकृतिमा अर्काखाले पनि ब्याक्टेरिया हुन्छन् जसले सिँधै बायुमण्डलबाट नाईट्रोजनलाई जमिनमा पु¥याउँदैनन् बरु घुमाउरो बाटो प्रयोग गर्दछन् । यिनीहरुलाई एमोनिफाइङ र नाइट्रिफाइङ ब्याक्टेरिया भनिन्छ । मृत शरीरलाई कुहाउने क्रममा मृत शरीरमा भएका अति जटिल प्राङ्गारिक यौगिकहरुलाई एमोनिया र एमोनियम यौगिकहरुमा बदल्ने समूहका ब्याक्टेरियाहरुलाई एमोनिफाइङ ब्याक्टेरिया भनिन्छ । फेरि एमोनिया तथा तिनका यौगिकहरुलाई नाईट्राईट र नाईट्रेटमा बदल्ने ब्याक्टेरियाहरुलाई नाइट्रिफाईङ ब्याक्टेरिया भन्ने समूहमा राखिएको छ ।

तिनीहरुले जमिनमा नाइट्रेटको मात्रा बृद्धि गर्दछन् र मोटोलाई मलिलो पार्छन् । यो नाइट्रेट बिरुवाबाट खाद्यजाल हुँदै जनावरहरुको शरीरमा पुग्दछ र तिनीहरुको बृद्धि र बिकासमा सहयोगी बन्छ । यस प्रकारका ब्याक्टेरियाहरुलाई कृषि उत्पादन वृद्धिमा बायो फर्टिलाइजरको रुपमा प्रयोग गर्न थालिएको छ । नोस्टक, औलोसिरा फर्टिलिसिमा, यसमा प्रयोग हुने भरपर्दा बायो फर्टिलाइजर हुन् । नोस्टोकको प्रयोग युरीयाभन्दा निकै राम्रो मानिएको छ । नोस्टोक नाईट्रोजनको प्रकृतिक स्रोत हो भने युरिया कृत्रिम र रासायनिक स्रोत हो।कोषेवालीहरु दाल, सीमी, चना तथा घंषी जस्ता वनस्पतिका जरामा ससाकना गाँठाहरु देख्न सकिन्छ । त्यहाँभित्र राइजोवियम लेगुमिनेसेरम नामका ब्याक्टेरिया हुन्छन् । तिनीहरुले वायुमण्डलबाट सिधै नाईट्रोजनलाइ खिचेर नाइट्रेट बनाउँछन् । त्यसकारण नाइट्रोजनको स्रोतका लागि यतिबेला घंषी तथा दालजन्य वाली लगाइ माटोको उर्बरा शक्ति बढाउने प्राक्टिस गरिँदै आएको छ । यस्ता प्रकारका बालीहरुलाई ग्रीन म्यानुर भनिन्छ ।

ब्याक्टेरियाहरु कृषिमा मात्र होइन जेनेटिक इञ्जिनियरिङमा समेत प्रयोग हुन्छन् । जेनेटिक इञ्जिनियरिङको सहयोगले जीवका गुणहरु परिवर्तन गर्न, उत्पादन बढाउन, नयाँखाले औषधिहरु बनाउन र काम नलाग्ने अनुपयुक्त गुणहरु हटाउन सकिन्छ । सन् १९७० को दशकदेखि जेनेटिक इञ्जिनियरिङमा ब्याक्टेरियाको उपयोगको बारे बिभिन्न अनुसन्धानहरु हुन थालेका हुन् । जीन अर्थात् बंशतत्वलाई एक जीवबाट अर्कोमा प्रत्यारोपण गरिने कार्यले निकै ठूलो क्रान्ति ल्याएको छ । ब्यासिलस थुरिन्जिनेसीस नामको माटोमा पाइने ब्याक्टेरियालाई निकै पावरफुल प्रोटिन टक्सिन बनाऊन प्रयोग गरिन्छ । यसले किरा मार्न प्रयोग गरिने अर्गानो फोस्फेट इन्सेक्टिसाईडभन्दा असी हजार गुणा बढि सामथ्र्य राख्छ । एग्रो ब्याक्टेरियमको सहयोगले टिएमभी नामको भाइरसको बंशतत्व (जीन) सूर्तीको बिरुवामा प्रत्यारोपण गरेर सुर्तीमा टिएमभी भाइरसको आक्रमणबाट जोगाइ क्षतिको जोखिम टार्न सकिने भएको छ ।

औलोसिरा तथा एनाबिना नामका ब्याक्टेरियाहरुले पानीमा लाखुट्टेका लार्भाहरुलाई बढ्न दिदैनन् र लामखुट्टेको प्राकृतिकरुपमा नियन्त्रण गर्दछन् । एन्टिबायोटिक, भ्याक्सिन तथा एन्टिसेराहरु बनाउन ब्याक्टेरियाको सर्वाधिक प्रयोग गरिन्छ । हामी दूधलाई जमाएर दही बनाउँछौँ । यो कार्य समेत लेक्टो कोकस, ल्याक्टो बेसिलस तथा स्ट्रेप्टो बेसिलस ल्याक्टिस नामका ब्याक्टेरियाले गरेका हुन्छन् । अचार अमिलो बनाउने, मुलाबाट सिन्की बनाउने, गुन्द्रुक बनाउने सबै कार्यहरु ब्याक्टेरियाकै सहयोगले सम्भव भएका हुन् । एसिटोब्याक्टर नामको ब्याक्टेरियाले उखुको रसबाट भिनेगर बनाउन सहयोग गर्छ । अहिले रेडीमेट अचारहरुमा तथा धेरै खाद्यपदार्थहरुमा भिनेगर अत्याधिक प्रयोग गरिँदै आएको छ ।

घाममा बस्दा भीटामिन डी पाइन्छ भनेर हामीहरुले सुनेकै छौँ । भिटामिन डी सिधै सूर्यको किरणबाट शरीरमा पस्ने होइन । बरु सूर्यको किरणको सहयोगले हाम्रो शरीरभित्रका केही यौगिकहरु टुक्रन गइ भिटामिन बन्ने हुन् । यसप्रकार हाम्रो शरीरभित्र भिटामिन के, डी, बी आदिको सिन्थेसिसमा शरीरभित्रका ब्याक्टेरियाहरुले निकै सहयोग पु¥याइरहेका हुन्छन् । तेलजन्य पदार्थको प्रदुषणबाट पर्यावरणलाई शुद्ध राख्ने काम सुडोमोनास भन्ने ब्याक्टेरियाले गर्दछ । यस प्रकार ब्याक्टेरिया हाम्रो जीवनका विविध क्षेत्रहरुमा सहयोग गर्ने हाम्रा असल साथी पनि हुन भनेर बुझ्नु जरुरी छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here