अब सच्चिने पालो दलहरुको

0
1367

राजकुमार पोखरेल,

वि.सं. २००७ सालपछि नेपालको कुनै सरकारले पाँच वर्ष शासन गरेको हामी नेपालीहरुले अहिलेसम्म भोगेका छैनौं । त्यसैले स्थिर सरकार कस्तो हुन्छ भनेर हरेक नेपालीको मनमा कौतुहल हुनु स्वभाविक हो । पछिल्लो समयमा जुनसुकै दलको भए पनि देशले स्थायी सरकार प्राप्त गरे हुन्थ्यो भन्ने धेरै नेपालीको चाहना थियो । किनकि अस्थिर सरकारका कारण देशले सही दिशा र गति लिन नसकेको हाम्रो बुझाइ रह्यो । हुन पनि देशमा राजनीतिक व्यवस्था परिवर्तन भयो । देश गणतन्त्रात्मक बन्न पुग्यो । राज्य शक्तिको श्रोत जनता हुन्– भनियो । तर, जनताले परिवर्तनको अनुभूति गर्न भने सकेनन् । सबै सरकारी निकायहरुको काम गर्ने शैली उस्तै रह्यो । पहुँचवाला र सर्वसाधारणमा उस्तै विभेद रह्यो । शिक्षा लिन महँगो शुल्क तिर्नुपर्ने भयो । जीवन रक्षाको लागि अस्पताल त गयो तर ऋणको बोझले कि मानसिक तनाव बोक्नुपर्ने कि त आत्महत्या गर्नु पर्ने अवस्था आयो । दुईछाक खानका लागि बिदेशिनु पर्ने भयो । सरकार बनाउन होस् या सरकार चलाउन बैदेशिक सरसल्लाह लिनुपर्ने भयो । देश सबै क्षेत्रमा परनिर्भर बन्दै गयो । धार्मिक, सांस्कृतिक, भाषिक र जातीय संरचनामा खलल पुग्न दिएर नेपाल र नेपालीको पहिचान गुम्ने स्थिति सृजना भयो ।

यस्ता धेरै कारणहरु छन्, जुन चाहिँ अस्थिर सरकारको कारण भएको हो भन्ने नेपालहरुको बुझाइ रह्यो । किनकि नेपालीले सबै प्रणाली र सबै पद्धति अवलम्वन गरे । सबै दलहरुले पालैपालो कहिले एक्लै र धेरै पटक मिलेर शासन गरे । सहमति र सहकार्यमा शासन गरे । पालैपालो प्रायः सबै नेताहरु प्रधानमन्त्री र मन्त्री बने । तर पनि देश र जनताले केही उपलब्धि हाँसिल गर्न सकेनन् । यसरी देशले गति लिन नसक्नुको कारण खोज्दै जाँदा दोष दिन मिल्ने एकमात्र कारण बाँकी रहेको देखियो, त्यो थियो अस्थिर सरकार ।

