खर्च सार्वजनिक गर्दै स्थानीय तह

0
536

झापा।

एकपछि अर्काे गर्दै झापाका स्थानीय तहले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि भएको खर्च सार्वजनिक गर्न शुरु गरेका छन् ।

आठ नगरपालिका र सात गाउँपालिका रहेको झापामा कोरोना संक्रमितको संख्या समेत घट्दै गएपछि स्थानीय तहले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि भएको खर्च सार्वजनिक गर्न शुरु गरेका हुन् । हालसम्म झापाका चार नगरपालिकाले खर्च सार्वजनिक गरेका छन् ।

मेचीनगरपालिकाले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि एक करोड १७ लाख २१ हजार ९ सय ९ रुपैयाँ खर्च भएको जनाएको छ । भारतको पश्चिम बंगालसंग सीमा जोडिएको मेचीनगरपालिका भित्रै पूर्वी नाका काँकरभिट्टा पर्छ । यही नाका भएर धेरै नेपाली भारत लगायत विभिन्न देशबाट नेपाल भित्रिएका छन् ।

मेचीनगर नगरपालिकाले राहत वितरण, सचेतनामूलक कार्यक्रम, स्वास्थ्य सामग्री खरिद, क्वारेन्टाइन व्यवस्थापन, बीमा वापतको खर्च, प्रहरीले प्रयोग गर्ने सवारी मर्मत, प्रचारप्रसार, भीटीएम टेष्ट किट खरिद, पीपीई लगायतका सामग्री नगरले खरिद गर्दा उक्त रकम खर्च भएको जनाएको छ ।

नगरलाई कोरोना महामारीको समयमा विभिन्न क्षेत्रबाट समेत सहयोग जुटेको थियो । विभिन्न मन्त्रालय, सहकारी संस्था, उद्योग वाणिज्य संघ, जनप्रतिनिधि, कर्मचारी सुविधा वापतको रकम नगरले सञ्चालन गरेको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम कोषमा जम्मा गरिएको थियो ।

स्थानीय राजनीति दल, विभिन्न संघ–संस्थालेले गरेको सहयोगबाट जम्मा १ करोड ९२ लाख ९६ हजार २२९ रुपैयाँ संकलन भएको थियो । सोही रकमबाट नगरले कोरोना नियन्त्रण तथा रोकथामका लागि खर्च गरेको मेचीनगर नगरपालिकाका मेयर बिमल आर्चायले जानकारी दिए ।

यता बिर्तामोड नगरपालिकाले पनि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि १ करोड ५४ लाख २३ हजार १ सय ५५ रुपैयाँ ३२ पैसा खर्च गरेको छ । यो खर्च असार मसान्तसम्मको हो । क्वारेन्टाइन व्यवस्थापन, खाद्यान्न, २ वटा एम्बुलेन्स सञ्चालन, मर्मत खर्च, स्वास्थ्य सामग्री खरिद र विपन्नलाई राहत वितरणमा उक्त रकम खर्च गरेको बिर्तामोड नगरपालिकाकाले जनाएको छ ।

भद्रपुर नगरपालिकाले विपद् व्यवस्थापन कोष बनाएर कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा खर्च गरेको थियो । भद्रपुर नगरपालिकाले असार मसान्तसम्म विभिन्न क्षेत्रबाट प्राप्त सहयोग १ करोड ३८ लाख ३६ हजार ७ सय ४० रुपैयाँ २३ पैसाबाट खर्च गरेको जनाएको छ । हालसम्म नगरपालिकाले ५६ लाख ४३ हजार २ सय ८५ रुपैयाँ ६८ पैसा खर्च गरेको छ ।

क्वारेन्टाइन व्यवस्थापनमा (मेची अञ्चल अस्पतालसहित) ८ लाख ५८ हजार ५ सय १९ रुपैयाँ ६८ पैसा, स्वास्थ्य सामग्री व्यवस्थापन खर्च ११ लाख ८२ हजार दुई सय ६६, राहत वितरणका लागि वडा कार्यालयहरुमा हस्तान्तरण गरिएको ३६ लाख, २ हजार ५ सय २० रुपैयाँ खर्च भएको छ । भद्रपुर नगरपालिकाको कोषमा ८१ लाख ९३ हजार ४ सय ५४ रुपैयाँ ५५ पैसा मौजदात रहेको बताइएको छ ।

त्यस्तै कनकाई नगरपालिकाले समेत कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि एक करोड रुपैयाँ खर्च भएको जनाएको छ । नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलका अनुसार कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि एक करोड १ लाख ६८ हजार ३ सय ७२ रुपैयाँ खर्च भएको हो । यो रकम असार मसान्तसम्मको मात्रै हो ।

नगरपालिकाले स्वास्थ्य सम्बन्धी सामग्री खरिदमा १८ लाख ८४ हजार ८ सय ६ रुपैयाँ, खाद्य सामग्री खरिदमा ६० लाख २४ हजार २ सय २२ रुपैयाँ, क्वारेन्टाइन व्यवस्थापनमा १७ लाख ६९ हजार १ सय ३ रुपैयाँ र अन्य विविध खर्चमा ४ लाख ९० हजार २ सय ४१ रुपैयाँ खर्च भएको जनाएको छ ।

नगरपालिकामा नगरसहित दाताहरुको गरेर जम्मा १ करोड ११ लाख १२ हजार १ सय १० रुपैयाँ सहयोग प्राप्त भएको थियो । केही स्थानीय तहले भने केही दिनभित्र खर्चको विवरण सार्वजनिक गर्ने बताउँदै आएका छन् । झापामा भारी वर्षाका कारण केही स्थानीय तहका वासिन्दा नदी कटान डुवानको चपेटामा परेकाले उनीहरुको उद्धार तथा राहतमा जुटेकाले खर्च सार्वजनिक गर्न ढिलाई भएको जनाउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here