गौरीगञ्ज।

हाम्रो समाजमा कति प्रकारको विवाह गर्ने चलन होलान् ? कसैले तपाईंलाई सोध्यो भने उत्तर हुन सक्छ– मागी, प्रेम अथवा कानूनी विवाह । तर, हामो समाजमा विवाह गर्ने चलन यति मात्रै छैनन् । समाजमा यस्तो पनि समुदाय छ, जसको विवाह गर्ने चलन आठ प्रकारको छ ।
झापा, मोरङ, सुनसरी जिल्लामा बसोवास गर्ने राजवंशी समुदायमा यो चलनबाट विवाह भएको देख्न सकिन्छ । यस समुदायमा मागी विवाह (बरवधु पक्षबीच समझदारीमा भएको विवाह), धन्नीमा विवाह (कन्याकेटीको घरमा वर आएर विवाह गरेर बस्ने), डाङ्गुआ विवाह (विधवासंग घरमा लोग्ने मान्छे आइ घरजम गर्ने), दामेदुमो विवाह (कन्या केटी आर्थिक अभावका कारण वरको घरमा ल्याई विवाह गर्ने), घरढुक्का विवाह (केटाकेटी मन पराएर केटीले आफूखुशी केटाको घरमा गई बस्ने), भातार धरा विवाह (केटाकेटी मन पराइ बाहिर नै विवाह गर्ने), किआ विवाह (विधवा महिलालाई केटाको घरमा ल्याई विधि विधान गरी घरजम गराइदिने विवाह) र जाँघ विवाह वा समद विवाह ।
राजवंशी समुदायको विवाह संस्कार आफ्नै मौकिलतामा आधारित भएको राजवंशी समुदायका अगुवा पर्वत राजवंशी बताउँछन् । ‘सुन्दा त अनौठो लाग्न सक्छ तर संस्कार भन्ने कुरा नराम्रो होइन– राजवंशी भन्छन्– ‘यसलाई जगेर्ना गर्नुपर्छ ।’
राजवंशी समुदायमा विवाह गर्ने चलन धेरै भए पनि वर्तमान अवस्थामा त्यस्तो नरहेको राजवंशी युवाहरु बताउँछन् । कोचिला गाभुर फ्रन्टका केन्द्रीय अध्यक्ष तथा सामाजिक अभियन्ता अभय राजवंशी भन्छन्– ‘पहिलाको जमानामा यी संस्कार थिए तर हिजोआज हराउँदै गएका छन् ।’ हाल राजवंशी समुदायमा मागी विहेको नै बढी चलन रहेको उनले बताए । मागी विहे गर्ने चलन रहे पनि नयाँ पुस्ताका युवायुवतीहरु प्रेम विवाह गर्न रुचाउँछन् । उनीहरु पारिवारिक डरका कारणले प्रेम विवाहको प्रस्ताव घर परिवारमा राख्न सक्दैनन् ।
मागी विहे परम्परादेखि चलिआएकाले यस समुदायका मानिसहरु प्रेम विवाहलाई सहजै स्वीकार्दैनन् । मागी विहेमा कन्या (बेहुली) र दुलाहा (बेहुला) को खोजी गरी दुवै परिवारको विवाहमा सहयोगीको भूमिका खेल्ने मध्यस्तकर्ता हुन्छ, जसलाई कारुवा (लमी) भनिन्छ । कारूवाले मागी विवाहमा अहम भूमिका खेलेको हुन्छ । कारूवाले शुभदेखा तिलक र डालीखरा यी तीन प्रमुख कार्यमा सहयोगीको भूमिका खेल्छ । विवाहमा दुलहा दुहलीले आफ्नै परम्परागत पोशाक लगाउँछन् । आफ्नै परम्परागत ढोलढाल (बाजागाजा)का साथ बैरात (जन्ती) जाने गर्छन् ।
विवाहमा आफ्नो गच्छे अनुसार नाता कुटुम्बलाई निमन्त्रणा गरी भोज खुवाइन्छ । विवाह सम्पन्न गराएको उपलक्ष्यमा लमीलाई नयाँ लुगाफाटा किनिदिने प्रचलन छ । यस समुदायले बैशाख, जेठ, असार र साउन महिनालाई विहे गर्ने महिनाको रुपमा लिएको पाइन्छ । तर, पछिल्लो समयमा पुस, माघ र फागुन महिनामा पनि राजवंशी समुदायले विवाहवारी गर्ने गरेका छन् ।
विवाह गरेको सालको भदौ महिना बेहुलीले माइतमा गएर बस्नुपर्ने प्रचलन रहेको छ । मागी विवाहमा बेहुला र बुहेलीको पोरुआ (कुलदेवता) हेरेर मात्र विवाह हुने गरेको छ । दुवै (बेहुला बेहुली) को घरको कुल देवता एउटै भए बैबाहिक जीवन सुखमय हुने विश्वास रहेको पाइन्छ ।































