कनकाई आर्यघाटको अन्तरक्रिया

0
888

सुरुङ्गा,असोज १२ । कनकाई आर्यघाट संस्थाको आयोजनामा घाट क्षेत्रमा शौचालय,किरियापूत्री बस्ने घर र मलामी विश्राम स्थल निर्माण गर्ने तथा दाहसंस्कारका लागि आवश्यक दाउराको व्यवस्था गर्ने सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । सो कार्यक्रममा कनकाई आर्यघाटको योजनाभित्र परेका यी संरचना निर्माण तथा व्यवस्थापनका कार्यहरु सम्पन्न गर्न विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले रचनात्मक सुझावहरु राखेका थिए । खानेपानी ट्यांकी छेउबाट कोटीहोमवासीको सहमतिमा ४० फुटे बाटो खोलेर घाटसम्म पु¥याउने र जिविस,गाविस,राजनीतिक दल तथा अन्य संघसंस्थाको सहयोगमा घाटसम्म जाने दुबै बाटालाई पक्की गर्ने सम्बन्धमा पनि उक्त कार्यक्रममा छलफल भएको थियो ।  सबै संरचनाहरु कनकाईधाम धार्मिक विकास संस्था कोटीहोमको सहमतिमा वन क्षेत्र बाहिरको जमिनमा बनाउनुपर्नेमा सबै वक्ताको जोड थियो । दाहसंस्कारका लागि आवश्यक दाउराको व्यवस्था गर्न जिल्ला वन कार्यालय तथा ईलाका वन कार्यालयको संयोजनमा झापाका सामुदायिक वन उपभोक्ता समितिहरुसँगको सहयोगमा दाउरा घाटगद्धी गरी आपूर्ति गर्न सकिने सुझाव प्रस्तुत गरिएको थियो । कनकाई आर्यघाट समितिका अध्यक्ष प्रभाखर कडरियाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सुरुङ्गा गाविसका तुलसीप्रसाद भण्डारी, कनकाई आर्यघाट संस्थाका युवराज संग्रौला, दिपेन्द्र ढकाल र सूर्य उप्रेती, झापा उद्योग वाणिज्य संघ शाखा सुरुङ्गाका सोमनाथ उप्रेती, ईलाका वन कार्यालयका कल्याण लम्साल,सुरुङ्गा खानेपानी तथा सरसफाई संस्थाका प्रेमप्रसाद दाहाल, कनकाई सामुदायिक वन उपभोक्ता समितिका देवराज ओझा, सुरुङ्गा बजार व्यवस्थापन समितिका टीकाकुमार पोखरेल, कनकाईधाम धार्मिक विकास संस्था कोटीहोमका रुद्रप्रसाद चिमरिया र गंगाराम दाहाल लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन कनकाई आर्यघाट संस्थाका सचिव मदनगोपाल सुब्बाले गरेका थिए ।