सभामुखबाट नवनिर्वाचित सांसद सिटौलालाई शपथ

१४ श्रावण २०७७, बुधबार मा प्रकाशित

काठमाडौँ, 

सभामुख अग्निप्रसाद सापकोटाले जनता समाजवादी पार्टी नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लीलादेवी सिटौलालाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ ।

सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित समारोहमा सभामुख सापकोटासमक्ष उहाँले खसआर्य समावेशी समूहबाट निर्वाचित भई शपथ लिनुभएको हो । सो अवसरमा सभामुख सापकोटाले सांसद सिटौलालाई सदस्य पदको प्रतीकचिह्नअङ्कित लकेट प्रदान गर्नुभएको थियो ।

तत्कालीन जनता पार्टी नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सरिता गिरीलाई पार्टीले बर्खास्त गरेपछि उक्त पद रिक्त थियो । भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्शामा समावेश गरेका विषयमा गिरीले दिएको अभिव्यक्ति राष्ट्रियता विपरीत भएको ठहर गर्दै पार्टीले उहाँलाई सांसदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो ।

प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीको क्रमसङ्ख्या १९ र खसआर्य समावेशी समूहको क्रमसङ्ख्या २ मा रहनुभएका सिटौलालाई निर्वाचन आयोगले निर्वाचित भएको घोषणा गरेको हो । तत्कालीन नेकपा (माले)को विद्यार्थी सङ्गठनबाट २०४४ सालमा राजनीतिमा प्रवेश गर्नुभएका सांसद सिटौला जसपाका संस्थापक सदस्य पनि हुनुहुन्छ ।

झापाको अर्जुनधारामा २०२८ माघ ८ गते जन्मनुभएका सिटौलाले सञ्चारकर्मीका एक प्रश्नमा नेपाली माटो र जनताप्रति कटिबद्ध भई राष्ट्रिय हित र जनजीविकासँग जोडिएका विषयमा आफूले आवाज उठाउने बताउनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here