पोखरीमा डुवेर ज्यान गुमाएका तीन जना वालकको परिवारलाई दश/दश लाख रुपैयाँ दिइने

0
712

भद्रपुर,

भद्रपुर नगरपालिका– २ पृथ्वीनगर स्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्रको निर्माणाधीन पोखरीमा डुबेर मृत्यु भएका तीन जना बालकको शव पीडित पक्षले १० घण्टापछि बुझेका छन् ।  कमलधाप पर्यटन क्षेत्र विकास समिति र निर्माण कम्पनीको लापरबाहीले खनेर छाडिएको पोखरीमा तीन जना बालकले एकै ठाउँमा ज्यान गुमाएको भन्दै पीडित पक्षले उचित न्यायसँगै राहतको माग राखेका थिए ।

भद्रपुर नगरपालिका, कमलधाप पर्यटन क्षेत्र विकास समिति र पीडित पक्षसँग भएको लामो छलफल पश्चात् पाँच बुँदे लिखित सम्झौतापछि परिवारजनले शव बुझेका हुन् ।

छलफल पश्चात् भएको सम्झौतामा नगरपालिकाले सम्बन्धित सबै सरोकारवाल पक्ष र सरकारसँग समन्वय गरी मृतकका परिवारलाई १० लाखको दरले राहत उपलब्ध गराउने, पीडित पक्षको सम्बन्धित व्यक्तिलाई यस कमलधापमा सञ्चालित परियोजनामा रोजगारको व्यवस्था गर्ने, निर्माणाधीन स्थलमा पुनः यस्ता घटना नदोहोरिनको लागि निर्माण स्थलमा सुरक्षाको व्यवस्था गर्ने, कमलधाप पर्यटन क्षेत्र विकास समिति खारेज गर्ने र पीडितका परिवारलाई ३५ दिनभित्रमा राहत लगायतको सम्झौता कार्यान्वयन गर्ने निर्णय भएको छ ।

सम्झौता पत्रमा भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठ, २ नम्बर वडा अध्यक्ष भीमबहादुर सुब्बा, बिर्तामोड नगरपालिका ९ नम्बर वडाका सदस्य हरि चम्लागाई र बालकृष्ण कार्की, नेकपाका भद्रपुर अध्यक्ष शिवकुमार राजभण्डारी, नेपाली काँग्रेसका राजु गिरी, तामाङ समाजका दलबहादुर लामा, थामी समाजका मेघराज थामी, कमलधाप पर्यटन क्षेत्र विकास समितिका राजु दाहाल, सुब्बे थामी र पूर्णबहादुर तामाङले हस्ताक्षर गरेका छन् ।

कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माण स्थलमा खनिएको पोखरीमा डुबेर भद्रपुर–२ डिगाउँ बस्ने अनिल तामाङको १० वर्षका छोरा अङ्कुश तामाङ, बिर्तामोड नगरपालिका ९ हाल मावाला बस्दै आएका दीपक थामीका दुई छोरा १४ वर्षका  र करण र ११ वर्षका अर्जुन थामीको मृत्यु भएको थियो । मृत्यु हुनेमा अनिलको शव बुधवार साँझ ७ बजे भेटिएको थियो, भने थामी दाजुभाइको शव बिहीबार बिहान ९ बजे भेटिएको हो ।  थामी दाजुभाइको शव नबुझ्ने भन्दै पीडित पक्षले घटनास्थलमा दिनभर न्याय र राहतको माग गर्दै धर्ना दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here