सम्झनामा गोपीकृष्ण खनाल

0
1899

दोस्रो स्मृति दिवस

केशव भट्टराई,

भाषा, साहित्य, संस्कृति र पत्रकारिताको माध्यमबाट समाजको सौन्दर्य बढाउन सकिन्छ भन्ने दर्बिलो विश्वासलाई आफ्नो जीवनभर डगमगाउन नदिई नयाँ पुस्तामा चेतना प्रवाह गर्ने पूर्वी नेपालको एउटा स्मरणीय नाम हो– गोपीकृष्ण खनाल ।

तेह्रथुमको आठराई साम्थाङ्गमा जन्मिएर झापालाई कर्मथलो बनाइ राष्ट्रवाद र देशभक्तिको सुवास प्रवाह गरिरहने गोपीकृष्ण खनालको भौतिक देह अब यो धरामा नरहे पनि उनका कर्मले छरेको सुगन्धले आजको पुस्तालाई अविचलित, निष्ठावान, कर्मशील र सादगी जीवन व्यतित गर्न उत्प्रेरित गरिरहेको छ । पवित्रा खनाल र मनोरथ खनालका जेष्ठ्य सन्तानका रूपमा २००४ साल पौष २९ गते जन्मिएका गोपीकृष्ण खनालको सिङ्गो जीवन साहित्य, पत्रकारिता, समाजसेवा, वैदिक सनातन हिन्दू सस्कृतिको संवर्धनमै व्यतित भयो । अभाव, अफ्ट्यारा, असजिला घुम्तीहरुमा पनि हसिलो चेहरामा प्रस्तुत हुन सक्ने धैर्यताका प्रतिबिम्व गोपीकृष्ण खनालको जीवन यात्रामा २०२६ सालदेखि साथ दिइन् रूपादेवी सिग्देलले । जीवनको यो यात्रालाई पूर्णता दिने लहरमा उभिए छोराहरु मनोज र रोशन अनि पुत्रवधू गीता र सुनिता ।

भारत शिलगढीको होटल ब्रोडवेमा व्यवस्थापकको जागिरे जीवन मार्फत घर गृहस्थी सम्हाल्दै सामाजिक उत्तरदायित्व पनि निर्वाह गर्नुपर्ने खनालको दैनिकीमा विक्रम सम्वत् २०२८ सालतिर पश्चिम बङ्गालबाटै प्रकाशित हुने नेपाली भाषाको बाडुली द्वैमासिक पत्रिका जोडिन पुग्यो । यहींबाट उनको पत्रकारिता र साहित्यप्रतिको लगाव बढेको देखिन्छ । त्यही सिलसिलामा भेट हुन पुगेका झापाका सिद्धहस्त पत्रकार नकुल काजीसँगको संगतले २०३० सालसम्म विवेचना मासिक र अर्ध साप्ताहिकका दार्जिलिङ्ग जिल्लाको प्रतिनिधिको रूपमा खनालले काम गरे । त्यसपछि २०३३ सालसम्म झापामै आएर विवेचनाको सहायक सम्पादकका रूपमा उनले काम गरेका थिए ।

पत्रकारिताको यो अनुभव र सिकाइबाट उत्प्रेरित खनाल अर्का सहयात्री अग्रज पत्रकार मदन ढकालको साथमा विश्वदीप साहित्यिक मासिकसहित बिर्तामोड मै पहिलो मुद्रण व्यवसायीका रूपमा स्थापित हुन पुगे । साहित्य प्रतिको रुची र लागाव कै कारणले पछिसम्म स्व. डिकमान विरहीसँगको सहकार्यलाई निरन्तरता दिएर रहर नामक साहित्यिक मासिक पत्रिकालाई प्रकाशन गरेको पाइन्छ । झापा र आसपासका जिल्लाहरुमा आयोजना हुने गरेका साहित्यिक कार्यक्रमहरुमा उनको अनुपस्थिति बिरलै मात्र हुन्थ्यो । त्यस बाहेक छिमेकी मुलुक भारतका दार्जिलिङ्ग, सिक्किम, असम र डुवर्ससम्म खनालको उपस्थिति रहने गरेको थियो साहित्यिक कार्यक्रमहरु मार्फत् ।

२०३७ सालमा मेची अञ्चलस्तरीय साहित्य सम्मेलनको आयोजना गरेर देश–विदेशका चर्चित स्रष्टाहरु पारीजात, पारशमणि प्रधान, भानुभक्त पोखरेल, लीलाबहादुर क्षेत्री लगायतका बहुआयामिक व्यक्तित्वहरुलाई एकै ठाउँमा भेला गर्ने गहन जिम्मेवारी पनि खनालले बहन गरेका थिए ।

