शिवसताक्षी।

शिवसताक्षी नगरपालिकाले जग्गा दिने भएपछि मेची अभियानले कनकाई नदीको बाढीबाट विस्थापित तारा सेर्माको परिवारलाई पक्की घर बनाईदिने भएको छ ।
झापाका पूर्वाञ्चलसहित विभिन्न सञ्चारमाध्यममा तारा सेर्माको घर बाढीले बगाएर परिवारै बिचल्ली भएको समाचार बाहिरिएपछि शिवसताक्षी नगरपालिकाले जग्गा दिने भएको हो । शिवसताक्षी नगरको वडा नम्बर ११ स्थित बच्चाबरमा निर्माण सम्पन्न जनता आवास कार्यक्रमका लागि प्राप्त जग्गामा तारा सेर्माको पनि घर निर्माण हुने नगर प्रमुख चन्द्रकुमार सेर्माले बताए । नगर प्रमुख सेर्माले भने– ‘मेची अभियानसँग सहकार्य गरेर कनकाई नदीको बाढीबाट विस्थापित तारा सेर्मालाई पक्की घरमा भित्र्याउने योजना छ ।’
नगर प्रमुख सेर्माले पत्रकारको भूमिका सकरात्मक भए अप्ठेरो र बिचल्लीमा परेका मानिसको उद्धार र पुर्नस्थापना सहजै हुने बताए । उनले भने– ‘सकरात्मक सोच भएका पत्रकारको कलमले एउटा अति विपन्न परिवारले जीवनभर राहत पाउने भएको छ ।’
जनता आवास कार्यक्रमको जग्गामा १२ वटा घर निर्माण भइसकेका छन् । अब, तारा सेर्माका लागि शिवसताक्षी नगरपालिकाले जग्गा दिने र मेची अभियानले उक्त जग्गामा घर बनाउने पक्का भएपछि त्यहाँ १३ वटा घर हुने छन् ।
निर्माण सम्पन्न घर करिब पाँच धुरमा बनेका छन् । तारा सेर्माले पनि त्यति नै भूमि पाउने नगर प्रमुख सेर्माले बताए । उनलाई करिब पाँच लाख बराबरको घर मेची अभियानले निर्माण गरिदिने अभियानका संयोजक विजय डालमियाले जानकारी दिए ।

तारा सेर्माका तीन जना छोरा–छोरी छन् । ७ वर्षीय छोरी समृद्धी, ६ वर्षीय दिप्रती र अढाई वर्षका छोरा सन्दिपको माध्यमिक तहसम्मको पढाइको पनि चाँजोपाँजो मिलेको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर २ का अध्यक्ष समेत रहेका नगरका सचेतक कुलबहादुर बस्नेतलले उनीहरुको अभिभावकत्व लिने घोषणा गरेका छन् । उनीहरुलाई आवश्यक पर्ने शैक्षिक सामग्री र विद्यालय पोशाक पनि अध्यक्ष बस्नेतले उपलब्ध गराउने बताए । उनले भने– ‘गरिबीकै कारण पढ्न पाउने अधिकार कसैको खोसिनु हुँदैन । म उनीहरुको अधिकार रक्षा गर्छु र माध्यमिक तहसम्मको अध्ययनमा लाग्ने सम्पूर्ण खर्च उपलब्ध गराउँछु ।’
पीडित परिवारको जिविका चलाउन प्रधानमन्त्री रोजगार कार्यक्रमबाट उनलाई रोजगारी दिन सकिने नगर प्रमुख सेर्माले बताए । उनले भने– ‘आत्मनिर्भरका लागि नगरपालिकाले सिपमूलक तालिम दिएर उनलाई रोजगारी दिनेछ ।’ वडाध्यक्ष बस्नेतले पीडितको पुर्नस्थापना र रोजगार स्थानीय सरकारको जिम्मा भएको बताउँदै उनले भने– ‘व्यवसायिकरुपमा पशुपन्छी पालेर पनि सेर्माले आफ्नो परिवारको गुजारा चलाउनु हुनेछ ।’
मेची अभियानका संयोजकसहितको एक टोलीले तारा सेर्माका परिवारका लागि निर्माण हुने जग्गा क्षेत्रको समेत स्थलगत अवलोकन गरेको छ । उक्त टोलीले जग्गा क्षेत्र पायकपर्ने र आधारभूत आवश्यकतायुक्त क्षेत्र भएकाले यसै सातादेखि घर निर्माण हुने संयोजक डालमियाले बताए ।































