‘बाँच्दैन भनेको ध्रुव मुलुकको प्रधानमन्त्री भयो’

0
1257

बिर्तामोड।

चिना हेर्दै एक जना ज्योतिषले छोरा जन्मिए पनि बाँच्दैन भनेको अहिलेसम्म बिर्सिएका छैनन्, झापा भद्रपुर नगरपालिका–१ पृथ्वीनगरका ९१ वर्षीय मोहनप्रसाद ओलीले । ‘भरिसक्के छोरा जन्मदैन, जन्मिहाले राम्रो चाहिँ हुँदैन’– ढुङ्गेल थरका एक जना ज्योतिषलाई आमाले चिना देखाउँदा यसै भनेका थिए ओलीले भने– त्यसको १२÷१५ दिनपछि छोरो जन्मियो आमाले मलाई सुनाउनु भयो तेरो छोरो जन्मियो । म पनि दुई वर्ष अघिदेखि पात्रो हेर्थें, बिगत सम्झँदै ओलीले भने– पात्रो हेर्दै धुलौटामा कोरेर कुण्डली बनाएँ, अनि आमालाई भने छोरो बाँच्दैन होइन, सके राजा हुन्छ नसके पनि राजामुनिको भन्दैछ ग्रहले– मैले आमालाई यसैगरी सुनाएँ ।

‘लग्नदेखि सातौं थलामा वृहस्पति चन्द्रमासँग बस्यो भने र बाह्रौ थलामा शुक्र सूर्यसँग बस्यो भने त्यो राजै हुन्छ तर, यसको शुक्रचाहिँ सूर्यसँग अली बस्न सकेन, चन्द्रमा वृहस्पतिसंग नै बस्यो, त्यसो हुँदा राजा नभए पनि राजा भन्दामुनिको हुन्छ, ग्रहले त्यसैभन्छ’ मर्ने त कुरै आएन त्यो दिन आमालाई भनेको थिएँ– मोहनप्रसादले भने ।

२००८ साल फागुनमा जन्मिएको थियो ध्रुब– मोहनप्रसादले भने– पछि असारमा पहाडका ठाउँमा चोयाले बनाएको कोक्रामा सुताएर आमा चुच्चेको धारामा पानी लिन गइछ, आएर कोक्रामा सुताएको छोरालाई हेर्दा खुट्टामा पुच्छर टाउकोमा टाउको पारेर सर्प बसेको रहेछ । आत्तिएर पानीको गाग्रो छाड्दा म पनि कटेरामा थिए, दगुरेर आएँ, आउँदा सेतो सर्प बसेको रहेछ, आफंै गयो ।

हामी आत्तिएपछि छिमेकी थपलिया पनि घाँस काट्न छाडेर आए । गाउँघरका सबै भेला भए । कसैले सर्प मार्न लाठी लिए, कोही नानी हेर्न लागे । सर्प मार्न खोज्दा एक जना पाठक थरका जसलाई धामी पाठक भन्थे उनैले सर्प मार्न दिएनन् – विगत सुनाउँदै मोहनप्रसादले भने । धामी पाठकले पनि त्यो बेला भनेका थिए, यो नानी सके राजा हुन्छ नसके राजामुनिको । नभन्दै आज मेरो जेठो छोरो खड्ग मुलुककै उच्च पदमा छ– मोहनप्रसादले भने ।
मोहनप्रसाद ओलीका जेठा छोरा खड्गप्रसाद अर्थात् केपी शर्मा ओली अहिले मुलुकको प्रधानमन्त्री छन् । बाल्यावस्थामै आमा गुमाएका ओलीलाई हजुरआमाले हुर्काएको मोहनप्रसादले बताए ।

झापाको प्रतिनिधित्व गर्दै दोस्रोपटक प्रधानमन्त्री बनेका ओली अहिले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको ठूलै रस्साकसीमा रुमल्लिएका छन् । दाहाल–माधव नेपाल पक्षले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा गर्नुपर्ने माग गरेपछि नेकपामा सत्ताको किचलो उत्कर्षमा छ । यही किचलोभित्र रुमल्लिएका ओलीलाई पार्टीभित्रको हानाहानले केही नगर्ने उनका वुवाको बुझाइ छ ।

