क्यानडाले ग¥यो अमेरिकाको अन्तरीक्ष सपना साकार

0
1032

भुवन तामाङ,

अमेरिका अन्तरीक्ष यात्रा अभियानमा विश्वमै अग्रणी मानिन्छ । किनकि अन्तरीक्ष यात्रा तथा अनुसन्धानमा अरु देशभन्दा अमेरिका नै धेरै सक्षम देखिएको छ । तर, क्यानडाका वैज्ञानिक तथा इञ्जिनियरहरुको सहयोग नपाएको भए चाहिँ अमेरिकी सपना सम्भव हुने थिएन । यसबारे निकै रोचक कथा छ ।

विश्वमा विगतमा दुई ठूला विश्वयुद्ध भएका थिए । युद्धमा विश्वका कैयन देशका धेरै जनधन नष्ट भएका थिए । आकाशबाट युद्धक विमानहरुले बम खसाएर लडाइँ गर्दा छिटो परिणाम आउने कुरा विश्वयुद्धमा होमिएका देशहरुले थाहा पाउँदै आएका थिए । त्यसैले ठूला र धनी देशहरुले युद्धक विमानहरु निर्माण गरी युद्धमा प्रयोग गरेका थिए ।

दोस्रो विश्वयुद्धमा युद्धक विमानहरुको व्यापक प्रयोग भएको थियो । त्यसैले क्यानडाले आफ्नै डिजाइनको ठूलो मात्रामा क्षति गर्नसक्ने युद्धक विमान निर्माण गर्ने नयाँ योजना बनाएको थियो । किनकि ती युद्धक विमानहरु विश्वमा महँगो दाममा बेचेर धेरै पैसा कमाउने सोचेको थियो । तर, युद्धक विमान बेचेर पैसा कमाउने क्यानडाको सपना अधुरै रह्यो ।
चाख लाग्दो कुरा त यो छ कि, क्यानडाले नयाँ योजना अन्तर्गत एउटा मात्र युद्धक विमान बनाएको थियो । थप विमान बनाउनका लागि पैसा जुटाउन सकेन र सोचे जस्तो गरी युद्धक विमानहरु बिक्ने सम्भावना पनि देखेन । दुर्भाग्यवश क्यानडाले थप युद्धक विमानहरु बनाएन । यो घटनालाई अझसम्म क्यानाडाले मात्र होइन विश्वले नै अचम्मको घटनाको रुपमा सम्झना गर्दछन् ।

क्यानडाले बनाएको त्यो एउटै मात्र हेभी विध्वंसात्मक युद्धक विमान हेर्न हजारौं मानिसहरु टोरन्टो शहर पुगेका थिए । विमान प्रति घण्टा एक हजार पाँच सय माईलभन्दा बढी दूरी तय गर्न सक्दथ्यो । त्यो विमान त्यस समयको अन्य युद्धक विमानहरुको दाँजोमा सबैभन्दा तेज गतिमा उड्ने युद्धक विमान थियो । त्यसअघि क्यानडाले ब्रिटेनका लागि ह्याकर हरिकेन र एयरो लेङ्केस्टर जस्ता बम खसाल्ने युद्धक विमान बनाउने गरेको थियो । तर, नयाँ युद्धक विमान निकै तेज गतिको र धेरै विध्वंसात्मक बनेको थियो ।

त्यस समय सोभियत रुस विश्व सुपरपावर थियो । शक्तिशाली युद्धक तथा लडाकु विमान बनाएर क्यानडा पनि विश्व सुपरपावर बन्न चाहन्थ्यो । तर, क्यानडाले युद्धक विमान निर्माण शुरु गरेको छोटो समया नै सन् १९५९ मा युद्धक विमान बनाउने कम्पनी नै बन्द गरेको थियो । क्यानाडासँग पर्याप्त पैसा र अन्य संसाधन नभएको जनाएर युद्धक विमान बनाउने अभियान रोकेको थियो । तसर्थः प्रभावकारी युद्धक विमान निर्माण गरेर तिनलाई बेचेर धेरै धन कमाउने क्यानडाको सपना आफ्नै कारण तुहिएको थियो । क्यानडाले युद्धक विमान बनाउने कम्पनीमा काम गर्ने पन्ध्र हजार जनशक्तिलाई कामबाट निकालेको थियो । त्यतिमात्र होइन युद्धक विमान बनाउने प्रोटोटाइप समेत नष्ट गरेको थियो ।
चाख लाग्दो कुरा त के भएको थियो भने, क्यानडाको सपना तुहिए पनि त्यही परियोजनाका वैज्ञानिक र इञ्जिनियरहरुले चन्द्रमामा पाइला टेक्ने अमेरिकाको सपनालाई भने साकार पारिदिएका थिए । किनकि क्यानडाका ती वैज्ञानिक, इञ्जिनियरहरुलाई अमेरिकाले आफ्नो अन्तरीक्ष परियोजनामा जागिर दिएको थियो ।

