हरियो चुरा र पोतेको पसलमा भीड

0
2237

विराटनगर,

बन्दाबन्दी भएपनि अहिले प्रदेश नं १ को राजधानी विराटनगर बजार यतिखेर पूरै हरियाली भएको छ । साउन महिनाको आगमनसँगै विराटनगरको बजार होस् वा भित्र गल्लीका शृङ्गार र कपडा पसलमा अहिले महिलाहरुलाई हरियो चुरा, हरियो पोते, पहँेलो पोते, मेहन्दी, हरियो साडी खरीद गर्न भीड लागेको देख्न सकिन्छ ।

विराटनगर गुद्रीमा रहेको रियाज स्टोरका व्यापारी रियाज हकले कोभिड–१९ को महामारीका कारण गत वर्षभन्दा यस वर्ष साउन महिनामा आफ्नो व्यापार घट्को भएपनि सामाजिक दूरी कायम खरिद गर्ने क्रम वृद्धि भइरहको बताउनुभयो ।

न्यू दिदी शृङ्गार पसलका व्यापारी विपिनसिंह भण्डारीले गत वर्षभन्दा यो वर्ष बन्दाबन्दी, सार्वजनिक यातायात बन्द र कोभिडको डरत्रासले विगत वर्षहरुभन्दा व्यापार केही खस्केको भए पनि केही दिन पछि व्यापारमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । अहिले महिलालाई जरी भरेको चुरा, बुट्टेचुरा र साधा चुरा बढी मन पराउने र आफूले पनि त्यही सामान बिक्री गरिरहेको उहाँले जानकारी दिनुभयो ।

साउन महिनामा हरियो चुरा र मेहन्दी लगाउने महिलाको सङ्ख्या दिन प्रतिदिन वृद्धि भइरहकाले व्यापारमा सोही अनुपातमा बिक्री बढ्ने आशा गर्न सकिन्छ उहाँले भन्नुभयो । पसलमा चुरा किन्न आउनुहुने विराटनगर–४ निवासी नवयुवती कल्पना खनालले साथीहरुले लगाएको देखेर र साउन महिनामा चुरा र मेहन्दी लगाउन रहर लागेकाले चुरा लगाउन र मेहन्दी किन्न आएको बताउनुभयो ।

यस्तै विराटनगर निवासी ५० वर्षीया एलिना दाहाल हिन्दू महिलाले साउन महिनालाई विशेष रुपमा लिने गरेको र साउनमा हरियो चुरा, हरियो पोते, मेहन्दी र हरियो बस्त्र लगाई भगवान् शिवको पूजा गर्ने, सोमबारको ब्रत बस्ने, श्रीमान्को लामो आयु तथा दीर्घायू जीवनको कामना गर्ने गरेको प्रतिक्रिया दिनुभयो ।

विराटनगर बजारमा यतिखेर व्यापारीलाई सामान बिक्री गर्न चटारो छ । विवाहित महिला होस् वा अविवाहित महिला कतिले रहरले लगाउने गरेका छन् भने कतिले देखासिकी गरेर हरियो चुरा र मेहन्दी लगाउने चलन नै भइसकेको छ । हरियो रङ्गलाई समृद्धिको प्रतीक पनि भनिने भएकाले हिन्दू महिलाले श्रीमान्को समृद्धिको कामना गर्दै विवाहित महिलाले हरियो चुरा, पोते, हरियो लुगा र मेहन्दी लगाउने धार्मिक प्रचलन रहेको छ ।

साउनमा हरियो चुरा, हरियो पोते, मेहन्दी र हरियो साडी एकले अर्कालाई उपहार पनि दिने चलन रहेको छ भने बजार यी सामानको खरिद बिक्री पनि बढेको पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here