भद्रपुर नगरपालिका–१ पृथ्वीगरमा मोहनप्रसादसँग कान्छा छोरा जयप्रसाद बस्छन् । ९१ वर्षीय मोहनप्रसादलाई भेट्न पूर्वाञ्चलकर्मी उनकै निवासमा पुग्दा उनले आफू अहिलेसम्म पूर्ण स्वस्थ रहेको बताए पनि बेला–बेला राजनीतिक उतारचढाव हुँदा जेठो छोरा धुव्रको पीर लाग्ने गरेको उनले बताए ।

छोराका ग्रह बलिया छन्– मोहनप्रसादले भने– छोराका ग्रहले नै गर्दा अझै तीन वर्षसम्म कसैले केही गर्न सक्दैनन् । यदि केही गरिहाले अझै सात बर्षसम्म मुलुक हाक्ने योग छ । त्यो ग्रहले नै गराउँछ । आफू ज्योतिष विद्यामा विश्वास राख्ने बताउँदै आफ्नो परिचय समेत श्लोकमा नै दिएका मोहनप्रसादले पूर्वाञ्चलकर्मीलाई यसरी सुनाए ।

१९८७ साल बुझ्नु मंसीर महिनामा
२ गते शुक्रवार अष्टमी तिथि जन्म भएछ त्यहाँ ।
पूर्बै फाल्गुणी भो नक्षत्र गुण दाशी मैत राशी भयो
राशीबाट जुराई ज्योतिषमा मोहनप्रसाद नाम रह्यो ।
त्यस्तै वाल्य अवस्था पनि बितिगयो ५÷७ वर्ष गरी
आठै वर्षमा अक्षर त पँढे साउ मात्रै बाह्रखरी ।
दशै वर्षमा त गुरुले पाठै दिए चण्डीको
१३ वर्षमा त कण्ठ हुन गो चण्डी समेत रुद्रीको ।
१४ वर्षमा विवाह पनि भो याङ्रुपको सुभाङमा
छोरी खरेलकी रहिछन् बुझ्दा जन्मेकी च्याङ्थापुमा ।
च्याङ्थापुको जन्म रहेछ उनको छोरी खरेलकी भई
आमाको परलोक भएछ पहिलै हुर्कीछन् मावलमा ।
सुवाङमा घर हो उप्रेती थर हो मावली उनका थिए
पाली डाली बनाई भान्जी बहिष्णव विवाह पनि गर्दिए ।
विवाह भो हामी दुईको बुझ्नु २००१ सालमा
फागुनको महिना रहेछ बुझदा गते चाहिँ १८ मा ।
त्यस्तैमा अरु दिन बिते वुझनुहोस् १६ वर्षको भएँ
ज्योतिष पढ्न बिचार भएर म धाएर ह्वाकू गए ।
ह्वाकूमा घर हो विमली थर हो ज्योतिषी उनी थिए
दुना अंक जोड घटाउ जति हो उनैले सिकाई दिए ।

प्रधानमन्त्री ओलीका वुवा ९१ वर्षको उमेरमा अहिले पनि उत्तिकै ज्योतिषको काम गर्दै आएका छन् । कान कम सुने पनि उनका आँखामा अझै तेज छ । तेजिला आँखाका कारण उनलाई अहिलेसम्म पनि चश्माको आवश्यकता परेको छैन । उनी चश्मा बिनानै हिमाली चोकसम्म घुमघाम गर्दै इष्टमित्रसंग दिनहुँ भलाकुसारी गर्दै आएका छन् । भलाकुसारीमा छोराकै चर्चा हुन्छ । कसैले छोराको नराम्रो सुनाए उनी पात्रो पल्टाउँदै अहिले पनि ज्योतिषमा अंक गन्न थाल्छन् ।
छोराको अझैं तीन वर्ष शासन गर्ने योग छ– उनले भने– कसैले केही गरे अहिले हटाए पनि डेढ वर्षपछि फेरि सात वर्ष शासन गर्ने योग लिएको छ छोराले ।

