भङ्गेटारको काङ्साहोप तालमा डुङ्गा परीक्षण

९ श्रावण २०७७, शुक्रबार मा प्रकाशित

खोटाङ,

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका स्थानीय बासिन्दाले निर्माण गरेको काङ्साहोप तालमा डुङ्गा परीक्षण सफल भएको छ । बन्दाबन्दीको समयमा खार्मीका २२ घर स्थानीय बासिन्दाले भङ्गेटारमा निर्माण गरेको तालमा परीक्षण गरिएको काठको डुङ्गा सफल भएको हो ।

कृत्रिम तालमा डुङ्गा परीक्षण सफल भएसँगै यही साउन १९ गते पर्ने धान्यपूर्णिमाको अवसर पारेर व्यवस्थित र व्यावसायिकरूपमा सञ्चालन गर्ने तयारी गरिएको ताल निर्माण उपभोक्ता समितिका सचिव दीपककुमार तामाङले बताउनुभयो । “तालमा परीक्षणमा काठको सानो डुङ्गा सफल भएको छ । यसबाट हामीलाई उत्साह मिलेको छ”, उहाँले भन्नुभयो, “काठकै अलि ठूला–ठूला डुङ्गा तयार पारेर व्यावसायिकरूपमा चलाउने तयारी गरिरहेका छौँ ।”

काङ्साहोप तालमा रमिता हेर्ने र घुमफिर गर्ने स्थानीय आउन थालेपछि व्यावसायिकरूपमा डुङ्गा सञ्चालन गर्ने तयारी थालिएको सचिव तामाङले बताउनुभयो । काङ्साहोप, बाँझोबारी, रमितेडाँडालगायत स्थानको पर्यटन प्रवद्र्धन गर्न स्थानीय बासिन्दाले चन्दा उठाएर करिब रु पाँच लाख पाँच हजारको खर्चमा कृत्रिम ताल निर्माण गरेका हुन् ।

जमिन रिचार्ज गर्नेदेखि तल्ला क्षेत्रमा सिँचाइ गर्न मिल्ने गरी निर्माण गरिएको एल आकारको ताललाई डुङ्गा शयर गर्ने स्थलको रूपमा समेत उपयोग गर्ने तयारी थालिएको छ । नियमित पानी पलाउने मुहान भएको सानो खाल्डोलाई स्काभेटर प्रयोग गरेर फराकिलो बनाएर तालको आकार दिइएको हो ।

तालसम्म पुग्नका लागि कच्ची सडक बनिसकेको छ । तामाङ भाषामा मट्याङ्ग्रा बनाउने माटोलाई ‘काङ्सा’ र खाल्डोलाई ‘होप’ भनिन्छ । सो स्थानको खाल्डोमा मट्याङ्ग्रा बनाउने माटो पाइने र झिक्ने गरेकाले सो स्थानलाई काङ्साहोप ताल भनिएको स्थानीय बासिन्दाको भनाइ छ । ताल निर्माण गरिएको ठाउँमा यसअघि नै खाल्डो थियो । बाह्रै महिना पानी उम्रिने खाल्डोमा मेसिन लगाएर फराकिलो बनाएर तालको रूप दिइएको हो ।

टाढाबाट पानको पातको आकृति देखिने तालमा नजिकैको खोदुखोलाको पानी पनि ल्याएर हालिएको छ । काङ्साहोप तालबाट पश्चिममा रहेको रमितेडाँडा वा रमितेढुङ्गा घुमफिरका लागि चर्चित छ । समुद्री सतहदेखि करिब एक हजार ७०० मिटर उचाइमा रहेको काङ्साहोप तालबाट टाढा–टाढाका मनोरम दृश्यावलोकन गर्न सकिन्छ । बाँझोबारीबाट सिधै काङ्साहोप ताल पुग्ने छोटो दूरीको सडक निर्माण गर्न सके बाँझोबारी र काङ्साहोप तालको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने स्थानीय बासिन्दाको अपेक्षा छ ।

बजेट प्राप्त भए तालको क्षेत्रफल थप बढाउन सकिने सचिव तामाङले बताउनुभयो । ताल निर्माणका क्रममा सङ्कलन गरिएको रकममध्ये रु दुई लाख ७५ हजार स्काभेटर सञ्चालकलाई दिइएको र बाँकी रहेको रकम चालक, सहचालक तथा श्रमदानमा सहभागीको खानाखाजामा खर्च गरिएको जनाइएको छ । यस वर्ष तालको रूपमा विकास गरिएको उक्त ठाउँमा गत वर्ष वडा कार्यालयबाट रु तीन लाख ५० हजारमा ड्याम निर्माण गरिएको थियो । निर्माण सम्पन्न गरेर फरफारक गरेको केही समयमै उक्त ड्याम फुटेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here