हत्या गरेको १४ वर्षपछि आरोपी पक्राउ

0
637

झापा,

१४ वर्षअघि भएको हत्याका आरोपित पक्राउ परेका छन्। कुटपिट गरी हत्या गरेको आरोपमा मेचीनगर नगरपालिका–५ का ४१ वर्षीय बौदल लामगाधे विक भन्ने पुन्यप्रसाद विश्वकर्मालाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

२०६३ चैत २४ मा साबिक टानघडुब्बा गाविस–९ हाल झापा गाउँपालिका–३ स्थित नन्दलाल विश्वकर्माको घरमा सोही ठाउँका ३५ वर्षीय नत्थु विश्वकर्मालाई पुन्यप्रसादले कुटपिट गरी गम्भीर घाइते बनेका थिए। घाइते नत्थुको उपचारको क्रममा घटना भएको भोलि विराटनगरस्थित विराट नर्सिङ होममा मृत्यु भएको थियो।

टागनडुब्बाको कामाटोली बजारबाट नत्थुको साइकल उनलाई नसोधी पुन्यप्रसादले लगेको र त्यही साइकल लिन जाँदा ससुराली घरमा नत्थुमाथि निर्धात कुटपिट गरेको प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए। नत्थुको मृत्यु भएपछि मृतकका ससुरा रामबहादुर विकले प्रहरीमा कुटपिट गरी कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए। १४ वर्षदेखि फरार रहेका पुन्यप्रसादलाई प्रहरीले असार ३० मा पक्राउ गरेको एसपी कोइरालाले जानकारी दिए।

कोरोनाको त्रासपछि घर फर्किएका उनलाई प्रहरीले मेचीनगर–८ स्थित इँटाभट्टा चोकबाट पक्राउ गरेको हो। प्रहरीमा उजुरी दिने मृतकका ससुराको समेत मृत्यु भइसकेको र मृतकका श्रीमती चन्द्रिका र आफन्त पहिचान गरेपछि उनलाई पक्राउ गरिएको एसपी कोइरालाले बताए।

पुन्य घटना भएपछि १४ वर्षसम्म दुबई, भारतसहित नेपालकै विभिन्न जिल्लामा लुकीछिपी नाम परिवर्तन गरी बस्दै आइरहेका थिए। उनको नागरिकतामा पुन्यप्रसाद विश्वकर्मा रहेको छ। तर, उनलाई बौदल लामगाधे भनेर सबैले चिन्थे। त्यही नामको फाइदा उठाएर उनी यतिका दिनसम्म फरार भएर विभिन्न स्थानमा बसेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

अदालतबाट कर्तव्य ज्यान मुद्दामा सात दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको उनले बताए। यता प्रहरीले श्रीमान् नत्थुको हत्यारालाई पक्राउ गरेपछि उनका श्रीमती चन्द्रिका, छोरा सरोज, घटनाका साक्षी केशवलगायतले प्रहरीको प्रशंसा गर्दै १४ वर्षपछि पनि न्याय पाएकोमा खुसी व्यक्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here