मौसम बदली भइरहे झैं घरी–घरी फेरिरहने सरकारबाट नेपालीहरु वाक्क–दिक्क भएका थिए । त्यसैले स्थायी सरकार माथिका सबै समस्याको निर्विकल्प समाधान हो भन्ने नेपालीले बुझ्न पुगे । त्यसैले निर्वाचनताका राष्ट्रवादी छवि बोकेर उदाउनुभएका केपी शर्मा ओली नेतृत्वको पार्टीलाई पुरै अवधि शासन गर्न जनताले अभिमत दिए । उहाँहरुले संसदमा दुई तिहाई बहुमत पनि पु¥याउनु भयो । छ वटा प्रदेशमा पनि नेकपा कै बहुमतको प्रादेशिक सरकार बन्यो । स्थानीय निकायमा नेकपा कै बहुमत रहे कै थियो । तर, फेरि पनि नेपाली जनताको चाहनामा बज्रपात प¥यो । दोषी देखिएको अस्थिर सरकार र स्थिर सरकारमा भिन्नता नै देखिएन । भ्रष्टाचारका काण्डहरुमा पहिलेदेखि मुछिएकाहरुलाई यो सरकारले ठिङ्गुरामा हाल्छ भन्ने आशा नेपाली जनताको थियो । तर, कार्वाही त परै जाओस् उल्टै यही सरकारका पालामा ठूला–ठूला भ्रष्टाचारका घटना घटेको सुन्न र पढ्न पाइयो । अझ त्यो त झन झाँगिँदै स्थानीय तहसम्म जरा गाड्न पुग्यो भनेर सुन्न–पढ्न प¥यो । अघिल्ला अस्थिर सरकारहरुले विधिको पालना गरेनन् । सर्वसाधारणलाई विभेद गरे भनेको सुनिन्थ्यो, तर यो सरकार त अन्य दलका मानिसहरु प्रति असहिष्णु नै बन्यो । स्थिर सरकार बलियो त हुने नै भयो । त्यसमा पनि दुई तिहाईको मात यति लाग्यो कि सरकारको कार्यशैली प्रति फरक मत राख्नेहरु माथि अरिङ्गाल झैं जाईलाग्न निर्देशन नै दिइयो ।

नेपालमा हिजैदेखि राजनीति सेवा नभएर पेशा व्यवसाय बनिरहेको हो । राजनीति गर्नेले वा उनीहरुसँगको पहुँच पुगेकाहरुले मात्र जागिर, व्यापार–व्यवसाय, उद्योग र ठेक्कापट्टा गर्न सक्ने परिवेश र परम्परा पहिलेदेखि नै चलिरहेको छ । यो सरकारले त्यसलाई निर्मूल पार्ला भन्ने जनअपेक्षा थियो । तर, यो सरकारले त्यसलाई झनै संस्थागत गरिदियो । यस्तो गतिविधिबाट सर्वसाधारण मानिसहरु मात्र होइन दलका नेता कार्यकर्ताहरु पनि असन्तुष्ट रहेको भेटिन्छ ।

मानव सभ्यतालाई चुनौति दिइरहेको कोभिड–१९ को महामारीमा सरकारले उल्लेख्य भूमिका खेल्न नसकेकोमा सबै जना झनै दुःखी छन् । लाभको पदमा बसेका वा उनीहरुको छत्रछायामा फस्टाउन पाएकाहरु पूर्ण सन्तुष्ट होलान् । तर, नेकपाभित्रको लाखौं इमान्दार कार्यकर्ता भने यस बेला निराश बनेका छन् । किनकि नेकपाको सरकार यति कमजोर होला भनेर अन्य दलका नेता कार्यकर्ता मात्र होइन आम नेपालीले पनि ठानेका थिएनन् । नेकपाका कार्यकर्ता र समर्थकहरुले त यो सरकारबाट ठूलै परिवर्तन हुने आशा बोकेका थिए । ‘के सोचँे मैले, के भयो अहिले’ गीतको पंक्ति झैं सोचेको सबै उल्टो उनीहरुले पाए ।

