ड्रागन फलको व्यवसायिक खेती अर्जुनधारामा शुरु

0
827

अमित खम्बू / अर्जुनधारा।

नेपालको लागि नौलो फलकोरुपमा रहेको ड्रागन फलको व्यवसायिक खेती झापाको अर्जुनधारामा सुरु भएको छ ।

दक्षिण अमेरिकाको मेक्सिकोमा उत्पत्ती भएको सिउँडी प्रजातीमा पर्ने उक्त फलको अर्जुनधारा–९ निवासी फलफूल कृषक एवम् शिव बाबा अचार उद्योगका सञ्चालक दीनानाथ शिवाकोटीले व्यवसायिक खेती सुरु गरेका हुन् ।

नगरका केही स्थानमा आंशिकरुपमा ड्रागन फलको केही बिरुवा रोपीए पनि व्यवसायिकरुपमा भने आफूले पहिलोपटक यसको सुरुवात गरेको कृषक शिवाकोटीले दावी गरे ।

हाल ५१ वटा पोलबाट बिरुवा रोप्न सुरु गरेको उनले आगामी दिनमा पाँच सय वटा पोलमा दुई हजार बिरुवा रोप्ने लक्ष्य लिएको उनी बताउँछन् । प्रत्येक पोलमा चारवटा विरुवा रोप्न सकिने एक पोल बराबर लागत मूल्य १३ सय रुपैयाँ रहेको उनले जानकारी दिए ।

ड्रागन फलको तीन जातिमध्ये छनौट भएका उत्कृष्ट ग्रेडका बिरुवाहरु आफूले रोपेको उनी बताउँछन् । त्यसैगरी तत्काल शिव बाबा कृषि फार्म तथा नर्सरी प्लान्ट दर्ता गरी ड्रागन फलको खेतीसँगै अन्य इच्छुक कृषकहरुको लागि बिरुवा उत्पादन, प्राविद्यिकहरुको सहकार्य, बजार व्यवस्थापनमा सहयोग पु¥याउने उनले बताए ।

जस्तोसुकै माटोमा खेती गर्न सकिने क्यानसर प्रतिरोधात्मक गुण रहेको यस फलमा १२ प्रकारका भिटामिन र मिनिरल्स पाइने बताइएको छ । प्राविद्यिकका अनुसार बिरुवा रोपिएको दुई वर्षमा फल लाग्ने उक्त फलको फूल रातीमात्र फुल्ने गरेको पाइन्छ । एक सय ५० देखि एक किलोग्रामसम्म फल्ने उक्त फल प्रति केजी पाँच सय देखि एक हजार रुपैयाँ मूल्यमा बिक्री हुने गरेको बताइएको छ ।

अन्य देशमा व्यवसायीकरुपमा स्थापीत भएको यो फल २०५७ सालमा पशु चिकित्सक डा.जगन्नाथ राईले अमेरिकी इन्जिनियर साथीमार्फत् भियतनामबाट नेपाल भित्राएका हुन् ।

यसैबीच कृषक शिवाकोटीले सुरु गरेको ड्रागन फलको सोमबार एक कार्यक्रमकोबीच उद्घाटन गरिएको छ । नगर प्रमुख हरिकुमार राना र वडाध्यक्ष पुष्पकुमार प्रसाईंले संयुक्तरुपमा उक्त फलको बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा कृषक शिवाकोटीका आमा कमलादेवी र बुबा गंगाप्रसादलगायतको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here