कोरोनाविरुद्ध एक्लै लडौं

१४ श्रावण २०७७, बुधबार मा प्रकाशित

सम्पादकीय

भारतसँग सीमाना जोडिएका शहरहरुमा कोरोना संक्रमणको संख्या दिनहुँ बढ्न थालेको छ। नेपालका बिराटनगर, वीरगञ्ज, नेपालगञ्ज लगायतका शहरी क्षेत्रमा कोरोना संक्रमितहरुको संख्या बढ्न थालेपछि सामान्य हुन थालेको त्यहाँको जनजीवन फेरि भयभित भएको छ। पछिल्लो चौबीस घण्टामा तीन जनाको मृत्यु भएको थियो त्यसमध्ये एकजना भारतीय नागरिक हुन्। यतिबेला कोरोना परीक्षणको दर कम गर्दै लगिएको छ, तर लक्षणसहितका संक्रमित पनि देखिन थालेका छन् ।

कोरोना भाइरसको आतंक शुरु भएको आधा वर्ष पूरा भइसकेको छ । यसबीचमा धेरै देशहरुले औषधिको खोज अनुसन्धान पनि गरेका छन् । तर, ती सबै परीक्षणका क्रममा रहेकाले यो महामारीले व्यापकता लिइरहेको छ । ठूला र समृद्ध भनिएका मुलुकहरू नै कोरोना महामारीबाट पूर्णरुपले आक्रान्त छन् । जसका कारण विश्वको अर्थ व्यवस्था नै प्रभावित भएको छ । यस्तोमा विकासशील देशहरूको अर्थतन्त्र धराशायी हुनु स्वाभाविक नै हो । भ्रमणको इतिहास भएकाहरुमा मात्रै देखिएको कोरोना भाइरसको संक्रमण पछिल्लो समय समुदायमै देखिन थालेपछि सिंगो समुदाय त्रस्त भएको छ । सरकारले महामारी नियन्त्रणका लागि गरेको लकडाउन खोलेपछि जनजीवन सामान्य अवस्थामा फर्किन थालेकोले संक्रमण व्यापक हुने जोखिम पनि उच्च देखिएको छ ।

झापा भारतसँग सोझै सीमाना जोडिएको जिल्ला हो । खुला सीमानाका कारण अन्तर्राष्ट्रिय नाका बन्द भए पनि मानिसहरूको आवागमन रोकिएको छैन । कोरोना पीडाकै बीच सरकारले सीमा सुरक्षा कोष स्थापना गरेपनि लुकिछिपी आउने जाने क्रम नरोकिँदा सीमान्त क्षेत्र संक्रमणको उच्च जोखिममा छन् । यसैबीच मेचीनगर नगरपालिका क्षेत्रमा सुरक्षाका लागि खटिएका प्रहरीमा कोरोना पुष्टि भएपछि त्यहाँ मास टेस्टिङ गर्न थालिएको छ। त्यस्तै बाह्रदशी गाउँपालिकाका एकजना औषधि व्यवसायी र अर्का एक स्थानीय नेतामा पनि कोरोना पुष्टि भएको छ । यसले संक्रमण समुदायमा प्रवेश गरिसकेको देखाएको छ भने त्रास पनि बढाएको छ ।

देशभर संक्रमितको संख्या साढे अठार हजारभन्दा माथि पुगेको छ। ती मध्ये पौने चौध हजार संक्रमणमुक्त भएका छन् । यसले संक्रमित भएर पनि कोरोना जित्न सकिन्छ भन्ने सन्देश दिएको त छ, तर जुन परिवारले यसकै कारण सदस्य गुमाउनु परेको छ उनीहरूको पीडालाई निको हुने दर उच्च छ भन्दा सान्त्वना मिल्दैन। यसले पनि राज्यले परीक्षणको दर घटाएर संक्रमण कम भएको देखाउन खोजिरहेका बेला स्वास्थ्य सावधानी नअपनाउनु आफ्नै लागि घातक हुन सक्छ । तसर्थ, विश्वलाई डेढ करोडभन्दा बढीको ज्यान लिएर महामारीको चंगुलमा फसाउने कोरोनाविरुद्धको लडाइँ एक्लै लड्न तयार हुनुपर्छ । यो भनेको सुरक्षा सतर्कता हो र स्वास्थ्य रक्षाका लागि निर्दिष्ट मापदण्डहरूको अनुशरण र पालना हो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here