यसरी नेपालमा पद्धति र प्रणाली परिवर्तन भएर केही उपलब्धि हुन सकेन, न स्थायी सरकार बनेर सोचे झैं प्रगति हुन सक्यो । अर्कोतर्फ विकल्प जति सकिएको देखिन्छ । सबै दोष देखाउने ठाउँहरु सकिए । पञ्चायत सकियो । राजसंस्था सकियो । एकात्मक राज्य प्रणाली सकियो । हिन्दूराष्ट्र सकियो । गणतन्त्र आयो । संघीयता आयो । धर्म निरपेक्षता आयो । जनताको छोराछोरी राष्ट्रपति, प्रधानमन्त्री बने । तर पनि उपलब्धि ‘हात्ती आयो, हात्ती आयो फुस्स’ झैं भयो । तर, अझै पनि दोष खोज्ने प्रवृत्ति सकिएन । नेपाली जनतालाई मुर्ख बनाउन सत्ताधारी दलभित्र दोषी खोज्ने अभियान चलिरहेको छ । एकले अर्कोलाई दोषारोपण गर्ने खेल खेलिँदै छ । नेतृत्व परिवर्तनको रस्साकस्सी शुरु भएको छ । यसले कस्तो कस्तो दुर्घटना निम्त्याउला अनुमान गर्न कठिन छ । तर, के व्यक्ति परिवर्तनले जादुको छडी झैं सबै परिवर्तन हुन सक्ला ? सबै अव्यवस्थित गतिविधि रातो रात व्यवस्थित बन्न पुग्ला त ? पक्कै पुग्दैन । किनकि नेतृत्व परिवर्तन भयो नै भने पनि कोही नयाँ व्यत्ति आउनेवाला छैन ।

सम्भाव्य नेतृत्व सबैको दक्षता, क्षमता, कार्ययोजना र कार्यशैलीको बारेमा सबै नेपालीहरु पूर्णरुपले परिचित नै छौं । त्यसैले सबै नेपालीहरुले अहिलेको परिस्थितिलाई गम्भीरतापूर्वक लिनुपर्ने हुन्छ । त्यसमा पनि सबै राजनीतिक दलका युवाहरु त गम्भीर बन्ने मात्र होइन कि सजगताका साथ पार्टीको गतिविधिमा सक्रिय बन्नुपर्ने बेला आएको छ । नेपालमा कुनै पनि गतिविधि सुचारू रुपले सञ्चालन हुन नसक्नुमा पद्धतिको भन्दा नेपाली नेताहरुको प्रवृत्ति जिम्मेवार छ भन्ने निचोढमा पुग्न अब ढिलो गर्नुहुन्न । ओझेलमा पारिएको सबै राजनीतिक दलका नेता कार्यकर्ताहरुले पार्टीभित्र सशक्त रुपले संघर्ष गर्न थालनी गर्नुप¥यो । हिजो नेतृत्व प्राप्तिका लागि पार्टीभित्र तपाईंहरुले संघर्ष गर्नुभयो होला । अब पार्टी शुद्धीकरण र सुदृढीकरणका लागि फेरि एकपटक सबै राजनीतिक दलका इमान्दार कार्यकर्ताहरुले पार्टीभित्र संघर्ष शुरु गर्नुप¥यो । आम नेपालीहरु चाहे कुनै पेशाकर्मी हुन् वा मजदुर, किसान अथवा सञ्चारकर्मी हुन्, सबैले दलभित्रको कु–संस्कारलाई जरैदेखि फाल्न दलभन्दा माथि उठेर सहयोग गर्नुप¥यो । हिजो विभिन्न समयको जन आन्दोलनमा सबै नेपाली होमिए झैं दलहरुलाई शुद्धीकरण गर्न सबै जागरुक हुन ढिला भइसक्यो । महामानव वीपी कोइरालाले भन्नुभएको थियो कि– ‘प्रजातन्त्र प्राप्ति पछि दलभित्र सुकिला–मुकिलाहरु हाबी हुने छन् । उनीहरुलाई हटाउन फेरि एकपटक आन्दोलन गर्नुपर्छ ।’ त्यो आन्दोलन गर्न जति ढिलो ग¥यो, देशले उति नै दुःखी रहनुपर्छ ।