क्यानडाका ती वैज्ञानिक, इञ्जिनियरहरुको खुबी अमेरिकाले कसरी थाहा पाएको थियो त ? क्यानडाले बनाएको सो युद्धक विमान अमेरिकामा समेत लगेर परीक्षण उडान गरिएको थियो । अमेरिकाको नेशनल एरोनटिक्स् रिसर्च केन्द्रमा विमानको परीक्षण उडान गरिएको थियो । पछि गएर सो केन्द्र नै नासाको रुपमा विकास भएको थियो । परीक्षण उडानका दौरान क्यानडियन विमानको डिजाइन र क्षमता देखेर अमेरिकीहरु चकित परेका थिए । त्यसैले सो विमान बनाउने ती क्यानडियन वैज्ञानिक, इञ्जिनियरहरुलाई अमेरिकाले मौका दिएको थियो ।
क्यानडाका ती वैज्ञानिक, इञ्जिनियरहरुले आफ्नो देशलाई विश्व महाशक्ति बनाउने अवसर गुमाए पनि उनीहरुले अमेरिकालाई भने विश्व महाशक्ति बनाइदिएका थिए । उनीहरुले अमेरिकाको अन्तरीक्ष केन्द्र नासाको अपोलो स्पेस मिशनका लागि महत्वपूर्ण भूमिका निभाएका थिए । उनीहरुले अमेरिकाको मर्करी, जेमिनी र अपोलो मिशनलाई साकार पारिदिएका थिए । परिणाम स्वरुप, त्यस बेलाको विश्व महाशक्ति सोभियत रुसलाई उछिनेर अमेरिका विश्व महाशक्ति बन्न सक्षम भएको थियो ।

क्यानडाले सो योजना बन्द गर्नुको रहस्य यस्तो थियो । सो एक्लो युद्धक विमान बनाउन क्यानडाले करिब एक सय अन्ठाउन्न अरब डलर खर्च गरेको थियो । त्यति धेरै धन खर्च गरेर बनाएको युद्धक विमानले बजार नपाउने डरका कारण थप विमानहरु बनाउने योजना रद्द गरेको थियो । अचम्म त के भने एउटा युद्धक या लडाकु विमान बनाउन आजको समयमा पनि यति धेरै पैसा चाहिँदैन । तर, त्यति धेरै खर्च केवल एउटा युद्धक विमान बनाउन नभई, सिङ्गो परियोजनाको लागि खर्च भएको थियो भन्ने कुरा क्यानडाले बिर्सेको थियो । परियोजना संरचना तथा पूर्वाधारहरु बनिसकेको अवस्थामा क्यानडाले चाहेको भए कम खर्चमै थप युद्धक तथा लडाकु विमानहरु बनाउन सक्ने थियो । ती विमानहरु बेचेर चाहेको पैसा कमाउन सक्ने थियो । तर, क्यानडाले अचम्मको निर्णय गर्दै परियोजना नै बन्द गरेको थियो । योजना बन्द गरिएको दिनलाई क्यानडामा कालो शुक्रबारको रुपमा सम्झना गरिन्छ ।

क्यानडाको सपना शक्तिशाली युद्धक तथा लडाकु विमान बनाउने मात्र थिएन । एलान्टिक महासागर पार गर्ने सुपर सोनिक विमान समेत बनाउन चाहन्थ्यो । युद्धक तथा लडाकु विमान, अन्तरीक्ष यात्राका रकेट साथै नागरिक विमानहरु समेत बनाएर विश्व महाशक्ति बन्न चाहन्थ्यो क्यानडा । उसको आफ्नै सनकी निर्णयले सपना अधुरै रहेको थियो । तर, क्यानडाको त्यो भिजन सबै चाहिँ खेर गएन । विश्वमा पहिलो शक्ति बन्न नसके पनि वर्तमानमा क्यानडा विश्वमै पाँचौ ठूलो एयरो स्पेश उद्योगको रुपमा काम गरिरहेको छ र धेरै आम्दानी पनि गरिरहेको छ ।

रोचक कुरा यो त छ कि, अमेरिकी एयरो वैज्ञानिकहरु यो कुरा स्वीकार गर्छन् कि क्यानडाले उसको सो परियोजनालाई निरन्तरता दिएको भए आज क्यानडा नै विश्वको महाशक्ति बन्ने सम्भावना थियो । क्यानडाको विश्व महाशक्तिको ताज क्यानाडाकै सानो गल्तिले अमेरिकाको पोल्टामा गएको थियो । जसले गर्दा अमेरिकाको अन्तरीक्ष सपना मात्र साकार भएन कि अमेरिका विश्व महाशक्ति नै बन्न पुग्यो । आज पर्यन्त क्यानडा अमेरिकाको छायाँमा परेको छ र कैयन विषयमा अमेरिकाको निर्देशन मान्न बाध्य बनेको छ । आजका बालबालिका भोलिका कर्णधार हुन् । भविष्यमा देशका शिक्षित, असल, सक्षम जनशक्ति, नीति निर्माता, योजनाकार र सरकार हुन् । निर्णय गर्दा क्यानडाले जस्तो गल्ती नगरुन् र सही निर्णय गर्न सकुन् भन्ने नै यस कथाको मूल सन्देश हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here