२४ वर्षे तन्नेरी उमेरमा पत्रकारिता प्रारम्भ गरेका खनालले आफ्नो जीवन पर्यन्त पत्रकारिता र साहित्य सेवालाई नै आफ्नो परिचय बनाए । उनले सम्पादन गरेका नयाँ विचार साप्ताहिक र नयाँ कामना साप्ताहिक पत्रिका तत्कालीन समयलाई चित्रण गर्ने अमूल्य सन्दर्भ स्रोतका रूपमा आज पनि स्थापित छन् । पत्रकारिता र साहित्य दुबै क्षेत्रलाई एकै साथ अङ्गीकार गर्न सक्षम खनाल नेपाल र भारतका स्रष्टा, सर्जक र सञ्चारकर्मी बीच समन्वय गर्ने दरिलो सम्पर्क सूत्रका रूपमा परिचित थिए ।
साहित्य कुनै जात, वर्ण, भूगोल विशेषको मात्रै हुन सक्दैन । तर, यी सबैलाई साहित्यले सम्बोधन भने गरिरहेको हुन्छ ।

सिर्जना अभिव्यक्तिको माध्यम फरक हुन सक्दछ । तर, यसका अनुरागी संसारका कुना–कुनामा छरिएका हुन्छन् । साहित्य कर्मलाई जोड्दै गर्दा विक्रम सम्वत् २०५५ सालतिर म्यानमारमा रहेका नेपाली भाषी समुदायसँगको आत्मियता होस् अथवा सन् २०१५ मा अमेरिका भ्रमणताका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासीङ्टनले आयोजना गरेको भव्य कार्यक्रम, ती कार्यक्रमहरुमा स्रष्टा गोपीकृष्ण खनालको उपस्थिति र सम्मानले उनको साहित्य कर्मको सुवास परदेशसम्म पनि सुगन्धित थियो भन्ने कुरामा द्विविधा रहँदैन । राजसंस्था प्रति अगाध प्रेम र श्रद्धा पस्कने अनि आफ्नो स्वाभिमान प्रति अविचलित खनालसँग फरक विचार र भावनालाई पनि सम्मानपूर्वक हेर्ने शालीनता थियो जो अरु सबैका लागि उदाहरणीय छ । त्यसैले पनि फरक आस्था र विचार बोकेकाहरुले पनि उनी प्रति हार्दिकता र सम्मान प्रकट गरिरहेका छन् । साइकल र सिर्जना सँगसँगै लिएर हिँड्ने पत्रकार तथा साहित्यकार गोपीकृष्ण खनालका थुप्रै सामाजिक संघ–संस्था मार्फत मानिसका मनहरु जोड्ने धेरै उदाहरण छन् ।

खनालले नेपाल पत्रकार संघ, सनातन धर्म सेवा समिति, श्यामकृष्ण पत्रकारिता पुरस्कार समिति, नेपाल विद्वत परिषद, मोती समस्यापूर्ति प्रकाशन समिति, कनकाई प्रतिभा प्रतिष्ठान, विश्व हिन्दू महासंघ, विरता जेसीज जस्ता दर्जनौं सामाजिक र साहित्यिक संघ–संस्था मार्फत स्मरणीय नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् । पदलोलुपताको जालोबाट अलि परे रहेर निस्वार्थ भाव लिई आफ्नो आस्था र विचारमा अविचलित खनालको जीवनयात्रामा प्राप्ति भएका प्रतिष्ठित सम्मान र पुरस्कारले समयका विभिन्न कालखण्डमा उनी प्रतिको विस्वास र श्रद्धालाई जो कोहीले सहज अध्ययन पनि गर्न सक्दछ ।
बाल्यकालमा गाउँको विद्यालयमा पढ्दा होस् या त ५० वर्षअघि प्रवासमा रहँदा अथवा पछिल्लो समय झापामै सामाजिक एवम् साहित्यिक गतिविधिमा क्रियाशील हँदाका बखत नै किन नहोस्, गोपीकृष्ण खनाललाई हामी सरल, सौम्य र सादगी जीवनयापन गर्ने व्यक्तित्वका रूपमा चिन्न सक्दछौं । जसले साइकल चढेर मेहनत र परिश्रम ग¥यो । जसले अवसर र सम्मानको आशाभन्दा पनि आफ्नो श्रम, समय र सीपलाई निस्वार्थ भावले समाज समक्ष प्रस्तुत ग¥यो । हो, त्यही व्यक्तिको भौतिक देह साइकलमा गुडिरहेका बेला सडक दुर्घटनामा परी समाप्त हुँदा उनले अभिभावकत्व ग्रहण गरेका सामाजिक र साहित्यिक संस्थाहरु स्तब्ध हुन पुगे ।