सुकिला–मुकिला मानिसहरु भनेको सफा कपडा लगाउने र धन–सम्पत्ति भएको व्यक्ति भनेर पनि पार्टीभित्र अथ्र्याइएको पाइयो । तर, वीपीले भन्नुभएको व्यक्तिको प्रवृत्तिको बिषयमा हो । चाहे त्यो जेलनेल भोगेको नेता कार्यकर्ता नै किन नहुन, यदि ऊ दलको बिचार, सिद्धान्त, मूल्य, मान्यता र आदर्शलाई बिर्सन्छ र आफूलाई स्थापित गर्न खोज्छ भने त्यही हो सुकिला–मुकिला व्यक्ति । यस्तै व्यक्तिहरुका कारण अहिले दलीय व्यवस्था नै बदनाम हुन पुग्दैछ । यस्तै व्यक्तिहरुले राजनीति सेवालाई पेशा बनाएको देखेर युवावर्ग राजनीतिलाई फोहोरी खेल भनेर भाग्न थाले । यसरी भविष्यका कर्णधार युवापिढीलाई राजनीति घृणाको बिषय बन्यो भने देशको भविष्य अन्धकारमय हुने निश्चित छ । अहिले जो युवाहरु राजनीतिमा छन् उनीहरुले पार्टीलाई होइन आफूलाई स्थापित गर्ने फोहोरी खेल खेल्न सिकिसकेका छन् । त्यसैले यदि नेपाललाई माथि उठाउन परिवर्तनकारी काम गर्ने हो भने, दलभित्र मौलाएको व्यक्तिवादी चरित्र परिवर्तन गर्नुपर्छ । पार्टीको सिद्धान्त र आदर्शलाई जीवन्त राख्न नीतिवान र चरित्रवान नेता कार्यकर्तालाई अघि बढ्न पार्टीलाई प्रजातान्त्रिक बनाउनुपर्छ । भन्नलाई त हरेक पार्टी विधि–विधानले चल्ने भनिन्छ । तर, पार्टीलाई मुठ्ठीभर नेताहरुले पकडमा राखेका छन् । उनीहरुका आसेपासेले मात्र पार्टीमा चुनाव जित्ने र हारे पनि जिम्मेवारी पाएको हामी सबैले देखेको भोगेको नै बिषय हो ।

अहिले दलहरुको नेताका रुपमा परिचित व्यक्तित्वहरु यदि दललाई पूर्ण प्रजातान्त्रिक ढङ्गले सञ्चालन गर्ने हो भने भोलि उहाँहरुलाई खोज्न इतिहास पढ्नुपर्ने हुन्छ । यसबाट के बुझिन्छ भने दलभित्र नाम मात्रको प्रजातन्त्र छ । त्यसैले देश राम्रो बनाउने हो भने दल राम्रो बनाउनुप¥यो । अनि दल राम्रो बनाउने हो भने समाजले पत्याएको, योग्य, दक्ष, नैितक, चरित्रवान, युवा व्यक्तित्वहरुलाई दलको नेतृत्वमा अघि बढ्न सक्ने विधान बन्नुप¥यो । दल बिधान अनुसार चल्नुप¥यो । दल बिधानसम्मत चले–नचलेको स्वतन्त्र निकायले सर्वेक्षण गरेर ग्रेडीङ गर्नु प¥यो र जनतालाई सुसूचित हुने मौका दिनुप¥यो ।

महामानव वीपी कोइराला, सन्त नेता कृष्णप्रसाद भट्टराई, लौह पुरुष गणेशमान सिंह, कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, जननेता मदन भण्डारी, आदर्शवान नेता मनमोहन अधिकारी जस्ता धेरै–धेरै नेताहरु कार्यकर्ताहरुको त्याग र बलिदानबाट प्राप्त उपलब्धि रक्षा गर्ने हो भने उहाँहरुले देखाएको बाटोमा हिँड्न अब ढिलो गर्नुहुन्न । हाम्रो नियति नै यस्तै हो भनेर चुपचाप मुकदर्शक बनेर बस्नुको बदलामा आफू संलग्न दललाई दलको दर्शन, बिचार, सिद्धान्त अनुसार सच्चिएर हिँड्न अभिप्रेरित गरौं । किनकि देशमा अब परिवर्तन गर्न एकै चिज हामीसँग बाँकी रह्यो, त्यो हो दलका नेताहरुको व्यक्तिवादी स्वार्थी विचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here