शहीद डिल्ली गौतम स्मृतिसभा

0
1950

सुरुङ्गा ।

शहीद डिल्ली गौतम स्मृति प्रतिष्ठान सुरुङ्गाको आयोजनामा २७ औं शहीद डिल्ली गौतम स्मृतिसभा सम्पन्न भएको छ ।

प्यारागन एकाडेमी सुरुङ्गाको सभाहलमा प्रतिष्ठानका अध्यक्ष रवीन्द्र लम्सालको सभापतित्वमा भएको कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी १ नं. प्रदेश कमिटी सदस्य एवम् झापा क्षेत्र नं. ४ का प्रदेशसभा सदस्य हीराकुमार थापाको प्रमुख आतिथ्यमा भएको थियो ।

कार्यक्रममा नेता थापाले समाजमा शोषण, दमन, अन्याय र भ्रष्टाचार अहिले पनि विद्यमान रहेकाले नेकपा र निर्वाचित जनप्रतिनिधिले सबै विकृति र विसंगतिका विरुद्ध उभिनुपर्ने बताए । उनले कम्युनिष्ट पार्टीका कार्यकर्ता र पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले आफ्ना कामकारवाही र आचरणको वस्तुनिष्ठ समीक्षा र सिंहावलोकन गर्न आवश्यक रहेको बताए ।

२०३६ सालदेखि नै विद्यार्थी आन्दोलनमार्फत कम्युनिष्ट पार्टीप्रति आकर्षित थापाले जनप्रतिनिधिहरु भ्रष्ट कर्मचारीसँग बहकिएर दिगभ्रमित हुन थालेकोमा चिन्ता व्यक्त गरे । दुई तिहाइ मतादेशप्राप्त नेकपाले अब जनपक्षीय काम गर्न नसकेको दोष अरुको थाप्लोमा हाल्न नमिल्ने उनको भनाइ थियो ।

कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेलले सम्पूर्ण नगरवासीको चाहना अनुरुप योजनाबद्ध रुपमा नगरको समस्त विकास निर्माणमा लागीरहेको बताए । नेकपा झापा जिल्ला सदस्य समेत रहेका मेयर पोखरेलले नगरपालिकाले खर्च कटौती गर्दै नगरपालिकामा सुशासन कायम गर्दै भ्रटाचारमुक्त नगर बनाउन क्रियाशिल रहेको जानकारी दिए ।

अन्याय, अत्याचार र विभेदका विरुद्ध लड्ने क्रममा डिल्ली गौतमको २०५० साल साउन ४ गते शहादत भएको थियो । उनी एक लगनशील, मेहनेती, कर्तव्यपरायण र कम्युनिष्ट विचारधाराप्रति गहीरो आस्था राख्ने मजदुर थिए । २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय रुपमा हत्या भयो ।

त्यो हत्याकाण्डको विरुद्धमा देशव्यापी शोक फैलिएसँगै हत्याको सत्यतथ्य सार्वजनिक गर्न आन्दोलनको उभार उठ्यो । पार्टीको आयोजनामा झापाको दमकमा मजदुरहरुको जुलुश निस्क्यो । जुलुश अगाडि बढिरहेको बखतमा तत्कालीन प्रहरी निरीक्षक सुरेन्द्र सिंहले चलाएको गोली लागी गौतमले अमरत्व प्राप्त गरे । बचाउन सकिन्छ कि भनेर साथीहरुले अस्पताल लगे पनि त्यो प्रयास सफल भएन ।

सो स्मृतिसभामा शहीदपत्नी देवका, आमा पुण्यवती लगायत परिवारजनको उपस्थिति रहेको थियो । नेकपा १ नं. प्रदेश कमिटी सदस्य प्रेमप्रसाद दाहाल, कनकाई नगरपालिकाका उपप्रमुख मञ्जु प्रसाई, नेकपा झापा स्कूल विभाग सदस्य अम्बिका उप्रेती, नेकपा झापा सचिवालय सदस्य गोपाल प्रसाई, जिल्ला सदस्य शारदा पाठक, पुराना वामपन्थी नेता गोकर्ण ओझा लगायतको आतिथ्य रहेको कार्यक्रममा झापा जिल्ला सचिवालय सदस्य जनार्दन उप्रेती, शहीदपत्नी देवका गौतम लगायतले शहीदले देखाएको बाटोमा इमान्दारिताका साथ लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा पार्टी कार्यकर्ता तथा जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका अध्यक्ष लम्सालले प्रतिष्ठानले कनकाई नगरपालिका–१ मा ३ कठ्ठा प्राप्त गरेको र आगामी दुई वर्षभित्रमा उक्त स्थानमा सभाकक्ष तथा तालिमहल निर्माण गर्ने कार्ययोजना सुनाए । प्रतिष्ठानले स्थानीय, प्रादेशिक तथा संघीय सरकारको सहयोगमा समाजमा रचनात्मक कामहरु गर्ने बताए । प्रतिष्ठानका कोषाध्यक्ष चम्पा सुवेदीले औचित्यसहित स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव विनोद रानामगरले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here