घरेलु औषधि जडीवुटीको प्रयोगमा निक्कै दख्खल राख्ने मोहनप्रसाद त्यस क्षेत्रमा प्रधानमन्त्रीका वुवाको रुपमा भन्दा पनि ज्योतिषी ओलीका नामले परिचित छन् । जडीवुटीको प्रयोग गरेर घरेलु औषधि उपचार समेत गर्दै आएका ओलीलाई सबैले त्यस क्षेत्रमा मान्दै आएका छन् ।

२००८ सालमा आफू पनि मास्टरी पेशामा सम्लग्न रहेको बताउँदै उनले भने– त्यो बेला म आफैं केटा पढाउँथे, सातसालमा अली पर, हिउँदे स्कूल र आठ सालमा जन्तरे संग्रौलाको खाली घरमा केटा पढाउँथे । छोरो जन्मनु भन्दा ५÷७ दिन अगाडि आमाले उहीं पुगेर भन्नुभयो– तीन दिन अघि चिना हेराएको ढुङ्गेल ज्योतिषले तेरो छोरो त जन्मिदैन छोरी जन्मन्छ भन्नुभा’छ भनेको अहिले पनि बिर्सिएको छैन । ज्योतिषले छोरो जन्मिए पनि राम्रो हुँदैन भनेपनि अहिले आफ्नो छोरो देशको प्रधानमन्त्री भएको बताए ।

प्रधानमन्त्री ओलीको वाल्यावस्थाको नाम ध्रुव

खड्गप्रसाद ओली अर्थात् केपी शर्मा ओलीका नामबाट परिचित प्रधानमन्त्री ओलीको वाल्यावस्थाको नाम ध्रुव हो ।
बाल्यकालमा उनलाई स्कूल जाँदा सबैले ध्रुव भनेर बोलाउने गरेको मोहनप्रसादले बताए । बाबु मोहनप्रसाद र आमा मधु ओलीको पुत्रको रूपमा वि सं २००८ साल फागुन ११ गते शनिबार तेह्रथुम जिल्लाको इवा गाउँमा जन्मिएका ओली विक्रम सम्वत् २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका थिए ।

ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिए । २०२८ सालको झापा आन्दोलनका प्रमुखहरुमध्येका एक थिए उनी । त्यही वर्ष उनी जेल परे । ओली तत्कालीन नेकपा (माले) को संस्थापकमध्येका एक हुन् । पञ्चायती व्यवस्थाविरुद्धको संंघर्षका क्रममा ओली २०२८देखि २०४४ सम्म १४ वर्ष जेल जीवनयापन गर्दै २०४८, २०५१ र २०५६ का आम निर्वाचनमा झापा जिल्ला क्षेत्र नं ६ बाट प्रतिनिधि सभामा निर्वाचित भए । पहिलो संविधान सभा निर्वाचन २०६४मा भने उनी झापाको क्षेत्र नं ७मा पराजित भएका थिए । वि.सं. २०४९ सालमा नेकपा (एमाले)को स्थायी कमिटी सदस्य भएका उनी २०७१ असारमा पार्टीको अध्यक्ष निर्वाचित भए । दोश्रो संविधानसभा निर्वाचन २०७० मा उनी झापा क्षेत्र नं ७ बाट नेकपा एमालेको तर्फबाट निर्वाचित भए ।

विद्यालय जीवन शुरु गरेर कक्षा ४ सम्मको अध्ययन गाउँमा पूरा गरेका ओली झापाको आदर्श माध्यमिक विद्यालय घैलाडुब्बाबाट २०२८ सालमा एसएलसी उत्तीर्ण भए । अनन्तलिङ्गेश्वर नगरपालिका–२, बालकोट, भक्तपुरका स्थायी वासिन्दा भए पनि ओलीका वुवा भने अहिले पनि छोराको भविष्यप्रति चिन्तित हुँदै झापाको भद्रपुर नगरपालिका– १ हिमालीचौक नजिकै बसेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here