बिर्तामोड।

झापाको बिर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले रू तीन करोड ४५ लाख ब्याज मिनाह गरेको छ ।
संस्थाले बन्दाबन्दीको अवधि २०७६ चैतदेखि २०७७ साउनसम्मको चार महिनाको अवधिमा पाकेको ऋणको ब्याजमा १० प्रतिशत अर्थात् रू ३ करोड ४५ लाख मिनाह गरेको संस्थाका सचिव महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो । “यो अवधिमा ऋण कुनैमा पनि हर्जना, जरिवाना लिएका छैनौँ”, उहाँले भन्नुभयो, “ऋणको किस्ता समेत स्वेच्छिक तिर्न सक्ने व्यवस्था गरिएको छ ।”
संस्थाले बन्दाबन्दीको अवधिमा सदस्य तथा समुदायलाई थोरै भए पनि मद्दत पुगोस् भनेर स्वास्थ्य चेतना, खाद्यान्न सामग्री राहत, विपत सापटी र आत्मनिर्भरताका लागि कृषि प्याकेज उपलब्ध गराएको जनाइएको छ ।
“विश्व कोरोना महामारीको संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेका बेला वित्तीय क्षेत्र पनि धेरै प्रभावित भएको छ”, सचिव गिरीले भन्नुभयो, “तर पनि संस्थालाई सबैको मनमा राख्न सामूहिक हितलाई ध्यानमा राखेर अघि बढेका छौँ ।”