२०६१ सालमा प्रबल गोरखा दक्षिण बाहु चौथोद्वारा विभूषित गोपीकृष्ण खनाल त्यसअघि र पछि आफ्नो कर्म क्षेत्रसँग सम्बवन्धित दुई दर्जनभन्दा बढी पुरस्कार, सम्मान र कदरपत्रद्वारा सुशोभित भइसकेका छन् । उनले पत्रकारिताकै श्रीवृद्धिका लागि झापामा श्यामकृष्ण पत्रकारिता पुरस्कारको पनि स्थापना गरेका थिए ।

अग्रजलाई सम्मान र आदर गर्नुपर्ने आदर्श वाक्य नविन पुस्तामा बाँडेर सबैसँग सुमधुर सम्बन्ध कायम गर्न सक्ने सरल र मिजासिला व्यक्तित्वका रूपमा परिचित गोपीकृष्ण खनालका सन्तान सरहका तीन वटा कृति प्रकाशित पनि छन् । पक्षघात कविता संग्रह २०५९, यात्रानुभूति यात्रा संस्मरण र बेला–बेलाका वैचारिक विम्ब २०७४ बाहेक प्रकाशोन्मुख झापादेखि अमेरिकासम्म यात्रा संस्मरण र थुप्रै फुटकर कविता, समालोचना, कथा तथा निबन्धहरु स्वर्गीय खनालका अजम्वरी कोशेली हुन् ।

आफ्ना हस्ताक्षर भएका प्रकाशित, अप्रकाशित सबै लेखोटहरु सुरक्षित संग्रह गर्ने खनालको स्वभाव सुदुर भविष्यमा आत्मवृतान्त लेख्नलाई केन्द्रित थियो कि ? भन्ने अनुमान मात्र गर्न सक्दछौं हामी यसबेला । यदि त्यो योजना थियो नै भने पनि कसैलाई सुनाउन नपाइकन निष्ठुरी कालले अल्पायुमै उनलाई हामी माझबाट छुट्याइदियो ।

यो वियोग घर गृहस्थीको अभिभावकीय भूमिकासँग मात्र थिएन । गोपीकृष्ण खनाल सवारी दुर्घटनामा परी सधैँका लागि भौतिक अस्तित्वबाट विलिन हँुदै गर्दा सिंगो समाजले निरन्तर साधनामा क्रियाशील एउटा साधकलाई गुमाएको छ । निष्ठा र इमान्दारिताको सञ्चारकर्म गर्ने अग्रज पत्रकारलाई गुमाएको छ । मौलिक सिर्जना र संस्कृतिमा नेपालीपन जोडेर साहित्य सेवा गरिरहने सर्जकलाई गुमाएको छ । प्राकृतिक मृत्युवरणलाई संसारको रीत यस्तै हो भनेर मन बुझाउन अभ्यस्त तपाईं हामीलाई गोपीकृष्ण खनालको असामयिक निधनले अलि बढी नै विक्षिप्त पनि बनाएको छ ।

निरन्तरता, लगनशिलता र मेहनती स्वभावका पर्याय यिनै सामाजिक अभियन्ता स्व. गोपीकृष्ण खनालको व्यक्तित्व र कृतित्वलाई सजिव तुल्याउन अनि उनको सादगी जीवनको सन्दर्भलाई नयाँ पुस्तामा सम्प्रेषण गर्नका लागि परिवारजनले निधन पछिको १३औं दिनको पुण्यतिथिमा गोपीकृष्ण स्मृति प्रतिष्ठान स्थापनाको घोषणा गरे । सोही प्रतिष्ठानले साहित्य, समाजसेवा र पत्रकारिताको क्षेत्रमा निरन्तर निःस्वार्थ भावले सामाजिक उत्तरदायित्व निर्वाह गर्नेलाई उनको जन्म जयन्तीको सन्दर्भ पारेर गोपीकृष्ण स्मृति पुरस्कारद्वारा सुशोभित गरिने योजना तय गरेको छ ।

स्वर्गीय खनालको व्यक्तित्व, कृतित्व र सामाजिक उत्तरदायित्वका आयामहरुलाई अभिलेखीकरण गरी संस्थागत गर्दै भावीपुस्तालाई समाजोपयोगी रचनात्मक क्रियाकलापमा अभिप्रेरित गर्नु पनि यो प्रतिष्ठानको मुख्य ध्येय रहेको छ । यस घडीमा उनको लगाव, निष्ठा, इमान्दारिता, स्वाभिमान र लगनशिलतालाई अनुशरण गरी समाज निर्माणमा चालिएका उनका पदचापहरुलाई पछ्याउँदै अघि बढ्नु नै स्वर्गीय गोपीकृष्ण खनाल प्रतिको सच्चा श्रद्धाञ्जलि हुनेछ ।

(भट्टराई नेपाल पत्रकार महासघ झापाका सहसचिव हुन् ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here