दुहागढी ।

हातेमालो सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध मेचीनगर १४ का उपभोक्ताहरुले आफ्नो वडा क्षेत्रमा पर्ने वन क्षेत्र छुट्याई वडा स्तरीय समिति मार्फत संरक्षण गर्नु पर्ने माग गरेका छन् ।
साविक दुहागढी गा.वि.स. अन्तर्गत पर्ने सो वन समूहमा हाल मेचीनगर १३ र १४ नं. वडाका उपभोक्ताहरु आबद्ध छन् । दुबै वडाको संयुक्त वन भएपनि समूहको कुनै पनि आधिकारिक दस्तावेजमा मेचीनगर १४ उल्लेख नभएको हुँदा वडाको पहिचान गुमेको साथै समूहबाट प्रदान गरिने सेवा सुविधामा विभेद भएको भन्दै १४ नं. वडाका उपभोक्ताहरु आन्दोलित भएका हुन् ।
असन्तुष्ट उपभोक्ताहरुले आइतबार वडा अन्तर्गत पर्ने वन वडाकै स्वामित्वमा ल्याई रेखदेख तथा संरक्षणका लागि छुट्टै समिति बनाउने प्रक्रिया सुरु गर्न माग गर्दै वडा कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।
स्थानीय तिलक भुजेल, लोकेश्वर चौधरी, प्रितम पनेरु लगायत २ सय २५ भन्दा बढी उपभोक्ताहरुको हस्ताक्षर भएको ज्ञापन पत्र वडा अध्यक्ष शंकर प्रसाद पोख्रेललाई हस्तान्तरण गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै वडा अध्यक्ष पोख्रेलले सरोकारवालाहरुको बृहत छलफलको आयोजना गरी समस्याको समाधान गर्न पहल गर्ने बताएका थिए । हातेमालो सामुदायिक वन उपभोक्ता समितिको वर्तमान कार्य समितिको पदावधी समेत १ महिना पछि समाप्त हुने बताइएको छ ।































