तुलसीप्रसाद निरौला / विर्तामोड ।

क्रिएटिभ नेप्लिज युथ विर्तामोडको आयोजनामा विर्तामोडमा आत्महत्या न्युनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले जारी गरेको लकडाउनमा आत्महत्याका घटना बढिरहेका बेला त्यसलाई न्युनिकरण गर्न आत्महत्या न्युनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको क्रिएटिभ नेप्लिज युथका अध्यक्ष रञ्जन धमलाले वताए ।
कार्यक्रममा मनतरङ्ग परियोजना अन्तर्गत नाटक हेडलाइन मञ्चन गरिएको थियो । आयुस प्याकुरेलले निर्देशन गरेको नाटकमा रोहित घटराज, कल्याण थापा, रिया प्रसाई, सिमरन बुढाथोकी, ओसिन श्रेष्ठ, नेहा भण्डारी, सुचित पाण्डे लगायतले अभिनय गरेका छन् ।
आत्महत्या न्युनिकरण गर्न सञ्चारमाध्यम र सञ्चारकर्मीले खेल्नुपर्ने भूमिकाका वारेमा नाटक हेडलाइनले सन्देश दिएको बताइएको छ । सोही कार्यक्रममा क्रिएटिभ नेप्लिज युथकी सदस्य तथा कार्यक्रम संयोजक विञ्जु बरालले आत्महत्या न्युनिकरण र मानसीक स्वास्थ्य सम्वन्धी सहभागीलाई जानकारी गराएकी थिइन् ।
क्रिएटिभ नेप्लिज युथका अध्यक्ष रञ्जन धमलाको अध्यक्षता तथा विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा क्रिएटिभ नेप्लिज युथकी सदस्य सन्ध्या पौडेलले स्वागत गरेकी थिइन् ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय विर्तामोडका प्रमुख मुकुन्द रिजाल, क्षितिज नाट्य समूह झापाका अध्यक्ष माधव कल्पित लगायतले आत्महत्या न्युनिकरण गर्न सवै एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।
बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी हरिकृष्ण भण्डारीले गरेका थिए ।































